तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेथोभन: कान नसुन्ने हुँदा पनि कसरी सबैभन्दा प्रख्यात सङ्गीत रचना गरे
- Author, विलियम मार्केज
- Role, बीबीसी न्यूज मुन्डो
सन् १८२४ मे ७, भियना। शाही परिवार, कुलीन समुदाय र सहरका धनाढ्यहरू एउटा अभूतपूर्व साङ्गितिक कार्यक्रमका लागि भियनाको 'इम्पिरिअल एन्ड रोयल कोर्ट थिएटर'मा भेला भएका थिए।
त्यो अभूतपूर्व कार्यक्रम भनेको बेथोभनको 'नाइन्थ सिम्फोनी'को पहिलो प्रस्तुति थियो। श्रोता तथा दर्शकका अपेक्षा धेरै थिए।
सङ्गीतकार तथा कन्डक्टरले लामो समयदेखिसँगै काम गरेका थिएनन् र बेथोभन १२ वर्षसम्म कुनै मञ्चमा देखिएका पनि थिएनन्।
तर अन्तत, उनी त्यहाँ उपस्थित भए। अर्केस्ट्रा सङ्गीत प्रदर्शनका लागि त्यति ठूलो कन्सर्ट त्यसअघि कहिल्यै भएकै थिएन र पाश्चात्य सङ्गीतका महान् कलाकार मञ्चमा थिए।
पहिलोपटक सङ्गीत प्रस्तुतिको प्रचलनमा पनि परिवर्तन गरेर मानव स्वर पनि सामेल गरिएको थियो।
दर्शकतिर पिठयूँ फर्काएर बेथोभनले स्वच्छन्द भावले सङ्गीतको तालमा शरीर र हात हल्लाएका थिए।
उनी सङ्गीतमा यति डुबेका थिए कि प्रस्तुति समाप्त हुँदा पनि उनले आफ्नो भावभङ्गी जारी नै राखिरहेका थिए।
एकजना गायकले आएर दर्शकले तालीको गडगडाहटबाट उनीप्रति सम्मान व्यक्त गरेको हेर्न सकुन् भनेर उनलाई दर्शकदीर्घापट्टि फर्काइदिएका थिए।
सम्झनलायक त्यो एक साँझ
त्यो समयसम्म, बेथोभन सम्पूर्ण रूपमा कान नसुन्ने भइसकेका थिए।
यो घटनाका विभिन्न स्मरणीय क्षणहरू रहेको लोरा टनब्रिजले बीबीसीलाई बताइन्। अक्सफर्ड विश्वविद्यालयमा सङ्गीतकी प्राध्यापक रहेकी उनले हालै "बेथोभन: अ लाइफ इन नाइन पिसेज" जीवनकथा लेखेकी छन्।
"पहिलो प्रदर्शनका लागि उनी मञ्चमा थिए र उनकै छेउमा सङ्गीत निर्देशक पनि थिए जसले सबै कुरालाई मिलाएर राखेका थिए। त्यतिबेलासम्म बेथोभन भरपर्दा कन्डक्टर रहेनन् भनेर सबैलाई थाहा भइसकेको थियो," प्राध्यापक टनब्रिजले भनिन्।
"सङ्गीतको एउटा चालकै बेला दर्शकहरूले प्रशंसा स्वरूप भव्य रूपमा ताली बजाएका थिए किनभने उनीहरू त्यो पुनः सुन्न चाहन्थे," उनले थपिन्।
त्यो साँझ त्यहाँ भाँडभैलो पनि हुनसक्थ्यो। सङ्गीतकार र कन्डक्टर आफै कान सुन्दैन थिए र उनको सङ्गीत असामान्य रूपमा लामो र जटिल थियो। खासगरी त्यतिबेलाको समयमा सङ्गीतकारहरूले थोरै मात्रै पूर्वाभ्यास गरेका थिए।
मनोरञ्जन बिर्स: 'सङ्गीत भनेको कला हो'
"थोरै तयारी भए पनि त्यो भव्य हुनु गज्जब थियो," प्राध्यापक टनब्रिजले भनिन्।
बेथोभन आजभन्दा झन्डै २५० वर्षअघि जर्मनीको बोनमा जन्मिएका थिए।
उनी कामप्रति लगाब भएका अत्यन्तै कल्पनाशील सङ्गीतकार बने - उनको व्यक्तित्व जटिल र परस्परविरोधी भनेर चिनिन्थ्यो।
युरोपभर नेपोलियनकालीन युद्ध भइरहेका बेला नै उनका सुरुका रचनात्मक वर्षहरू पनि बितिरहेका थिए।
उनी जर्मनीमा जन्मिएका भए पनि उनलाई भियनाका महान्तम सङ्गीतकार भनेर चिनिन्छ। "सङ्गीतको क्षेत्रमा उनले धेरै तरिकाले क्रान्ति ल्याइदिएका छन्," टनब्रिज भन्छिन्।
"सङ्गीतले विचार र भावनाहरू व्यक्त गर्न सक्छ भन्ने गरेका उनले शुद्ध मनोरञ्जनभन्दा धेरै माथि सङ्गीत हुन्छ भनेर प्रदर्शनहरू गरे। त्यसको अर्थ सङ्गीतमा केवल मनोरञ्जनभन्दा धेरै गहिराइ हुन्छ भन्ने उनको बुझाइ थियो।"
"सङ्गीतलाई कलाको रूपमा उठाउन बेथोभनको भूमिका महत्त्वपूर्ण छ," प्राध्यापक टनब्रिजले भनिन्।
अस्वस्थ जिन्दगी
सँगै उनी 'रिसाहा, स्वार्थी, असामाजिक, आत्मरतिमा रमाउने, उदास, फोहोरी, कन्जुस र जँड्याहा' भनेर पनि चिनिन्थे।
बेथोभन जटिल व्यक्तिका रुपमा चिनिए - उनी स्वास्थ्य समस्याका कारण धेरै पीडामा रहे र केही उपचार त उल्टै उनका लागि हानीकारक पनि बन्यो।
आधुनिक विज्ञहरूले उनको स्वास्थ्य समस्या के थियो र कान नसुन्ने कसरी भए, त्यसले कसरी उनको व्यक्तित्व र सङ्गीत रचनालाई प्रभावित गर्यो भनेर 'ऐतिहासिक फरेन्सिक' अनुसन्धान गरेका छन्।
बीबीसी विश्व सेवाले बनाएको बृत्तचित्र "डाइसेक्टिङ बेथोभन" मा ब्रिनेटका न्यूरोसर्जन हेनरी मार्सले उनको शरीरमा के-के समस्या थिए भन्ने सूची तयार गरेका छन्।
चिकित्सकका अनुसार बेथोभनलाई "पेट, पाचन प्रक्रिया र पखालाको समस्या थियो। त्यसबाहेक उनी चरम वितृष्णामा थिए र उनमा विषाद पनि थियो।
बेथोभनको निधन भएको एक दिनपछि एकजना प्रभावशाली चिकित्सक जोहानेस वाग्नरले उनको परीक्षण गर्दा उनको आन्द्राभुँडी सुन्निएको थियो, कलेजो नराम्ररी खुम्चिएको थियो।
कलेजोमा त्यस्तो जटिल समस्या देखिनुले उनी अत्यधिक मदिरा सेवन गर्थे भन्ने जनाउँछ।
अत्यधिक मदिराको सेवन उनको परिवारको एउटा समस्या नै थियो: उनकी हजुरआमा पनि यसबाट ग्रस्त थिइन् र उनका बुवा नामुद पियक्कड थिए।
सामाजिक कार्यक्रमहरूमा बेथोभन नियमितजसो वाइन पिउँथे। प्राध्यापक टनब्रिजका अनुसार त्यतिबेला त्यो सामान्य प्रचलन पनि थियो।
क्यालिफोर्नियास्थित सान होजे विश्वविद्यालयको बेथोभन स्टडिजका अनुसन्धानकर्ता विलियम मेरेडिथले वाइन पिउनु र सम्भावित सिसाको विषाक्तताको सम्बन्ध रहेको कुरालाई स्थापति गरेका छन्।
उनले बेथोभनको कपालको रासायनिक विश्लेषण गर्दा त्यसमा धातुको उपस्थिति रहेको जनाएकोले वाइन र सिसाको विषाक्तताबारे पत्ता लगाएका हुन्।
वाइन बनाउँदा अङ्गुरको रसलाई किसानहरूले वाइन गुलियो रहोस् भनेर भित्रपट्टी सिसाको लेप भएको घ्याम्पोमा राख्छन् र त्यसले उपभोक्ताको शरीरमा असर गर्छ।
सिसाको विषाक्तताले स्नायु प्रणालीमा असर गर्छ तर पनि बेथोभन यसैबाट पीडित थिए भन्ने प्रमाणित गर्ने कुनै आधार भने छैन।
अनुसन्धानकर्ता मेरेडिथले बीबीसीसँग उनी कान सुन्न नसक्ने हुनुको कारण उनको पाचन प्रणालीको बिमारीसँग जोडिएको हुनसक्ने बताए।
"त्यसबाहेक, बेथोभनले आफूलाई ज्वरो आउने र टाउको दुख्ने गरेको गुनासो पनि बाचुञ्जेल गरेका थिए।"
सुन्न नसक्नुको आघात
बेथोभनलाई सन् १७९७ देखि १७९८ सम्म सुन्न समस्या थियो भन्ने कुरा स्पष्ट छ।
आफ्ना चिकित्सकको सल्लाहपछि सन् १८०२ मा बेथोभनले भियना छोडेका थिए र शान्तिका लागि नजिकैको एउटा नगरमा रहेको घरमा बसेका थिए।
यहीँबाट उनले आफ्ना भाइहरूलाई पत्र लेखेका थिए र त्यसमा उनले किन उनलाई अरू मानिसहरूबाट एक्लिएर बस्नुपर्छ र मर्ने विचार कति आउँछ भनेर उल्लेख गरेका थिए।
"...झण्डै ६ वर्षअघि मलाई एउटा घातक बिमारी देखिएको थियो र असक्षम चिकित्सकहरूले त्यसलाई थप बिगारिदिए," उनले लेखेका थिए।
"म समाजभन्दा टाढा बस्नुपर्छ। यदि मैले मानिसहरूलाई भेटेँ भने मेरो अवस्थाबारे मानिसहरूले थाहा पाउनेछन् र मेरो रिसाहा स्वभाव थप खराब हुनेछ।"
तर सुन्ने क्षमता गुमाउने कुराको दुःख रहे पनि उनले कलाकै माध्यमबाट जीवन जिए।
कहिल्यै नपठाइएका ती पत्रहरू उनको मृत्युपछि फेला परेको थियो।
एउटा असाध्यै मार्मिक हरफमा उनले लेखेका छन्: "अँ! म कसरी स्वीकार गरौं कि जुन इन्द्रिय मसँग पूर्णतामा हुनुपर्थ्यो, त्यो तहको पूर्णता जुन थोरै सङ्गीतकर्मीले मात्रै बुझेका छन्, त्यो नै मेरो कमजोरी हो भनेर?"
सन् १८१८ सम्ममा त बेथोभनलाई मानिसहरूले के भनिरहेका छन् भनेर बुझ्न पनि कठिन हुन थालिसकेको थियो। त्यसैले उनी लेखेरै संवाद गर्थे।
कान सुन्न नसकेकै कारण आफ्नो विवाह नभएको भन्ने वितृष्णा पनि उनमा थियो।
तर उनले सङ्गीत रचना गर्ने काम जारी मात्रै राखेनन् केही प्रयोगात्मक सङ्गीतहरू रचे जुन असाध्यै सशक्त र अर्थपूर्ण बने।
सङ्गीतका अन्य साधनहरूको दाँजोमा बेथोभनको उत्कृष्टता पियानोमा थियो र उनले यसकै माध्यमबाट सङ्गीत रचना जारी राखे।
त्यसो हुँदाहुँदै पनि उनको सबैभन्दा शक्तिशाली साधन भनेको उनको दिमाग नै थियो।
"के कुरा ख्याल गर्नुपर्छ भने सङ्गीतकारहरू आफ्नो कल्पनामा धेरै भर पर्छन् र उनीहरूले दिमागमा स्वर सुन्न सक्छन्। बेथोभन बाल्यकालदेखि नै सङ्गीत रच्थे," प्राध्यापक टनब्रिजले व्याख्या गरिन्।
"उनी सायद बाहिरी दुनियाँ सुन्न सक्दैन थिए तर आफ्नो दिमागमा भने सङ्गीत सुन्नसक्थे।"
मानवता र आशा
उनी असामाजिक र बिरामी थिए भन्नका लागि थुप्रै प्रमाणहरू छन्। प्राध्यापक टनब्रिज भन्छिन्, "तर बेथोभन त्यो भन्दा धेरै थिए।"
"उनको व्यक्तित्वको अर्को पाटो पनि छ। उनी मित्रवत र विनोदी पनि थिए। उनको मानवीय गुण देखाउने अन्य घटना पनि छन्।"
एउटा व्यक्तिगत र कठिन क्षणमा उनले रचेको "ओड टु जोइ" ले उनी भविष्यप्रति आशावादी रहेको भन्ने देखाउँछ।
सानैदेखि बेथोभन फ्रेडरिक शिलरका कविता सङ्गीतमा लयबद्ध गर्न चाहन्थे र अन्ततः उनले आफ्नो 'नाइन्थ सिम्फोनी'मा त्यो गरे।
"उनले जीवनको अन्तिम समयसम्म पनि त्यो आशा राखे र यो कुरा हामीले बेवास्ता गर्न सक्दैनौं।"