अफगानिस्तान: 'हामीले लडेनौँ भने हाम्रो सङ्गीतमाथि प्रतिबन्ध लाग्छ'

    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

"सङ्गीत हाम्रो अफगान संस्कृतिको ठूलो हिस्सा हो। यदि प्रतिबन्ध जारी रह्यो र युवतीहरूलाई गीत गाउनबाट रोकियो भने हामीले हाम्रो संस्कृतिको एउटा हिस्सा गुमाउनेछौँ," पियानो वादक मारम अताईले भनिन्।

सबै महिला रहेको जोहरा अर्केस्ट्रा सङ्गीत समूहकी उनी एक सदस्य हुन्। १८ वर्षीया उनी काबुलकी हुन् र उनी अफगानिस्तान न्याश्नल इन्स्टिच्युट अफ म्युजिकमा अध्ययनरत छिन्।

अन्य थुप्रै युवा अफगानहरू जस्तै हालैको एउटा निर्देशिकापछि उनी पनि झस्किएकी छन्।

काबुलस्थित शिक्षा विभागले एउटा निर्देशिका जारी गर्दै १२ वर्षभन्दा माथिका बालिकाहरूले पुरुष उपस्थित भएका सार्वजनिक ठाउँमा गीत गाउन प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धसम्बन्धी समाचारबारे चासो व्यक्त गर्ने मारममात्रै छैनन्। सामाजिक सञ्जालमा त्यसबारे विरोधका स्वर आए।

धेरैले अफगान महिलाहरूले गाएका उनीहरूका मन पर्ने गीतका भिडिओहरू सामाजिक सञ्जालमा हाले।

आलोचना बढ्दै गएपछि शिक्षा मन्त्रालयले एउटा स्पष्टीकरण जारी गर्दै त्यसबारे अनुसन्धान भइरहेको र प्रतिबन्धले 'मन्त्रालयको नीति वा त्यसबारे धारणा प्रतिबिम्बित नगर्ने' जनाएको छ।

तर सुरुमा जारी गरिएको निर्देशन भने अझैसम्म फिर्ता लिइएको छैन। मारमजस्ता थुप्रैलाई पछिल्लो विज्ञप्तिले राहत नदिने देखिन्छ।

सङ्केतहरू

"यदि हामीले विरोध गरेनौँ भने उनीहरूले सङ्गीतमाथि नै पूर्ण रूपमा प्रतिबन्ध लगाउनेछन्," मारमले बीबीसीसँग भनिन्।

उनमा यो आशङ्का त्यतिकै आएको होइन।

सन् १९९६ देखि २००१ सम्म तालिबानको शासनका बेलाको पीडादायी सम्झना अफगान समाजमा ताजै छ।

तालिबान लडाकुहरूले इस्लामको कट्टरतामा विश्वास गर्छन् जसमा सङ्गीत उनीहरूको आस्थासँग मिल्दोजुल्दो होइन। त्यसैले उनीहरूले सङ्गीतमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएका थिए।

"त्यो एकदमै अचम्म र दुख लाग्ने कुरा थियो। म त्यही कुरा सन् २०२१ मा पनि मानिसहरूले गरून् भन्ने चाहन्नँ," उनले भनिन्।

अवसरहरू

जोहरा अर्केस्ट्रामा उनी चार वर्षअघिमात्रै संलग्न भएकी हुन्।

त्यसयता पाकिस्तान, भारत, चीन, पोर्चुगल, अजरबैजान, यूके, स्वीडेन, स्लोभाकिया र अस्ट्रेलियाजस्ता थुप्रै मुलुकमा उनले साङ्गीतिक प्रदर्शन गरिसकेकी छन्।

यस्ता अवसर किशोरीले एकदमै बिरलै पाउँछन्, खासगरी त्यस्तो देशमा जसलाई चार दशकको गृहयुद्धले तहसनहस बनाएको छ।

"अर्केस्ट्राले हामीलाई विश्व हेर्ने, अन्य सङ्गीतकर्मीहरूसँग प्रदर्शन गर्ने र विभिन्न संस्कृति अनुभव गर्ने मौका दिएको छ," मारम भन्छिन्।

विश्वका गरिब देशमध्ये अफगानिस्तान पनि एक हो जहाँको प्रतिव्यक्ति आय जम्मा प्रतिवर्ष पाँचसय डलर छ र त्यहाँ महिला साक्षरता ३० प्रतिशतभन्दा कम छ।

गुनासोहरू

सुरुमा जारी गरिएको निर्देशिकामा केही अभिभावकहरूले छोरीहरूले साङ्गीतिक कार्यक्रमहरूमा भाग लिँदा त्यसले उनीहरूको सिकाइमा असर गरेको भन्ने गुनासो गरेपछि प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको थियो।

"यो एकदमै बकवास हो," आक्रोशित डा. अहमद सरमस्तले भने।

उनले सन् २०१५ मा जोहरा अकेस्ट्रा र सन् २०१० मा अफगानिस्तान न्याश्नल इन्स्टिच्युट अफ म्युजिक स्थापना गरेका थिए।

"केही अभिभावकले गुनासो गरेकै भए पनि अफगानिस्तानका सबै किशोरीलाई चुप लगाउन त्यो कारण हुन सक्दैन," उनले बीबीसीसँग भने।

स्वतन्त्र अभिव्यक्ति

अफगानिस्तानको शिक्षा मन्त्रालयले निकालेको पछिल्लो विज्ञप्तिमा उसले "सबै महिला विद्यार्थीहरूको सिक्ने अधिकार र कलात्मक र सांस्कृतिक गतिविधिमा भाग लिने इच्छालाई समर्थन" गर्ने लेखिएको छ।

तर डा. सरमस्त भन्छन्, "यसको प्रक्रिया नबुझीकन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखिरहेका छन्। पहिलाको निर्देशन त अझैसम्म फिर्ता लिइएको छैन।"

डा. सरमस्तले सरकारको निर्णयको विरोधमा मानिसहरूलाई गीत सामाजिक सञ्जालमा राख्न आह्वान गर्दै अनलाइन अभियान सुरु गरे र यो बन्द गर्न अहिले नै भनी हाल्ने पक्षमा उनी छैनन्।

सन् २०१४ मा आफ्ना विद्यार्थीहरूले काबुलमा एउटा नाटक मञ्चन गरेको हेरिरहँदा एक जना तालिबान लडाकुले गरेको आत्मघाती हमलामा उनी बल्लबल्ल बाँचेका थिए।

उनले एउटा कानको श्रवणशक्ति गुमाए र टाउकोबाट गोलीका छर्रा हटाउन थुप्रै शल्यक्रियाहरू गर्नुपर्‍यो। तर उनी आफ्नो उद्देश्यमा अझै पनि समर्पित छन्।

उनी भन्छन्, "अफगानिस्तानका बालिका/किशोरीहरूले सङ्गीतका माध्यमबाट आफूलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्न पाउनुपर्छ।"

भविष्यबारे उनी चिन्तित छन्।

"यो महिलालाई सामाजिक रूपमा प्रतिबन्ध लगाउने प्रयास हो। यदि हामीले यसलाई रोकेनौँ भने थप प्रतिबन्धहरू लगाइने छन्," उनले भने। 

अफगान सरकारका प्रतिनिधिहरू अहिले शान्ति सम्झौताका लागि तालिबानसँग वार्ता गरिरहेका छन्।

उक्त वार्ताले अमेरिकी फौज फिर्ता हुने र तालिबान लडाकुहरू पनि सत्तामा सामेल हुनसक्ने दिशामा पुर्‍याउन सक्नेछ। 

सन् २००१ को अन्त्यतिर अमेरिकी नेतृत्वको सेनाको आक्रमणले तालिबानलाई सत्ताबाट बाहिर पुर्‍याएको थियो। तर त्यसपछि अफगान सङ्गीत पुनः ब्युँतन थुप्रै वर्ष लाग्यो।

सुरुका सङ्घर्षहरू

अहिले अफगानिस्तानमा टेलिभिजनमा साङ्गीतिक प्रतियोगिताहरू निकै चर्चित छन्।

रेडियोमा पनि टर्कीको सङ्गीतदेखि बलिवुड र बाहिरका सङ्गीतसम्म सुन्न सकिन्छ।

तर तालिबान सत्ताबाट बाहिरिए पनि सङ्गीतको विरोध गर्ने आवाजहरू भने पूर्ण रूपमा हराएका छैनन् र पुरातनवादी समूहहरूले अझै पनि यसको विरोध गरिरहेका छन्। 

"एकदमै शक्तिशाली मानिसमात्रे अफगानिस्तानमा गायक वा सङ्गीतकार बन्न सक्छ," मारम भन्छिन्। उनलाई अनुभवबाट यो थाहा छ।

मारमकै हजुरबुवा र हजुरआमा पनि सङ्गीत विरोधी हुन्।

पहिला उनकै आमाबुवा पनि विरोधी थिए तर सन् २००० मा इजिप्टमा सरेपछि उनका अभिभावकले आपत्ति जनाउन कम गरे।

मारम सन् २००२ मा कायरोमा जन्मिएकी हुन् र पाँच वर्षदेखि नै उनले पियानो सिक्न थालिन्।

उनले पहिलो पटक छ वर्षको हुँदा साङ्गीतिक प्रदर्शनमा भाग लिइन्। जब १३ वर्षको हुँदा उनको परिवार काबुल फर्कियो उनको साङ्गीतिक यात्रामा हस्तक्षेप भयो।

"म यहाँ आएपछि सबै बदलियो। मैले सङ्गीतलाई निरन्तरता दिएँ भने केही नराम्रो हुन्छ भनेर मेरो बुवा चिन्तित हुनुहुन्थ्यो," मारमले भनिन्।

उनका बुवाले घरमै पनि पियानो बजाउन बन्द गर्न भने।

पियानोप्रति मोह

मारमलाई बुवाले भनेको मान्न निकै गाह्रो भयो।

"सङ्गीत मेरा लागि कति अनमोल रहेछ भन्ने मैले अफगानिस्तान नआउँदासम्म थाहा पाएकी थिइनँ. यहाँ मानिसहरू र संस्कृति फरक थियो। एकदमै कठिनाइहरू थिए," मारमले भनिन्।

"परिवर्तन नभएको एउटै कुरा भनेको मेरो सङ्गीत मात्रै थियो।"

सहायताका लागि उनले डा. सरमस्तलाई भेटिन् र उनैले मारमका बुवासँग हप्ताको दुई दिन पियानो बजाउने अनुमति पाउन मद्दत गरे।

"ती दुई घण्टा मेरालागि एकदमै महत्त्वपूर्ण थिए। म कहिल्यै पनि पियानो छोड्न चाहँदैन थिएँ," मारमले भनिन्।

त्यस लगत्तै उनी सङ्गीत विद्यालयमा भर्ना भइन् र १४ वर्षकै उमेरमा सरमस्तको अर्केस्ट्रामा उनी पियानो वादकका रूपमा सामेल भइन्।

"सङ्गीत रोज्नु मेरो जीवनकै उत्कृष्ट निर्णय थियो। म अझ परिपक्व भएको छु र मेरो गुरुहरूले म एउटा राम्रो रोल मोडल बनेको बताउँछन्।"

उनका अनुसार उनको टोलीले धेरै विद्यार्थीलाई सङ्गीतमा आउन प्रेरणा दिइरहेको छ।

उँचो उद्देश्य

मारम दैनिक आठ घण्टा पियानो अभ्यास गर्छिन् र यसैमा अध्ययनलाई निरन्तरता दिन चाहन्छिन्।

"सङ्गीतका लागि उच्च शिक्षा दिने कुनै कलेज अफगानिस्तानमा छैन, त्यसैले म विदेश गएर पढ्न चाहन्छु," उनले भनिन्।

सरकारले हालसालै चालेको कदमले धेरैलाई सङ्गीत पढ्नेबारे सावधान गराएको छ। भाग्यवश उनलाई भने परिवारको पूर्ण समर्थन छ र उनी आफ्नो लक्ष्यमा स्पष्ट छिन्।

"म विश्वभरि एकल पियानो कन्सर्ट प्रदर्शन गर्ने पहिलो अफगान महिला बन्न चाहन्छु।"