नेपाल-भारत सीमामा के पछिल्लो समय तनाव बढ्दै गएको हो

तस्बिर स्रोत, RSS
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
सर्लाहीस्थित नेपाल-भारत सीमामा गत हप्ता गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भयो भने दुई भारतीय नागरिक र नेपाल प्रहरीका तीनजना घाइते भए।
सर्लाहीका वरिष्ठ प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठका अनुसार भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको र त्यसक्रममा भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि हतियार फिर्ता लिने क्रममा १५ राउण्ड गोली प्रहार गरिएको थियो।
गत महिना सीमावर्ती झापास्थित एउटा प्रहरी पोस्टमाथि भारतीय नागरिकले आक्रमण गरेपछि प्रतिकारमा सशस्त्र प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो।
नेपाल-भारत सीमानाकामा पछिल्लो समय देखिएका तनावका यी प्रतिनिधि घटना हुन्।
घटना बढेको हो?
पछिल्लो समय खासगरी कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालमा लडकाउन गरिएपछि विभिन्न सीमानाकामा तनावका घटना भएका छन्।
उसो भए के पछिल्लो समय भारतसँगका सीमानाकामा तनावका घटनामा वृद्धि भएको हो?
सुरक्षा मामिलाका जानकारहरूका अनुसार कोभिड-१९ को महामारीसँगै सीमानाकामा नेपालले कडिकडाउ गरेपछि तनावका घटनाहरू सतहमा आएका हुन्।
पूर्वगृहसचिव सूर्य सिलवालले बीबीसी न्यूज नेपालीसँग भने, "पहिला पनि तनावका घटनाहरू आक्कलझुक्कल नहुने गरेका होइन, तर अहिले आएर सीमानाकामा कडाइ गरिएपछि घटनाहरू अलि बढेको हुन सक्छ।"
अर्का पूर्वगृहसचिव श्रीकान्त रेग्मी पनि सिलवालको तर्कसँग सहमत देखिन्छन्।
उनी थप्छन्, "पहिला चाहिँ अहिलेको जस्तो कडाइ नहुँदा निर्वाध रूपमा भारतीयहरू आउन सक्थे। अब सीमानाकामा कडाइका कारण आउन नपाउँदा तनावको अवस्था देखिएको हो।"

तस्बिर स्रोत, Reuters
नेपाल-भारतबीच १,८८० किलोमिटर लामो खुला सिमाना रहेको छ।
अधिकारीहरूका अनुसार सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १२५ वटा सीमासुरक्षा पोस्ट र १,२१३ वटा अस्थायी पोस्ट छन्।
त्यस्तै नेपाल प्रहरीका ५० वटाभन्दा बढी सुरक्षा एकाइ सीमा क्षेत्रमा रहेको छ।
विमानस्थल, कारागार र विकास योजनाको सुरक्षामा नेपाली सेना खटाउने सरकार निर्णय कार्यान्वयमा आएमा थप दुई हजारको हाराहारीमा सशस्त्र र जनपथ प्रहरीलाई सीमा क्षेत्रमा परिचालन गर्ने बाटो खुल्ने अधिकारीहरू बताउँछन्।
अवैध रूपमा सीमानाकाबाट सामान ओसारपसार गर्न नपाउँदा पनि उनीहरूलाई समस्या भएको हुन सक्ने रेग्मीको तर्क छ।
सुरक्षाविद् गेजा शर्मा वाग्लेका अनुसार भारतसँगका सीमानाकामा समस्या हुनुमा मुख्यतया तीनवटा कारण देखिन्छ।
"नेपालको सीमा सुरक्षा नीति नहुनु, सीमामा खटाउने जनशक्तिको अभाव हुनु र खुला सिमाना तथा रोकतोकविना आउजाउ गर्न पाउनु नै यो समस्याका मुख्य कारण हुन्," उनी थप्छन्।
समाधान के त?
सीमानाकामा देखिरहने समस्याको स्थायी समाधान चाहने हो भने नियमनको विकल्प नभएकोमा सुरक्षाविद्हरू एकमत देखिन्छन्।
"समस्याको समाधान नै हुन्छ भनेर त म भन्दिनँ। तर न्यूनीकरणका लागि सीमानाकाको नियमन गर्न असाध्यै जरुरी छ," पूर्वगृहसचिव सिलवाल सुझाउँछन्।
हुन त अर्का पूर्वगृहसचिव रेग्मी यसप्रति विमति राख्दैनन्। तर सीमानाकाको नियमनको विषयमा भारतले 'आनाकानी' गर्ने गरेको उनी बताउँछन्।
"नियमन गर्न नमान्नुको एउटा कारण उनीहरूका कतिपय कम गुणस्तरका सामानहरू नेपालमा सजिलैसित पुर्याउनु पनि हो जुन चाहिँ सामान्यतया सीमानाकाबाट गर्ने गरिन्छ।"
भारतले नेपालबाट हुन सक्ने सुरक्षा चुनौतीबारे पटकपटक कुरा उठाउने गरेको पाइन्छ।
तर सीमानाका नियमनको विषयमा उसको 'अनिच्छा' बुझिनसक्नु भएको सुरक्षाविद् वाग्ले बताउँछन्।
"यो विषयमा उनीहरूको बुझाइ नै विरोधाभाषपूर्ण देखिन्छ। शायद दुई देशबीच जनस्तरमा रहेको सम्बन्धमा असर नपुगोस् भनेर पनि भारतले सीमानाका नियमन गर्न नचाहेको हुन सक्छ," उनी थप्छन्।
समस्या समाधानका निम्ति नेपालले ठोस सीमा सुरक्षा नीति बनाउनुपर्ने र सीमानाकामा खटाउनका लागि आवश्यक जनशक्ति तयार पार्नुपर्नेमा वाग्लेको जोड छ।
कोरोनाभाइरस महामारीका बेला सीमानाकामा अवलम्बन गरिएको नीतिलाई नै निरन्तरता दिन सकिए धेरै हदसम्म समस्याको सम्बोधन हुन सक्ने पूर्वगृहसचिव सिलवालको ठम्याइ छ।
"भारततर्फ तपाईँले हेर्नुभयो भने १.५-२ किलोमिटर दुई किलोमिटरको दूरीमा उनीहरूको बोर्डर पोस्ट हुन्छ। हामीले त्यति गर्न नसके पनि ३-५ किलोमिटरको दूरीमा राख्नै पर्छ।"









