कोरोना भाइरस: अस्पतालबाट निस्किएर ट्रम्प जब समर्थकहरू सामुन्ने पुगे

ट्रम्प

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन्।

आफूले 'आश्चर्यजनक भ्रमण' गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिए।

महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए।

यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए।

डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो।

ट्रम्पले लिएको शिक्षा

यो एक प्रकारको औषधि हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ।

डा. कोन्लीले ट्रम्पलाई कम्तीमा एक पटक अक्सिजन दिइएको बताए।

ट्वीटमा राष्ट्रपति ट्रम्पले आफ्नो निम्ति साँच्चिकै विद्यालय गए जस्तो भएको बताएका छन्।

उनले भनेका छन्, "यो साँच्चिकै विद्यालय जस्तो छ। यो किताबहरूको विद्यालय होइन्। मैले त्यो पाएँ र बुझेँ। साँच्चिकै चाखलाग्दो यसबारेमा तपाईँहरूलाई जानकारी गराउने छु।"

उनले कोरोनाभाइरस नियन्त्रणका निम्ति अपनाउनु पर्ने सावधानीको बेवास्ता गरेको भनि निकै आलोचना हुने गरेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस उपचार: चिकित्सकको सिफारिसबिना डेक्सामेथासोन प्रयोग नगर्न चेतावनी

उनले सामाजिक दूरी नराखेको र मास्क नलगाएको तस्बिरहरू देखिने गरेका थिए।

ट्रम्प सङ्क्रमित भएको कुरा शुक्रवार सार्वजनिक गरिएको थियो जसले उनको चुनावी अभियानलाई अन्योलमा पारिदिएको थियो। उनले नोभेम्बर ३ तारिखमा हुने चुनावमा डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनको सामना गर्नेछन्।

डाक्टरहरूले के भने?

वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टर पत्रकार सम्मेलनमा डा. कोन्लीले ट्रम्पलाई कोरोनाभाइरस पोजेटिभ देखिएयता दुई पटक अक्सिजनको मात्रा तल झरेको बताएका थिए।

उनका अनुसार पहिलो पटक ह्वाइट हाउसमै त्यसो भएको थियो, जब राष्ट्रपतिलाई उच्च ज्वरो आएको थियो। त्यसबेला उनको अक्सिजनको मात्रा ९४ प्रतिशतमा झरेको थियो। जबकी स्वस्थ मान्छेमा त्यो ९५ प्रतिशत वा त्योभन्दा बढी हुन्छ।

ट्रम्प

तस्बिर स्रोत, Reuters

उनले राष्ट्रपतिलाई करिब एक घन्टा अतिरिक्त अक्सिजन दिइएको र त्यसपछि साँझ वाल्टर रीड लगिएको जानकारी दिए।

अमेरिकी सञ्चार माध्यमहरूमा व्यापक रूपमा समाचार आइसकेका थिए र डा. कोन्लीले शनिवार बिभिन्न प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका थिए।

दोस्रो पटक शनिवार अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा तल झरेपछि उनलाई प्रश्न गरियो।

तर राष्ट्रपतिलाई अक्सिजन दिए-नदिएकोबारे उनले केहि बताएनन्। तर 'त्यसो गरिएको भए त्यो निकै सीमित भएको' जवाफ दिए।

उनले चिकित्सकहरूको समूहले राष्ट्रपति ट्रम्पलाई डेक्सामेथासोन दिने निर्णय गरेको बताए।

अध्ययनहरूमा उक्त औषधी अस्पताल भर्ना भएका कोभिड-१९ का गम्भीर बिरामीको स्वास्थ्यमा सुधार ल्याउन दिने गरेको देखिएको छ।