तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्कर्स अवार्ड्स २०२१ : के यो वर्षको नयाँ इतिहास रचिने छ?
सन् २०१५ मा २० वटा विधामा श्वेत कलाकारहरू मात्रै मनोनयनमा पर्दा आलोचना खेपेको चलचित्र क्षेत्रको चर्चित एकेडेमी अवार्ड्स अर्थात् अस्कर्समा त्यसयता व्यापक परिवर्तन भएको छ।
त्यो बेला सबै विधामा श्वेत कलाकारहरू मात्रै परेपछि 'अस्कर्स सो ह्वाइट' ह्यासट्याग विश्वव्यापी रूपमै ट्रेन्डिङ भएको थियो।
सामाजिक सञ्जालमा आएको नकारात्मक प्रतिक्रियाले आयोजकलाई मनोनयनमा पुनर्विचार गर्न बाध्य पार्यो र यो वर्षको मनोनयन सूची विविधतायुक्त देखिएको छ।
मनोनयन हुनु मात्रै सबै कुरा होइन तर मतहरू सही दिशामा गए यो वर्षको अस्कर्सले इतिहास रच्न सक्छ।
सर्वोत्कृष्ट निर्देशक
क्लोइ जाओले यो विधामा जितिन् भने उनी यो सर्वोत्कृष्ट निर्देशक हुने पहिलो अश्वेत महिला हुने छिन्।
अमेरिकामा बस्ने यी चिनियाँ निर्देशक नोम्याडल्याण्ड चलचित्रका लागि मनोनयनमा परेकी छन्।
उक्त चलचित्रमा सन् २००८ को आर्थिक सङ्कटका कारण रोजगारी गुमाएकी एक महिलाको यात्रा समेटिएको छ।
अस्कर्सको ९२ वर्षे लामो इतिहासमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल दोस्रो महिला निर्देशक पनि उनी बन्न सक्ने सम्भावना छ।
यसअघि सन् २००९ मा द हर्ट लकर चलचित्रका लागि क्याथरीन बीगेलो सर्वोकृ्ष्ट निर्देशक बनेकी थिइन्।
अन्य विधामा सम्भावना
जाओले हात पार्ने अवार्ड सर्वोत्कृष्ट निर्देशकको मात्रै नहुन सक्छ।
उनी सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट पटकथा र सम्पादनका लागि पनि मनोनीत भएकी छन्।
सबै विधामा जित हात पार्न सफल भए उनी एकै साँझ चार वटा अवार्ड जित्न सफल हुने पहिलो महिला अनि दोस्रो व्यक्ति हुन सक्छिन्।
वाल्ट डीज्नीले सन् १९५४ मा चार अस्कर्स प्राप्त गरेका थिए।
सर्वोत्कृष्ट चलचित्र
महत्त्वपूर्ण विधामा मनोनीत हुने महिला जाओ मात्रै होइनन्।
ब्रिटिश नायिका अनि लेखिका एमरल्ड फेनल प्रमीसीङ् योङ्ग वुमन चलचित्रका लागि सर्वोत्कृष्ट चलचित्र, निर्देशक अनि मौलिक पटकथा विधामा मनोनीत भएकी छन्।
ती तीनै विधामा अवार्ड जित्न सफल भए पर्दामा प्रत्यक्ष नदेखिने कलाका तीन वटा महत्त्वपूर्ण मानिने पुरस्कार पाउने उनी पहिलो महिला हुने छिन्।
इतिहास बनाउन सक्ने अर्को टोली निर्माता शाका किङ्ग, चार्लस डी किङ्ग र रायन कुग्लर छन् जो जुडस एन्ड द ब्ल्याक मसाया चलचित्रका लागि मनोनीत भएका छन्।
उनीहरूले जित हात पारे सबै अश्वेत सदस्य रहेको पहिलो अस्कर्स विजेता समूह बन्ने छ।
सर्वोत्कृष्ट कलाकार
यो वर्ष पहिलो पटक सर्वोत्कृष्ट कलाकारको विधामा एक मुस्लिम कलाकार मनोनयनमा परेका छन्।
चलचित्र साउन्ड अफ मेटलमा श्रवणशक्ति हराउने समस्याबाट जुझिरहेका हेभी मेटल ड्रमरको भूमिका निभाएका रीज अहमद मनोनीत भएका छन्।
मुस्लिम कलाकारले इतिहास रचेको यो पहिलो पटक भने होइन।
सन् २०१७ मा मुनलाइट नामक चलचित्रमा निभाएको भूमिकाका लागि माहर्साला अलीले सर्वोकृष्ट सहायक कलाकार विधामा जित हात पारेका थिए।
अस्कर्स पाउने उनी पहिलो मुस्लिम कलाकार हुन।
ग्रीन बुक चलचित्रका लागि उनले दुई वर्षपछि फेरि पुरस्कार हात पारे।
यो वर्ष रीज अहमद अर्का ब्रिटिश कलाकारसँग प्रतिस्पर्धामा छन् जसले जिते भने पनि अर्को एउटा नयाँ इतिहास बन्ने छ।
बहुसङ्ख्यक सर्वोत्कृष्ट कलाकार जस्तै सर एन्थोनी हप्कीन्स पनि गोरा नै हुन।
तर द फादर चलचित्रका लागि पुरस्कार प्राप्त गरे ८३ वर्षका उनी अस्कर्स जित्ने सबैभन्दा पाको कलाकार हुने छन्।
आठौँ पटक अभागी?
अर्का एक जना वरिष्ठ कलाकारले भने यो वर्षको अस्कर्समा कीर्तिमान कायम नगर्ने आशा गरिरहेकी छन्।
अमेरिकी कलाकार ग्लेन क्लोस आठौँ पटक मनोनयनमा परेकी छन्।
तर यस अघिका सात वटै मनोनयनमा भने उनले जितेकी छैनन्।
उनी धेरै पटक मनोनीत भए पनि जित हात पार्न असफल आफ्नै कीर्तिमान तोड्न सक्ने अवस्थामा छन्।
पुरुष कलाकार पिटर ओ टुलको नाममा यस्तो कीर्तिमान छ।