कोरोना भाइरस नेपाल: विद्यालयबाट कोभिड 'समुदायमा फैलिन सक्ने', सरोकारवालाहरू शैक्षिक संस्था बन्द नगर्ने पक्षमा

तस्बिर स्रोत, Getty Images
जनस्वास्थ्यविद्हरूले कोरोनाभाइरसको नयाँ भेरिअन्टबाट नेपालमा बालबालिका पनि प्रभावित हुन थालेकाले सङ्क्रमण विद्यालयबाट समुदायसम्म पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
तर शिक्षा मन्त्रालयले सरोकारवालासँग सोमवार गरेको बैठकमा शिक्षक, अभिभावक र , निजी विद्यालयकका सङ्गठनहरूले विद्यालय पूर्ण रूपमा बन्द गर्न नहुने धारणा राखेको बताइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेपछि कोभिड नियन्त्रणसम्बन्धी उच्च निकाय सीसीएमसीले पनि ७७ वटै जिल्लामा विद्यालय बन्द गर्न सुझाव दिएको छ।
गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि नेपालमा शैक्षिक संस्थाहहरू बन्द गरिएको थियो।
अहिले नेपाल कोरोनाभाइरस महामारीको दोस्रो लहरको सँघारमा पुग्न लागेको चेतावनी विज्ञहरूले दिएका छन्।
छलफलमा कस्तो सुझाव?
शिक्षा मन्त्रालयले बालबालिकामा सङ्क्रमण बढेको पछिल्लो अवस्थामा विद्यालयहरूले के गर्दा ठिक हुन्छ भनेर सुझावका लागि सोमवार निजी विद्यालय सङ्गठन प्याब्सन, एनप्याब्सन, अभिभावक सङ्घ र स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो।
छलफलमा सहभागी सबैजसोले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको सुझाव दिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।

"विद्यालय बन्द गर्ने विषयमा अवस्था हेरेर स्थानीय सरकारले नै निर्णय गर्नुपर्छ भन्ने उहाँहरूको सुझाव थियो," उनले भने।
सरकारले यसअघि बालबालिकालाई भौतिक रूपमा विद्यालय बोलाएर कक्षा सञ्चालनका लागि भन्दै कार्य सञ्चालन ढाँचा जारी गरेको थियो।
त्यसमा विद्यालयहरूले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्नुपर्ने र कोही सङ्क्रमित देखिए विद्यालय सञ्चालन कसरी गर्ने भन्नेबारे स्थानीय निकायले निर्णय गर्ने उल्लेख छ।
"त्यही ढाँचा अनुसार गर्ने र आवश्यकता अनुसार त्यसमा केही बुँदा थप्न उहाँहरूले सुझाव दिनुभएको छ। अब हामी अन्तर मन्त्रालय बैठकमा त्यसलाई समावेश गर्छौँ," प्रवक्ता शर्माले भने।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी अन्य सबै भिडभाड हुने गतिविधि गरेर विद्यालयलाई मात्रै सङ्क्रमण फैलाउने क्षेत्र भनेर व्याख्या गरिन नहुने बताउँछन्।
कतिपयले भने विद्यालयमा विद्यार्थी भर्ना गर्ने समय भएका कारण विद्यालय सञ्चालकहरू विद्यालय बन्द गर्न अनिच्छुक रहेको आशङ्का गरेका छन्।

तस्बिर स्रोत, Getty Images
तर त्यो केवल आशङ्का भएको र आफूहरू त्यसको पछि नलाग्ने पुरीले बताए।
उनी भन्छन्, "विद्यालय नबुझ्ने, शिक्षा नबुझ्ने मानिसहरूले लगाएको आरोपको पछाडि हिँड्नुपर्ने तथ्य सत्य छैन किनभने हामीले सबै क्षेत्र लकडाउन भएर विद्यालय मात्रै खोलौँ भनेको होइन।"
के भन्छन् चिकित्सक?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका प्रमुख कन्सल्टेन्ट चिकित्सक अनुप बास्तोला विद्यालयजस्ता मानिसहरूको भिड हुने ठाउँमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना नभए त्यसले सङ्क्रमण फैलाउने जोखिम धेरै रहने बताउँछन्।
"विगत तीन महिना 'कोरोनाभाइरस मत्थर भएको छैन, अझै पनि मापदण्डलाई ध्यान दिनुपर्छ' भन्दाभन्दै मापदण्ड पालना हुन्छ/हुन्न, अनुगमन कति हुन्छ भन्ने त देख्यौँ। भिडभाड भयो भन्दै गर्दा मापदण्ड धेरै ठाउँमा उल्लङ्घन गरियो," डा. बास्तोला भन्छन्।
"फलस्वरूप अहिले हामी सँघारमा पुगेका छौँ, दोस्रो लहरको अग्र अवस्थामा छौँ। त्यसैले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चुनौती हो।"
के भन्छन् अभिभावक?
बालबालिकामा पनि सङ्क्रमण देखिएपछि अभिभावकहरू बालबालिकाको स्वास्थ्यलाई लिएर चिन्तित बनेको अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन्।

तस्बिर स्रोत, Science Photo Library
बालबालिकालाई घरमा राख्न धेरै कामकाजी अभिभावकलाई कठिन हुने भएकोले विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने विषयमा अभिभावकहरूको मिश्रित प्रतिक्रिया रहेको उनले बताए।
"हामीले अवस्था हेरेर कक्षा पाँचसम्मका बालबालिकालाई विद्यालय आउन रोक्ने र अन्यको कक्षा विद्यालयमा गर्ने भन्ने सुझाव दिएका छौँ," उनले भने, "सङ्क्रमण देखियो भने स्थानीय तहले पनि विद्यालय बन्द गर्न सक्ने भइहाल्यो।"
'जेठमा सङ्क्रमणको दर उच्चबिन्दुमा पुग्न सक्ने'
विगत दुई सातायता कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेपछि विद्यालय उच्च जोखिममा पर्ने क्षेत्र भन्दै सरकारले आफ्नो वैकल्पिक कदमबारे समयमै ध्यान पुर्याउनुपर्ने सङ्क्रामक रोग विशेषज्ञहरूले यसअघिदेखि नै बताउँदै आएका छन्।
खासगरी बालबालिका सङ्क्रमित भए उनीहरूले घरमा पाको उमेरका वा दीर्घ रोग भएका अन्य सदस्यलाई सार्न सक्ने भन्दै विज्ञहरूले सचेत गराएका हुन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन भन्छन्, "बालबालिकाहरू हजुरआमा हजुरबुवासँग नजिक रहने हाम्रो संस्कारै छ। त्यसकारण बालबालिका सङ्क्रमित भए त्यसले घरका अन्यलाई सङ्क्रमित गर्ने जोखिम अत्यन्तै रहन्छ।"
नेपालमा सङ्क्रमितहरूको सङ्ख्या केही सातायता बढ्न थालेपछि विज्ञहरूले जेठ महिनासम्म सङ्क्रमणको दर उच्चबिन्दुमा पुग्न सक्ने आकलन गरिरहेका छन्।
सरकारले १० कक्षाको एसईईलगायत अन्य कक्षाको अन्तिम परीक्षा जेठ महिनामै हुने बताएको छ।

यो पनि हेर्नुहोस्










