परराष्ट्रमन्त्रीको भारत भ्रमण: खोप आयातबारे सम्झौता होला?

तस्बिर स्रोत, Reuters
नेपालले जनसङ्ख्याको लगभग २० प्रतिशतलाई पुग्ने गरी कोरोनाभाइरस खोप तत्कालै उपलब्ध गराइदिन भारतलाई गरेको अनुरोधबारे सकारात्मक छलफल भइरहेको बताइएको छ।
खोप आपूर्ति सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच माघको प्रारम्भमा नयाँ दिल्लीमा बस्ने नेपाल-भारत संयुक्त आयोगको बैठकको समयमा निर्णय आउन सक्ने अधिकारीहरू बताउँछन्।
झन्डै डेढ साता अघि परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयलाई पत्राचार गर्दै भारत सरकारले आफ्ना जनतालाई खोप किन्दा नेपालको जनसङ्ख्याको २० प्रतिशतका लागि पनि खरिद गरिदिन अनुरोध गरेको बुझिएको छ।
पहिलो ३% स्वास्थ्यकर्मी जस्ता अग्रमोर्चामा रहेका व्यक्तिहरू र बाँकी १७ प्रतिशत बृद्ध तथा विभिन्न रोग लागेका कारण खतरा समूहमा पर्नेहरूलाई वितरण गर्ने योजना बनाइएको बताइएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतले भारतबाट नेपाललाई खोप उपलब्ध हुने कुरामा आफू भरपर्दो रूपमा आशावादी रहेको बीबीसीलाई प्रतिक्रिया दिएका छन्।
खोप कूटनीति
गएको नोभेम्बर महिनाको अन्त्यमा काठमाण्डूको भ्रमण गरेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले खोप आउनासाथ नेपालको माग पूरा गर्ने विषय भारतको प्राथमिकतामा पर्ने बताएका थिए।

तस्बिर स्रोत, Reuters
ज्यानुअरी १ मा भारत सरकारले अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले निर्माण गरेको कोभिशील्ड खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो। लगत्तै स्थानीय उत्पादक भारत बायोटेकले विकास गरेको “कोभ्याक्सिन” लाई पनि आपत्कालीन प्रयोगको लागि स्वीकृति दिइएको थियो।
अक्सफर्ड-एस्ट्राजेनेकाको खोपले अनुमति पाउनुअघि नै पूणेमा अवस्थित उक्त खोप निर्माण कम्पनी सिरम इन्स्टिच्युटका अतिरिक्त निर्देशक प्रकाश सिंहले नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसँग भेटवार्ता गरेका थिए।
गत मङ्गलवार मात्रै राजदूत आचार्यले भारत बायोटेकका प्रमुख कार्यकारी डाक्टर भी कृष्ण मोहन र उनको समूहसँग भअर्चुल कुराकानी गर्दै उक्त निकायले विकास गरेको खोपको उपलब्धताबारे छलफल गरेका थिए।
परराष्ट्र मन्त्रालयका एकजना अधिकारीका अनुसार नेपालले आफ्नो जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी तत्कालै भारतसँग खोप किन्ने इच्छा व्यक्त गरेको छ।
“भारत सरकारले आफ्नो नागरिकका लागि खोप किन्दा नेपालको पनि २० प्रतिशत जनतालाई पुग्ने गरी किनिदिएदेखि हामी भुक्तानी दिन्छौँ भनेर परराष्ट्र मन्त्रालयले पत्राचार नै गरेको छ। अहिलेसम्म हाम्रो तर्फबाट निरन्तर प्रयास भइरहेको छ तर ठ्याक्कै निचोड आइसकेको छैन।”
आगामी माघ महिनाको शुरूमै नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली जाँदा खोपको विषय एउटा निष्कर्षमा पुग्नसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चिनियाँ खोपको भारतीय सञ्चारमाध्यममा चर्चा
द हिन्दुस्तान टाइम्सले यसै साता प्रकाशित गरेको एउटा समाचारमा मन्त्री ज्ञवालीले नयाँ दिल्लीबाट भारतमा उत्पादित खोपको एक करोड २० लाख मात्रा नेपालले पाउने स्पष्ट प्रतिबद्धता प्राप्त गर्ने अपेक्षा गरिएको उल्लेख गरेको छ।
उक्त खबरमा नेपाललाई चीनबाट सिनोभ्याक भनिने खोप आपूर्ति गरिने प्रस्ताव पनि आएको उल्लेख गर्दै नेपालले भारतमा निर्मित खोप आफ्नो रोजाइमा परेको बताइरहेको जनाइएको छ।
खोप आपूर्तिको विषयमा परराष्ट्र मन्त्री ज्ञवालीको आसन्न भ्रमणमा कुरा हुने दिल्लीस्थित राजदूत आचार्य पनि बताउँछन्।

तस्बिर स्रोत, EPA
उनी भन्छन्, “भारतबाट खोप उपलब्ध हुने विषयमा हामी आशावादी मात्रै होइन भरपर्दो रूपमा आशावादी छौँ।”
नेपाली अधिकारीहरूले खोप सम्बन्धी विश्वव्यापी गठबन्धन गाभीले अघिबढाएको कोभ्याक्स अभियान अन्तर्गत नेपालको कूल जनसङ्ख्याको अर्को २० प्रतिशतलाई खोप प्राप्त हुने बताइरहेका छन्।
तर उक्त खोप प्राप्त हुने समयका बारेमा अन्योल कायमै रहँदा नेपालले भारत सहितका देशसँग खोप उपलब्धताको सम्भावनाका बारेमा छलफल गरेको हो।
बीबीसी नेपालीको साप्ताहिक कार्यक्रम नेपाल सन्दर्भका लागि दिएको अन्तरवार्तामा बुधवार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिका बारेमा सरकारले काठमाण्डूस्थित भारत र रूसका राजदूतहरूसँग कुराकानी गरेको बताएका थिए।
उनले भने, “हिन्दूस्तानमा खोप शुरू भइसकेपछि अविलम्ब ल्याएर हामीकहाँ पनि खोप लगाउने कामलाई अभियानका रूपमा जारी गर्नका लागि आन्तरिक तयारी हामी युद्धस्तरमा गर्दैछौँ।”
मन्त्री त्रिपाठीका अनुसार तत्कालै खोप ल्याउन देखिएका कानूनी जटिलता सम्बोधन भइसकेका छन् भने सरकारले सातवटा प्रदेशमा एक एक र केन्द्रमा एक गरी आठवटा भण्डारण केन्द्र स्थापना गर्ने काम अघि बढाइएको छ।
कहिले प्राप्त होला खोप?
भारतसँग कुराकानी सकारात्मक रहेको बताउने एक जना परराष्ट्र मन्त्रालयका अधिकारी नाम उल्लेख नगर्ने सर्तमा दक्षिण एशियाका अन्य देशहरूले दिल्लीबाट खोप पाउने समयसीमाकै आसपासमा नेपालले पनि खोप प्राप्त गर्नसक्ने विश्लेषण गर्छन्।
तर स्वास्थ्यमन्त्री त्रिपाठी चाहिँ खुला सीमाना र नियमित आवतजावतका कारण नेपाल खोप आपूर्तिमा भारतको बढी प्राथमिकतामा पर्ने ठान्छन्।
उनले भने, “भारतीय राजदूतसँग यो बारेमा लामो छलफल भएको छ। उहाँले छिमेकीलाई खोप उपलब्ध गराउने भारतको नीति रहेको र नेपाल पनि प्राथमिकतामा छ भन्नुभएको छ। भारत र नेपालको नेपालको सीमाना खुला रहेकाले यदि सँगसँगै गर्न सकिएन भने यसले अर्कोलाई प्रभावित गर्ने अवस्था बन्छ।”
“भारत मात्रैले उत्तर प्रदेश, बिहारमा खोप लगाएर सुरक्षित रहने अवस्था बन्दैन। हाम्रो खुला सीमाना अवतजावत अन्तरसम्बन्ध आदि कुराले गर्दा पनि प्राथमिकतामा छ भनेर भारत सरकारको तर्फबाट उहाँले विश्वास दिलाउनुभएको थियो। त्यही आधारमा पनि हामी छिट्टै नै खोप ल्याउँछौ भन्ने विश्वास गरिरहेका छौँ।”
यसै साता श्रीलंकाको भ्रमण गरेका भारतीय विदेशमन्त्री एस जयशङ्करले कोभिड १९ को खोपको क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई भारतले आफ्नो जिम्मेवारीको रूपमा हेरेको बताएका थिए।
गएको जुलाई महिनामा नेपाल, अफगानिस्तान र पाकिस्तानका परराष्ट्रमन्त्रीसँगको भिडिओ कुराकानीमा चिनियाँ विदेशमन्त्रीले चीनमा उपलब्ध हुने बितिक्कै कोभिड-१९ विरूद्धको खोप तीनवटै देशमा उपलब्ध गराउने बताएका थिए।
नेपालको एउटा थोक विक्रेता कम्पनीसँग खोप आपूर्तिबारे सहमति गरिएको धारणा रूसका तर्फबाट केही महिनाअघि आएपछि अनुमति नै नपाएको खोपका बारेमा कसरी त्यस्तो निर्णय गरियो भनेर प्रश्नहरू उठेका थिए।
अक्सफर्ड-एस्ट्राजेनेकाको खोप ल्याउने इच्छा

तस्बिर स्रोत, Nepal Embassy
स्वास्थ्य मन्त्रालयलाई खोपको आपूर्ति सहितका विषयमा सल्लाह दिन गठित विज्ञ समितिका संयोजक डाक्टर श्यामराज उप्रेती नेपालले अक्सफर्ड र एस्ट्राजेनेकाको सहकार्यमा भारतमा उत्पादन भइरहेको खोप भित्र्याउन बढी अभिरुचि राखेको बताउँछन्।
उनले भने, “अहिलेसम्म भारतमा देखिएको र राम्रो उत्पादन भएको खोप भएकाले पाएसम्म अक्सफर्ड-एस्ट्राजेनेकाकै खोप ल्याउनुपर्छ भनेर हामीले भनिरहेका छौ। कोरोनाविरूद्ध विश्वव्यापी खोप अभियानमा कोभ्याक्समा आवद्ध भएको समयदेखि नै हामीले यो खोप सोचेका हौँ।”
स्थानीय स्तरमा भारत बायोटेकले निर्माण गरेको खोपको प्रभावकारिता सम्बन्धी तथ्याङ्क नआइ त्यसको आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको भन्दै कतिपय विज्ञहरूले आलोचना गरिरहेका छन्।
तर भारतका औषधि नियन्त्रक भीजी सोमानीले कोभ्याक्सिन सुरक्षित रहेको र त्यसले बलियो प्रतिरोधी प्रतिक्रिया दिलाउने उल्लेख गरेका छन्।
संसारभर उत्पादित ६० प्रतिशत खोप भारतमा बन्छ। भारतले आफ्ना नागरिकलाई यस वर्षको जुलाई महिनासम्म ३० करोड जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको विवरण आइरहेका छन्।








