तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इथिओपिआ द्वन्द्व: बीबीसीका पत्रकार हिरासत मुक्त
इथिओपिआको द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा रहेका बीबीसीका सम्वाददाता गरमेअ गेब्रुलाई हिरासतमुक्त गरिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार बीबीसी टिग्रिन्या सेवाका ती पत्रकार गरमेअ गेब्रुलाई अन्य चारजना मानिसहरूसँगै क्षेत्रीय राजधानी मेकेलेबाट सेनाले कब्जामा लिएको थियो।
उनलाई विना कुनै अभियोग मुक्त गरिएको छ।
फाइनान्सिअल टाइम्स र एएफपी न्यूज एजेन्सीका लागि काम गर्ने एकजना स्थानीय पत्रकार टामिराट येमाने र दुईजना दोभाषे आलुला अकालु र फिट्सम बरहेनलाई पनि उनीसँगै हिरासतमा मुक्त गरिएको बताइएको छ।
ती पत्रकारहरूलाई गिरफ्तार गरिनुको कारण बारे बीबीसीलाई कुनै जानकारी प्राप्त हुन सकेको छैन।
इथिओपिआको सरकारले गत नोभेम्बर महिनादेखि टिग्रेमा विद्रोही सैन्यसँग लडाईँ गरिरहेको छ।
द्वन्द्व
टिग्रेमा द्वन्द्व सुरु भएयता महिनौँसम्म कडा रूपमा सञ्चारजगतमाथि प्रतिबन्ध लागु गरेका अधिकारीहरूले गत हप्तादेखि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई त्यहाँ प्रवेश दिएका थिए।
एएफपी र फाइनान्सिअल टाइम्स दुवैले त्यहाँको द्वन्द्वको समाचार संकलन गर्ने अनुमति प्राप्त गरेका थिए।
टिग्रेमा सरकारले विद्रोही टिग्रे लिबरेशन फ्रन्ट माथि जीत हासिल गरेको घोषणा गरेको भएतापनि त्यहाँ लडाईँ जारी रहेको छ।
द्वन्द्वका क्रममा सयौँको ज्यान जानुका साथै हजारौँ विस्थापित भएका छन्।
द्वन्द्वरत सबै पक्षबाट अत्याचारहरू भएको र त्यहाँ मानवीय संकटको अवस्था झन खराब हुँदै गएको भनेर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू पनि व्यक्त भैरहेका छन्।
इथिओपिआको सत्ताधारी पार्टीका एकजना अधिकारीले हालै चेतावनी दिँदै "अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई गलत सूचना दिने" मानिसहरू विरुद्ध कडा कदम चालिने बताएका थिए।
(यो समाचार मार्च तीन तारिख २०२१ मा अध्यावधिक गरिएको हो।)