तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेकपा एमाले: केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने माधव नेपाल-झलनाथखनाल पक्षको निर्णय
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारका लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको राजधानीमा बसेको भेलाले संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको हो।
यसअघि अघिल्लो पटक आह्वान गरिएको संसदीय दलको बैठकमा उक्त पक्षका सांसदहरू अनुपस्थित थिए।
पूर्वप्रधानमन्त्री नेपालले पार्टीका यस्ता बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा नभई पार्टी कार्यालय वा संसदीय दलको कार्यालयमा गरिनुपर्ने बताउँदै आएका छन्।
किन यस्तो निर्णय?
केन्द्रीय समितिको बैठकबारे नेता रघुजी पन्तले भने, "पार्टीभित्र बसेर सङ्घर्ष जारी राख्ने निर्णय भएको छ। जसरी साथीहरूलाई कुनामा पारिएको छ त्यसविरुद्ध लडिरहने भन्ने छ। अन्तिम समयसम्म एकताको लागि पहल गर्ने भन्ने निष्कर्ष बैठकले निकालेको छ।"
नेपाल र खनालसहितका नेतहारूले केन्द्रीय समितिको बैठकपछि आफू निकटस्थ सांसदहरूसँग छलफल गरेका थिए।
यसअघि ओलीको निर्देशनमा एमाले महासचिव ईश्वर पोखरेलले नेता नेपालसहित चार नेतालाई पार्टी विभाजन हुनेगरी समानान्तर खालको गतिविधि गरेको आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण बुझाउन सोमवार पत्राचार गरेका थिए।
त्यसको जबाफमा बिहीवार माधवकुमार नेपालले आफूलाई "अवैध रूपमा" पत्र लेखिएको भन्दै प्रधानमन्त्री ओलीलाई पत्राचार गरेका थिए।
उक्त पत्रमा पार्टी विधानविपरीत केन्द्रीय समितिमा नयाँ सदस्यहरू ल्याउने, स्वेच्छाचारी रूपमा विधान संशोधन गर्ने, पार्टीभित्रको जिम्मेवारी हेरफेर गर्ने जस्ता कदम प्रधानमन्त्रीले चालेको भन्दै त्यसबारे स्पष्ट पार्नुपर्ने माग गरिएको छ।
प्रधानमन्त्री ओलीका गतिविधि "कारबाही गर्नुपर्ने प्रकृतिका" रहेको भन्दै नेपालपक्षीय नेताहरूले प्रश्न उठाएपछि सर्वोच्च अदालतको आदेशले गएको फाल्गुन २३ गते ब्युँताएको एमालेभित्र विवाद चर्किएको छ।
पूर्वप्रधानमन्त्री नेपालले पठाएको पत्रमा पार्टी विभाजनको दुराशय राखेको, विगतमा नेपाल कम्युनिस्ट पार्टी रहँदा दलभित्र अन्तर्विरोध सिर्जना गरेको र ओली सरकारका कतिपय कदम राष्ट्रिय हितविपरीत रहेको आरोप लगाइएको थियो।
सर्वोच्च अदालतले पार्टीलाई नेकपा माओवादीसँगको एकीकरण पूर्वको अवस्थामा पुर्याए पनि यसबीचमा प्रधानमन्त्रीले एकपक्षीय रूपमा पार्टीको विधान र सङ्गठनात्मक विषयमा निर्णय गरेको नेपाल-खनाल पक्षको आरोप छ।
उनीहरूले ती विषयमा पार्टीको महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय समितिमा छलफल गरिनुपर्ने माग गरिरहेका छन्।
अब कस्तो सम्बन्ध?
ओलीपक्षीय एक नेताले स्पष्टीकरण पेस गर्ने क्रममा नेता नेपालले "बढ्ता अहङ्कार" प्रदर्शन गरेको टिप्पणी गरे।
उनले सूर्य चिह्न आफूहरूसँग भएकाले सहमतिमा आउन अर्को पक्षलाई दबाव परिरहेको बताए।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा धेरै सांसदहरू सहभागी हुने आफूले बुझेको बताए।
उनले भने, "बाहिर उहाँहरूबाट जेजस्ता कुरा आए पनि बैठकमा धेरै जना सहभागी हुने र पार्टीमा नै कुरा राख्ने भन्ने कुरा बुझिन्छ।"
नेपाल-खनाल खेमाको पछिल्लो निर्णयसँगै हालैका दिनमा नेतृत्वबीच चुलिएको तिक्ततापूर्ण विवादको समाधानको प्रयास दलभित्रै बसेर खोज्ने प्रयास अघि बढ्ने धेरै नेताको अपेक्षा छ।