नेकपा विवाद: माधव नेपाल भन्छन् ‘ओली बीमाले जहाँ माधव त्यहीँ एमाले’

नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड-नेपाल समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले आफू रहेको समूहभित्र नै वास्तविक एमाले रहने बताएका छन्।

तेह्रथुममा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै त्यसको चर्को प्रतिवाद गरेका छन्।

"माले बनाउने को भनेर सोध्नुस् त उनलाई (ओलीलाई), एमाले बनाउने को भनेर सोध्नुस् त उनलाई, कोअर्डिनेशन केन्द्र बनाउने को भनेर सोध्नुस् त उनलाई," माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रममा एमाले निर्माणमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भनेका छन्।

ओली 'बीमाले'

"उनी (ओली) यो कुरा सम्झन चाहँदैनन्। के भ्रम पैदा गरिरहेका छन् भने उनी आफू चाहिँ एमाले अरू सबै माओवादी। अनि एमाले, एमाले मिलौँ भनिरहेका छन्।"

"एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग मिल्ने होइन। उनी बीमाले मात्र हुन्, एमाले होइनन्। एमाले कतै छ भने जहाँ माधव नेपाल उभिएको छ त्यहाँ छ एमाले।"

२०७५ सालमा माओवादी र एमाले मिलेर नेकपा बनेको थियो।

'बैगुनी ओलीले लात्ताले हाने'

माधवकुमार नेपालले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी एकतापश्चात् केपी ओलीले अरू नेताहरूलाई बैगुन गरेको आरोप पनि लगाएका छन्।

पार्टी एकताको बेला ओलीले प्रचण्डलाई भर्‍याङको रूपमा प्रयोग गरेको उनले बताएका छन्।

"वहाँको भर्‍याङ चढेर अनि चट्ट चढ्दै चढ्दै पिठ्यूँमा अनि टाउकोमा टेकेर प्रधानमन्त्री भइसकेपछि पुक्क लात्ताले हानेर जतासुकै जा भन्दिए उनले।"

"उनी बैगुनी रहेछन्।"

नेकपाको दुवै समूहले पुरानो एमालेको चुनाव चिन्ह सूर्यमाथि आ आफ्नो दाबी गरिरहेका छन् र नेकपाको मूल प्रवाह पनि आफ्नै रहेको बताउँदै आएका छन्।

प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेताहरूले आफूलाई काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको दावी गर्दै आएका छन्।