कोरोना भाइरस अमेरिका: कोभिड-१९ सङ्क्रमित डोनल्ड ट्रम्प यदि धेरै नै बिरामी परे भने राष्ट्रपतिको जिम्मेवारी को-को सम्म पुग्न सक्छ?

तस्बिर स्रोत, Getty Images
अमेरिकामा राष्ट्रपति पदको चुनाव हुन केही साता मात्र बाँकी छँदा डोनल्ड ट्रम्पमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
यसले अब के हुन्छ भन्दै थुप्रै प्रश्नहरू तेर्स्याएको छ।
राष्ट्रपतिले कुन चुनावी अभियान छुटाउन सक्छन्?
अक्टोबर १ मा कोरोनाभाइरस देखिएको दिनदेखि १० दिनसम्म ट्रम्प एकान्तबासमा बस्नुपर्नेछ।
त्यसैकारण अक्टोबर १५ मा तय गरिएको दोस्रो राष्ट्रपतीय बहसमा उनी सहभागी हुन सक्ने सम्भावना अझै जीवितै छ।
शुक्रवारका लागि फ्लोरिडामा तय गरिएको एउटा र्याली रद्द गरिएको छ।

तस्बिर स्रोत, Getty Images
उनले जोखिमयुक्त उमेर समूहका बरिष्ठ व्यक्तिहरूसँगको एउटा भिडिओ संवाद समेत रद्द गरे।
यसबीचमा ट्रम्पका लागि तय गरिएका अन्य र्यालीहरू समेत अहिलेलाई कि रद्द हुनेछन् या त पर सारिनेछन्।
कस्तो अवस्थामा चुनाव सर्न सक्छ?
ट्रम्पको एकान्तवासको समयले चुनावी अभियानमा उनको क्षमतामा असर पार्नेछ।
त्यसैले चुनाव सार्ने विकल्प र त्यसको प्रक्रियाका कुरा समेत चल्न थालेका छन्।
कानुनत: अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्येक चार वर्षमा नोभेम्बरको पहिलो सोमवारपछि आउने मङ्गलवार हुनेगर्छ।
त्यसरी नै यसको मिति यो वर्षको ३ नोभेम्बरलाई तय गरिएको हो।
तर चुनाव सार्ने कुरा राष्ट्रपतिको बसमा नभइ सांसद्हरूमा निर्भर छ।
त्यसको लागि अमेरिकी संसद्को दुवै सदनमा बहुमत आवश्यक पर्छ।

तस्बिर स्रोत, Getty Images
डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनको अवस्थाले गर्दा त्यस्तो सम्भावना न्यून देखिन्छ।
मिति परिवर्तन नै भएछ भने पनि राष्ट्रपतिको कार्यकाल चार वर्षमा सिमित रहन्छ।
जसले गर्दा २० ज्यानुअरी, २०२१ को मध्यान्नमा ट्रम्पको कार्यकाल स्वभाविक रूपमा सकिन्छ।
राष्ट्रपति ट्रम्प काम गर्न नसक्ने भएमा के हुन्छ?
हाललाई बताइए अनुसार ट्रम्पले 'सामान्य लक्षण'हरू अनुभव गरिरहेका छन्।
तर काम नै गर्न नसक्नेगरी उनी बिरामी परिरहे भने संविधानमा केही व्यवस्थाहरू छन्।
२५औँ संशोधनले राष्ट्रपतिलाई उपराष्ट्रपतिसमक्ष शक्ति हस्तान्तरणको बाटो खोलेको छ। जसको अर्थ माइक पेन्स कार्यवाहक राष्ट्रपति हुनेछन्।
ट्रम्प निको भएपछि पुन: काममा फर्कन सक्नेछन्।
यदि राष्ट्रपति निकै नै अस्वस्थ भएर शक्ति हस्तान्तरण गर्न सकेनन् भने मन्त्रिपरिषद् र उपराष्ट्रपतिले उनी काम जारी राख्न नसक्ने घोषणा गर्न सक्नेछन्।
र राष्ट्रपतिको भूमिका पेन्समाथि हुनेछ।
यदि माइक पेन्स पनि काम गर्न नसक्ने अवस्थामा पुगे भने राष्ट्रपतिलाई विस्थापित गर्ने एउटा कानुन अनुसार त्यो भूमिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीसम्म पुग्नेछ।
पेलोसी डेमोक्र्याट नेता भएकाले त्यस्तो अवस्था आएमा कानुनी असहजताहरू निम्तिन सक्ने संविधानविद्हरूको भनाइ छ।

तस्बिर स्रोत, Getty Images
यदि सभामुखले समेत काम गर्न नसकेमा राष्ट्रपति पद बरिष्ठ रिपब्लिकन सांसद्सम्म पुग्नेछ। जो यतिखेर ८७ वर्षीय चाल्स इ ग्रास्ले छन्।
यो अवस्थामा समेत कानुनी जटिलताहरू हुन सक्छन्।
के विगतमा राष्ट्रपतिहरू भूमिका छाडेर बसेका छन्?
सन् १९८५ मा राष्ट्रपति रोनल्ड रेगन क्यान्सर शल्यक्रियाका लागि अस्पतालमा भर्ना हुँदा उपराष्ट्रपति जर्ज एचडब्लु बुसलाई जिम्मेवारी दिएका थिए।
सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुसले आफ्ना उपराष्ट्रपतिलाई त्यसैगरी जिम्मेवारी सुम्पेका थिए।
जतिखेर बुस कोलोनोस्कोपी भनिने ठूलो आन्द्राको अवस्था बुझ्ने एउटा नियमित जाँचहरूमा सहभागी भएका थिए।








