महिला हिंसा: हुम्लामा 'दिसा खुवाइएकी, कालोमोसो दलिएकी र गाउँ निकाला गरिएकी' महिलाले बीबीसीसँग पोखेको पीडा

    • Author, कृष्णमाया उपाध्याय
    • Role, बीबीसी न्यूज नेपाली, जुम्ला

हुम्लामा एक महिलालाई दिसा खुवाएर गाउँनिकाला गर्ने काममा संलग्न भनिएका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई 'परपुरुषसँग लागेको' आरोपमा उनका श्रीमान्‌सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको बताइएको छ।

"शुक्रवार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नजाउन्जेलसम्म" दुर्व्यवहार गरिएको र दिसा समेत खुवाइएको पाइएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले बीबीसीलाई बताए।

"त्यसपछि उनका श्रीमान् सहित ७ जनालाई पक्राउ गरिएको हो।"

पीडित महिलाले आफूलाई पर पुरुषसँग लागेको आरोप लगाउँदै दिसा खुवाएर कपाल खौरनुका साथै कालो मोसो दलेर जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको बीबीसीसँग बताएकी छन्।

गाउँलेले खबर गरेपछि हुम्ला प्रहरी घटनास्थल पुगेर दुर्व्यवहारमा परेका व्यक्तिको उद्धार गरेको र घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

दुर्व्यवहारमा परेकी महिला के भन्छिन्?

आफ्नै देवर नाता पर्नेसँग टेलिफोनमा कुराकानी गर्दा उसैसँग लागेको र शारीरिक सम्बन्ध राखेको भनेर जिन्दगीभर सँगै जीवन बिताउने कसम खाएका आफ्नै श्रीमान् समेत लागेर कुटपीट गरे। शुक्रवार दिउसो गाउँका सबै मान्छेहरू एकै ठाउँ जम्मा भएर दिसा कोचाए। कपाल खौरिदिए। कालो मोसो दले। जुत्ताको माला लगाएर गाउँ निकाला गरिदिए। मेरा एक छोरा र एक छोरी छन्। छोरी दुई वर्षकी छ। उसलाई तीन दिनदेखि दूध समेत खुवाउन पाएकी छैन। गाउँ निकाला गरेको हुनाले गाउँमा पनि जान सकेकी छैन। प्रहरीको संरक्षणमा रहेकीले अहिले थप कुटपिट होला भन्ने चिन्ता त छैन। तर त्यसरी गाउँका सबै मानिसहरू लागेर अपहेलना र गाली बेइज्जत गरेकाले अब गाउँ कसरी जाने भन्ने सोचेर पीडा भएको छ।

उद्धार गरेर ल्याइएका पीडितलाई हुम्ला सदरमुकाम सिमकोटमा राखिएको र दोषीलाई कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक सुवेदीले बताए।

पीडित पक्षका परिवारले ती महिलालाई अब बुहारीको रुपमा स्वीकार गर्न नसक्ने भनिएको छ।

घटनाका प्रत्यक्षदर्शी तथा सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्य समेत रहेका विनोद विकले कपाल खौरेर कुटपिट भएको तर दिसा भने नखुवाएको बताएका छन्।

उनले "पीडित महिलाका श्रीमान्‌ले रिसको आवेगमा आएर आफ्नी श्रीमती र उनीसँग सम्बन्ध भएका व्यक्तिलाई कुटपिट गरेर गाउँ निकाला गरिएको स्वीकार गरेको" बताए।

आफूहरूले झगडा मिलाउन खोजेपनि गाउँघर र पीडित महिलाका परिवारका कसैले पनि पुन: बुहारीको रुपमा स्वीकार गर्न नमानेको उनको भनाइ छ।

"उनीहरूको झगडाले ठूलो रूप लिन सक्छ भन्ने डरले प्रहरीलाई आफै खबर गरेको" विनोद विकले बीबीसीसँग भने ।

पीडित महिलाका छोरा छोरीलाई हजुरआमाको साथमा राखिएको पनि उनले बताए ।