तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस खोप: भारतमा उत्पादित 'कोभिशील्ड' खोप प्रयोगको अनुमति दिन नेपालले देखाएका दुई मुख्य आधार
अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोनाभाइरसविरुद्धको खोपले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ।
उक्त खोपलाई भारतमा सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरिरहेको छ।
नेपालले पनि भारतमा सीरमद्वारा उत्पादित 'कोभिशील्ड' नामक औषधिलाई आयात गरी आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो।
औषधि व्यवस्था विभागले शुक्रवार जारी गरेको वक्तव्यमा शुक्रवारको "विभागीय निर्णयअनुसार" उक्त खोपलाई "आपत्कालीन प्रयोगका लागि सशर्त अनुमति" दिइएको उल्लेख छ।
अनुमतिका लागि लिइएका आधार कस्ता?
औषधि व्यवस्था विभागले बुधवार मात्र कोभिड-१९ को खोप दर्ताका लागि आयातकर्ताहरूलाई आह्वान गरेको थियो।
उक्त आह्वानअनुसार हालसम्म तीनवटा निवेदन परेको तर तत्काल आवश्यक मापदण्डहरू पूरा गर्नेमा सीरमको खोप मात्र भएकाले उसैले पहिलो अनुमति पाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए।
उनले बीबीसीसँग भने, "अन्य निवेदनहरूबारे पनि हामी क्रमश: निर्णय गर्दैँ जानेछौँ। यो एउटाले मात्र अनुमति पायो भन्ने होइन।"
उनका अनुसार 'हुकम डिस्ट्रिब्युटर एन्ड लजेस्टिक प्रालि'ले नेपालमा अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने अनुमति पाएको हो।
१. अन्तर्राष्ट्रिय मान्यता
विभागले उक्त खोपलाई नेपालमा प्रयोगको अनुमति दिनका लागि अन्तर्राष्ट्रिय मान्यतालाई हेरेको केसीले बताए।
उनले भने, "यसको उत्पादन भएको देशमा र अन्यत्र पनि पाएको अनुमतिलाई हामीले हेरेका छौँ।"
उक्त खोपले यूकेसहित भारतमा पनि आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ।
केसीका अनुसार नेपालले हालै मात्र औषधि ऐनलाई अध्यादेशमार्फत् संशोधन गरेर आपत्कालीन अवस्थामा प्रयोग गर्न दिने व्यवस्था गरेको छ।
सोही व्यवस्था अनुसार उक्त औषधिले अनुमति पाएको हो।
२. नेपालको पूर्वाधार सुहाउँदो
विभागले हेरेको अर्को मुख्य आधार भनेको नेपालको स्वास्थ्य पूर्वाधार पनि रहेको उनले बताए।
केसीले भने, "धेरै चिसोमा भण्डारण गर्नुपर्ने हाम्रोमा उपयुक्त हुँदैन। तर यो दुई देखि आठ डिग्री सेल्सीअसमा भण्डारण गर्न सक्ने भएकाले हाम्रो आपूर्ति प्रणालीमा यसलाई प्रयोग गर्न सकिन्छ। त्यसैले यसलाई अनुमति दिइएको हो।"
अन्य कतिपय खोपहरूलाई उच्च चिसोमा राख्नुपर्ने अवस्था छ।
तर यो खोप भने अन्य खोपहरू भण्डारणकै पूर्वाधारमा पनि भण्डारण गर्न सकिने वैज्ञानिकहरूले बताउँदै आएका छन्।
अन्य दुई खोपको पनि निवेदन
केसीका अनुसार अन्य दुई खोप आयात गर्न चाहनेहरूले पनि निवेदन दिएका छन्।
त्यसमा चीनको 'सिनो फर्मा'ले विकास गरेको र भारतको भारत बायोटेकको 'कोभ्याक्सीन' रहेका छन्।
सिनो फर्माका लागि थप कागजपत्र पेस गर्न भनिएको र भारतको खोपको प्रमाणपत्रहरूको अध्ययन भइरहेको उनले बताए।
उनले भने, "यदि उहाँहरूले पनि सबै कागजपत्र पूरा गर्नुभयो भने अनुमति पाइहाल्नुहुन्छ।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा