तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस खोप: आइतवार थप १० लाख मात्रा खोप आइपुग्ने
प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसविरुद्ध थप १० लाख मात्रा खोप आइतवार भारतबाट आउने जानकारी दिएका छन्।
यसअघि भारतबाटै अनुदानमा १० लाख मात्रा खोप आएपछि नेपालमा खोप अभियान शुरु भएको थियो।
"भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौँ। केही दिनपछि चीनबाट ल्याउँदैछौँ र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौँ," प्रधानमन्त्री ओलीले शनिवार विराटनगरमा आयोजित पार्टीको जनसभामा बोल्दै जानकारी दिए।
सरकारले फागुन २३ वा त्योभन्दा अगावै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ।
भारतको सिरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप ४ डलरको मूल्यमा किन्ने सहमति भएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीले किनेर ल्याउने खोप भनेकाले त्यसकै पहिलो खेप आइतवार आउने ठानिएको छ।
अक्सफर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीद्वारा विकसित उक्त खोप केही चरणमा ल्याइने स्वास्थ्यमन्त्रीले जानकारी दिएका थिए।
लगत्तै अन्तर्राष्ट्रिय खोप सहायता सञ्जाल कोभ्याक्समार्फत् पनि साढे २२ लाख मात्रामा सोही खोप सहायतास्वरूप आउने बताइएको छ।
चीनको सिनोफार्मले उत्पादन गरेको खोपलाई नेपालको औषधि व्यवस्था विभागले सशर्त प्रयोगको अनुमति यसै साता दिएको छ। चीन सरकारले शुरुमा पाँच लाख मात्राको खोप अनुदानस्वरूप नेपाललाई उपलब्ध गराउने भनिसकेको छ।
सो जनसभामा प्रधानमन्त्री ओलीले धेरै समय वर्तमान सरकारले थालेका विकास अभियानका विषयबारे बोलेका थिए।
उनले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गरेका कारण सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी हाल विभाजित अवस्थामा छ र दुवै समूहले एकअर्काविरुद्ध वादप्रतिवाद गर्दै देशैभरि जनसभाहरू गरिरहेका छन्।
विघटनका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेतापनि प्रधानमन्त्री ओली पक्षधरहरूले निर्वाचनको पक्षमा अनि प्रचण्ड-माधव नेपाल पक्षधरहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सार्वजनिक मन्तव्यहरू दिइरहेका छन्।
'फागुन ११-१५ भित्र फैसला आउने'
प्रतिनिधिसभा विघटनबारेको मुद्दामा सर्वोच्च अदालतले फागुन ११ देखि १५ भित्र फैसला दिने आफूलाई विश्वास लागेको नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्ले सभामा बताए।
पुस ५ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपश्चात् त्यसको विरुद्धमा सर्वोच्च अदालतमा दायर गरिएका रिट निवेदनहरूमाथिको छलफल शुक्रवार सकिएको छ।
सो अवधिमा रिट निवेदकका वकिलहरू, सरकारी वकिलहरू तथा अदालतको साथीको रूपमा गठित एमिकस क्युरीका सदस्यहरूले आ-आफ्ना तर्कहरू राखेका थिए।
"अब फागुन ११ वा १२ वा बढीमा १५ गतेसम्म यसको फैसला आउनसक्छ भन्ने विज्ञहरूको भनाइ छ," नेम्वाङ्ले भने।
'मन्त्री फर्कने भनेर फूटवादीले भ्रम फिँजाए'
सोही सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले सरकारका केही मन्त्रीहरू प्रचण्ड-नेपाल समूहमा फर्कन लागेको भनेर उक्त समूहले भ्रम फिँजाएको आरोप लगाए।
"केही मन्त्री फर्कँदैछन् भन्ने उनीहरूले भ्रम फिँजाए। उनीहरूले किन यस्तो भ्रम फिँजाए? त्यो उनीहरूको आतङ्क र भयको अभिव्यक्ति हो," बादलले भने।
उनले प्रचण्ड-नेपाल समूहले जर्मनीका नाजी शासक हिटलरका प्रचारमन्त्री गोयबल्सले झुटलाई सयपटक भनेमा मानिसहरूले सत्य ठान्छन् भनेर प्रचार गरेकै शैली पछ्याएको आरोप लगाए।