नेपाल पर्यटन: 'पछाडि नफर्कने' सरकारी नीति, के यतिखेर घुम्नु ठीक हो त

पर्यटक

कोरोनाभाइरस सङ्क्रमण बढे पनि नेपालमा पर्यटकीय गतिविधि सञ्चालन गर्न अब पछाडि नफर्किने आफूहरूको रणनीति रहेको नेपाल पर्यटन बोर्डका प्रमुखले बताएका छन्।

पर्यटकीय मौसम शरद् यामको मुखैमा सरकारले लकडाउन खुला गरेयता यतिखेर होटल तथा यात्रा व्यवस्थापन गर्ने कम्पनीहरूले विभिन्न प्याकेजहरू सार्वजनिक गरिसकेका छन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी भन्छन्, “आन्तरिक पर्यटकहरू लक्षित प्याकेजहरू सञ्चालन गरेर भए पनि तत्काललाई यस क्षेत्र धराशायी हुनबाट जोगाउन आवश्यक छ।”

कात्तिक १ गतेबाट विदेशी पर्यटकहरू समेत नेपाल आउने बाटो खुला गरिएको छ।

‘आन्तरिक पर्यटनले थेग्छ’

बहराइनको रोयल गार्ड्सको आरोहण दल यो वर्ष नेपालको हिमाल चढ्न लागेको पहिलो विदेशी टोली हो।

तस्बिर स्रोत, Seven Summit Treks

तस्बिरको क्याप्शन, बहराइनको रोयल गार्ड्सको आरोहण दल यो वर्ष नेपालको हिमाल चढ्न आएको पहिलो विदेशी टोली हो

पछिल्ला केही वर्षमा दश लाखको हाराहारीमा विदेशीहरू नेपाल घुम्न आएका थिए। नेपालीहरू पनि ठूलो सङ्ख्यामा बाहिर घुम्न गएको बोर्डका प्रमुख कार्यकारी रेग्मीले बताए।

“कम्तीमा त्यहीँ सङ्ख्यालाई नेपालमा घुमाउन सक्ने हो भने भने पनि नेपाली पर्यटन क्षेत्र बाँच्न सक्छ,” रेग्मीले भने।

“त्यसले नेपाली पर्यटनको आत्मविश्वास बचाइराख्न निकै ठूलो भूमिका खेल्छ।”

पछिल्ला केही वर्षमा विदेशीले नेपालमा खर्च गर्ने रकमभन्दा धेरै नेपालीले विदेश घुमघाममा खर्च गर्ने गरेको विवरण नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको थियो।

जसका कारण राष्ट्र ब्याङ्कले विदेश घुम्न जाँदा एक नेपालीले लैजान पाउने रकमको सीमा २,५०० डलरबाट घटाएर १,५०० मा झारेको थियो।

के पर्यटन खोल्नु सही हो?

पर्यटन बोर्डले सार्वजनिक गरेका पर्यटकीय गतिविधि सञ्चालन गर्ने निर्देशिकामा व्यावसायहरूलाई मानिसहरू संसर्गमा आउनपर्ने अवस्थाहरू घटाउने व्यवस्थाहरू गरिएको जनाइएको छ।

जसमा उल्लेख गरिएका केही व्यवस्था यस्ता छन्-

  • धेरै जनाले हातले छुनुपर्ने ठाउँहरू घटाउने। जस्तैः मुख्य ढोकाहरू खुलै राख्ने,
  • भर्चुअल चेक इनको व्यवस्था गर्नुपर्ने
  • आर्थिक कारोबार सक्दो डिजिटल माध्यमबाट गर्नुपर्ने
  • व्यायामशालाहरू हाललाई बन्द गर्ने
  • एउटा अतिथि गएपछि २४ घण्टा कोठालाई खाली राख्ने। सरसफाइ र निर्मलीकरण गरेपछि नयाँ व्यक्ति आउनुअघि थप २४ घण्टा बन्द गरेर राख्ने
  • प्रत्येक होटलले शङ्कास्पद सङ्क्रमितका लागि केही कोठा जगेडामा राख्नुपर्ने
  • कोठाहरूमा हावा आउजाउ गर्न मिल्नेगरी व्यवस्था मिलाउनुपर्ने
नेपालका लागि शरद् र वसन्त ऋणु पर्वतारोहण र पदयात्राका लागि प्रमुख मानिन्छन्।
तस्बिरको क्याप्शन, नेपालका लागि शरद् र वसन्त ऋणु पर्वतारोहण र पदयात्राका लागि प्रमुख मानिन्छन्।

तर उक्त निर्देशिका अनुकूल हुनेगरी खासगरी ग्रामीण पर्यटन वा पदयात्रा क्षेत्रका होटलहरूले सञ्चालन गर्न सक्ने अवस्था नहुने व्यावसायीहरूको भनाइ छ। जसले गर्दा त्यसको पालना राम्रोसँग नहुने चिन्ता समेत व्यक्त भइरहेका छन्।

कोरोनाभाइरसबारे थुप्रै महत्त्वपूर्ण अध्ययनहरू गरिराखेको अमेरिकाको मिनिसोटास्थित एउटा मेडिकल अध्ययन संस्थान तथा अस्पताल मेयो क्लिनिकका एक भाइरोलोजिस्ट डा. सुदीप खड्का सबैभन्दा बढी सचेत यात्रा गर्ने मानिसहरू नै हुनुपर्ने बताउँछन्।

उनी भन्छन्, “यो भाइरसको चरित्र नै धेरैजसोमा लक्षण नदेखिने भएकाले आफ्नो सम्पर्कमा आउने हरेक व्यक्तिमा सङ्क्रमण छ भन्ने सोचेर व्यवहार गर्नुपर्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ, लकडाउनमा हात्ती पाल्नै कठिन

अब खोप वा औषधि नै विकास भइरसकेको अवस्थामा समेत भाइरस निमिट्यान्न हुने अवस्था पार गरिसकेकोले यसबीचमै दैनिक व्यवहार गर्ने सुरक्षित अभ्यासहरू आवश्यक रहेको भाइरोलोजिस्ट डा. खड्का बताउँछन्।

उनका अनुसमर सरकारी मापदण्डको अनुगमन गर्ने काम निकै जटिल देखिएकाले हरेक व्यक्तिले मास्क मात्रै लगाउँदा र छ फिटको दूरी मात्रै कायम गर्दा धेरै हदसम्म सुरक्षित भइन्छ।

डा. खड्काको भनाइ छ, “यस भाइरसको व्यवहार बदलिने गरी उल्लेख्य म्युटेसन अहिलेसम्म नभएकाले यो झन् खतरनाक वा शिथिल के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।”

अडिओ क्याप्शन सुरु हुँदैछ, महामारीपछि पर्यटन क्षेत्र कति छिटो बौरेला

एकजना पर्यटनविज्ञ खेम लकाई भने यसबीचमा पर्यटन खोल्ने सरकारी कदमलाई होटल-लजका स्वास्थ्य मापदण्डलाई अब न्यूनतम स्थायी पूर्वाधारका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँछन्।