कोरोना भाइरस नेपालः सङ्क्रमितको सङ्ख्यामा सर्वाधिक वृद्धि, थप ११ जनाको मृत्यु

मङ्गलवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,४५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो एकै दिन पुष्टि गरिएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।

सो अवधिमा ११ जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५६,००० नाघेको छ।

सरकारका अनुसार अहिलेसम्म ३७१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

अहिले देशभरि १५,७७९ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,१३९ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ। त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये ४४६ महिला र १,०१३ पुरुष छन्।

केही समययता महिलाहरूमा सङ्क्रमण बढेको तथ्याङ्कले देखाउँछ। सङ्क्रमितहरू सबै उमेर समूहका भए पनि २१ देखि ४० वर्षसम्मका व्यक्तिको सङ्ख्या धेरै छ।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ गरी राजधानी उपत्यकामा ६७६ जना छन्।

त्यसैगरी मोरङमा १११, सिराहामा १६२, मकवानपुरमा ८७ र रूपन्देहीमा ५१ मा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमध्ये गम्भीर समस्या भएका १७४ जना सघन उपचारमा र २८ जना भेन्टिलेटरमा छन्।

को हुन् मृतक?

मन्त्रालयका अनुसार विभिन्न जिल्लामा चार महिला र सात पुरुषको विगत २४ घण्टाको अवधिमा कोभिड-१९ का कारण मृत्यु भयो।

उनीहरू ३४ देखि ९६ वर्षसम्मका छन्।

तीमध्ये काठमाण्डूका एक महिला र चार पुरुष हुन्। त्यसैगरी सर्लाही, सिराहा, मकवानपुर, रूपन्देही र कपिलवस्तुमा एक-एक जनाको मृत्यु भएको हो।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा १०,३७७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।

डा. गौतमका अनुसार सो अवधिमा सङ्क्रमितमध्ये थप १,०६२ जना कोभिड-१९ मुक्त भएका छन्।

अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।

सोमवार मन्त्रालयले १,१७० जनामा सङ्क्रमण र १५ जनाको मृत्यु पुष्टि गरेको थियो।

गत भदौ २६ गते मन्त्रालयले १,४५४ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो। त्यो यसअघि एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या थियो।