कोरोना भाइरसः चीनमा निर्मित कोभिड खोपहरूले प्रदान गर्ने 'सुरक्षा दर उच्च छैन', प्रभावकारिता बढाउन 'सम्मिश्रणबारे सोचिँदै'

सिनोभ्याक

तस्बिर स्रोत, Getty Images

चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको बताएका छन्।

एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए।

नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।

चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।

पछि गाउले सम्मेलनमा राखेको आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताएका छन्।

चीनमा १० करोडभन्दा बढी मानिसले स्वदेशमा निर्मित खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

चिनियाँ सरकारले भने आफ्ना खोपहरू प्रभावकारी भएको र चिनियाँ खोप लगाएका विदेशीलाई मात्रै चीन प्रवेशाज्ञा दिने बताउँदै आएको छ।

गाउले के भने?

चीनका रोग नियन्त्रण केन्द्रका प्रमुख ग्वाओ फुले शनिवार हाल उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?

उनले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरू मिसाउने विषयमा विचार गरिएको सङ्केत गरे।

उनले खोपको प्रभावकारिता वृद्धि गर्न मात्राको सङ्ख्या परिवर्तन गर्ने र दुई मात्राबीच समयावधि बढाउने जस्ता चरणहरूको चर्चा गरेका थिए।

तर पछि उनले सरकारी पत्रिका ग्लोबल टाइम्सलाई "संसारभरिका खोपहरूको सुरक्षा दर कुनै बेला कम र कुनै बेला बढी हुने" बताए।

"तिनीहरूको प्रभावकारिता कसरी बढाउने भन्नेबारे संसारभरिका वैज्ञानिकहरूले सोच्नुपर्छ," उनले पत्रिकालाई भने।

उनले चिनियाँ खोपहरूको प्रभावकारिता कम भएको आफ्नो भनाइबारे त्यो "पूर्ण रूपमा गलत व्याख्या" भएको बताए।

गाउका दुवै भनाइहरूलाई चिनियाँ सञ्चारमाध्यमहरूले खासै स्थान दिएका छैनन्।

चीनमा कोभिड खोप

तस्बिर स्रोत, Getty Images

तर सामाजिक सञ्जालमा भने उनको पहिलो भनाइको आलोचना भएको छ।

केही मानिसले उनलाई "चुप लाग्न" सुझाव दिएका छन्।

चिनियाँ खोपको प्रभावकारिता

अन्तर्राष्ट्रिय रूपमा कम तथ्याङ्क भएका कारण चिनियाँ खोपको प्रभावकारिताको विषय लामो समयदेखि अस्पष्ट छ।

ब्रजिलमा गरिएको परीक्षणमा चीनको सिनोभ्याकको प्रभावकारिता ५०.४ प्रतिशत देखिएको थियो। त्यो विश्व स्वास्थ्य सङ्गठनले स्वीकृति प्रदान गर्न आवश्यक ५० प्रतिशतभन्दा अलिकतिले मात्र बढी हो।

टर्की र इन्डोनेशियाका अन्तरिम तथ्याङ्कहरूले भने उक्त खोपको प्रभावकारिता ९१ देखि ६५ प्रतिशत देखाएका छन्।

पश्चिमा देशहरूमा उत्पादित फाइजर, मोर्डेर्ना र आस्ट्राजेनेका सबै खोपको प्रभावकारिता ९० प्रतिशत वा अझ बढी छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ५५ वर्षभन्दा माथिका व्यक्तिले कोभिड खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा