कोरोना भाइरस नेपालः चीनले दिएको कोभिड खोप काठमाण्डूमा चैत्र २५ गतेदेखि लगाइने

तस्बिर स्रोत, Chinese Embassy Kathmandu
सरकारले चैत २५ गतेदेखि काठमाण्डूका तोकिएका अस्पतालहरूबाट चिनियाँ खोप लगाउने प्रबन्ध मिलाइएको बताएको छ।
नेपालले हालै चीनले अनुदानमा दिएको ८ लाख मात्राको सिनोफार्म खोप बेइजीङ्बाट ल्याएको थियो।
औषधि व्यवस्था विभागले सो खोपलाई फागुन ४ गते आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।
कसलाई लगाइन्छ चिनियाँ खोप?
"चीनबाट प्राप्त भेरोसेल खोप काठमाण्डूका तोकिएका अस्पतालहरूबाट दिने प्रबन्ध मिलाइएको छ। अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालयपार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले ती खोप लगाउन सक्नेछन्," स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ।

तस्बिर स्रोत, Reuters
अत्यावश्यक सेवामा संलग्नहरूमा को को पर्छन् त?
"नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाहरू जस्तो स्वास्थ्य सेवा, खानेपानी, दुग्धपदार्थ वितरण, हवाई यातायातका सेवामा सामेल अनि औषधि व्यवसायमा संलग्नहरू पर्छन्," स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख झलक गौतमले बीबीसीलाई बताए।
केही साता अगाडि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चीन सरकारले चीनले विकास गरेको कोभिड खोप लगाएका विदेशीहरूलाई चीन आवतजावत सहज गराउन लागेको विवरण आएका थिए।
त्यसैको पृष्ठभूमिमा चीनमा अध्ययनरत विद्यार्थी तथा चीनसँग व्यापारमा संलग्न व्यापारीहरूलाई चिनियाँ खोपमा प्राथमिकता दिन लागिएको ठानिएको छ।
आस्ट्राजेनेकाको थप मात्रा अझै अनिश्चयमा
नेपालले हालसम्म केवल अक्सफर्ड आस्ट्राजेनेका खोपमात्र वितरण गरिरहेको छ।
१७ लाख ९० हजार १२५ जनालाई खोप दिइसकेको अधिकारीहरूले बताएका छन्।
मन्त्रालयसँग अब करिब साढे पाँच लाख मात्रा खोप बाँकी रहेको छ।
पहिलो खेपमै लगाएकाहरूलाई दोस्रो मात्रा वैशाख ७ गतेदेखि दिइने भनिएको छ।
तर ६५ वर्ष माथि उमेर समूहहरूका निम्ति दोस्रो मात्राको निम्ति आवश्यक खोपको आयात अझै अनिश्चयमा नै छ।
भारत सरकारले अनुदानमा दिएको १० लाख, अन्तर्राष्ट्रिय खोप सहयोग सञ्जाल कोभ्याक्सबाट आएको साढे ३ लाख तथा सिरम इन्स्टिच्युटसँग किनेको २० लाखमध्ये आइपुगेको १० लाख मात्राको आस्ट्राजेनेका खोपको मद्दतमा सरकारले खोप अभियान थालेको थियो।
बाँकी १० लाख मात्रा अनि थप खोप आयातको काम अहिले अवरुद्ध रहेको अधिकारीहरूले बताएका छन्।









