तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरिया क्षेप्यास्त्र परीक्षणः आणविक युद्धशीर्षका रूपमा प्रयोग गर्न सकिने प्योङ्याङको दाबी
उत्तर कोरियाले भर्खरै परीक्षण गरिएका क्षेप्यास्त्रहरू "नयाँ किसिमका युद्धकौशलीय क्षेप्यास्त्र" भएको दाबी गरेको छ। परीक्षणपछि उत्तर कोरियाले पहिलो पटक त्यसबारे टिप्पणी गरेको हो।
प्योङ्याङले झन्डै एक वर्षपछि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको भए पनि अमेरिकामा जो बाइडनले राष्ट्रपतीय कार्यभार सम्हालेपछि बिहीवारको परीक्षण पहिलो हो।
अमेरिका, जापान र दक्षिण कोरियाले अहिलेको परीक्षणको निन्दा गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत प्योङ्याङलाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लागेको छ।
"यी प्रक्षेपणहरूले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का धेरै प्रस्तावहरू उल्लङ्घन गर्छन् तथा क्षेत्रीय र विस्तृत अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाउँछन्," अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने।
क्षेप्यास्त्रहरू कति पर पुगे?
उत्तर कोरियाले शुक्रवार प्रकाशित गरेको विज्ञप्तिमा आफूले प्रक्षेपण गरेका दुईवटा क्षेप्यास्त्रले पूर्वी तटभन्दा ६०० किलोमिटर पर अवस्थित लक्ष्य भेदन गरेको दाबी गरेको छ।
तर जापानले ती क्षेप्यास्त्र केवल ४०० किलोमिटर पर पुगेको अनुमान गरेको थियो।
"यो अस्त्र प्रणालीको विकास देशको सैन्य शक्ति सुदृढ गर्न तथा सबै किसिमका सैन्य त्रास रोक्न निकै महत्त्वपूर्ण छ," परीक्षणको नेतृत्व गरेका वरिष्ठ नेता रि प्योङ-चललाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।
परीक्षणका बेला उत्तर कोरियाली नेता किम जङ-अन उपस्थित थिएनन्।
कस्ता छन् विशेषता?
नयाँ क्षेप्यास्त्रको अग्रभागमा अढाई टन भार राख्न सकिने र त्यसलाई "आणविक युद्धशीर्ष" का रूपमा प्रयोग गर्न सकिने प्योङ्याङको दाबी छ।
उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र कस्तो किसिमको हो भन्ने स्पष्ट भइसकेको छैन। तर डोनल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति हुँदा निरस्त्रीकरणबारे सुरु भएको वार्ता रोकिएपछि प्योङ्याङको अस्त्र कार्यक्रममा प्रगति भएको देखिन्छ।
विश्लेषकहरूका अनुसार यी क्षेप्यास्त्रहरू गत अक्टोबर महिनामा प्योङ्याङमा आयोजित सैन्य परेडमा सार्वजनिक गरिएका थिए।
यदि त्यसो हो भने यी क्षेप्यास्त्रहरू पहिला परीक्षण गरिएको तर "निकै ठूलो युद्धशीर्षयुक्त" केएन-२३ को परिमार्जित रूप भएको जेम्स मार्टिन सेन्टर फोर ननप्रोलिफरेशन स्टडीजका जेफ्री लूइसले रोएटर्सलाई बताए।
एमआईटीमा रक्षा अध्ययनका प्राध्यापक विपिन नारङ्गका अनुसार त्यस्तो किसिमको नयाँ क्षेप्यास्त्रले उत्तर कोरियालाई आफ्ना रकेटमा गह्रुङ्गो आणविक युद्धशीर्ष राख्न सक्षम बनाउनेछ।
साना आणविक युद्धशीर्ष बनाउन कठिन हुन्छ। तर केही पर्यवेक्षकहरू प्योङ्याङसँग क्षमता भएको विश्वास गर्छन्।
डोनल्ड ट्रम्प र किमबीच वार्ता रोकिएपछि उत्तर कोरियाले एक वर्षअघि बलिस्टिक क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो।
अमेरिकामा जो बाइडन राष्ट्रपति भएपछि उत्तर कोरियासँग कूटनीतिक सम्पर्क गर्ने प्रयास गरिएको तर सफल नभएको वाशिङ्टनले बताएको छ।
प्योङ्याङले अझै पनि बाइडन अमेरिकाको राष्ट्रपति भएको स्वीकार गरिसकेको छैन।
दुई देशबीच आणविक र बलिस्टिक क्षेप्यास्त्रको विषयमा मतभेद छ।