कोरोना भाइरस नेपाल: थपिए ९८० जना सङ्क्रमित, ९ को मृत्यु

बितेको २४ घण्टामा नेपालमा ९८० जना थप कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन् भने ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको सरकारले बताएको छ।

यसमध्ये काठमाण्डू उपत्यकामा मात्रै ३५४ जना सङ्क्रमित थपिएका छन्। काठमाण्डूमा २९० जना ललितपुरमा र भक्तपुरमा ३२/३२ जना थपिएका छन्।

अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४६,२५७ पुगेको छ।

गत चौबीस घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ। यो अवधिमा १०,३८२ जनामा पीसीआर परीक्षण गरिएको बताइएको छ।

कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत निको भएका छन्।

हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

को हुन् मृतक?

यो अवधिमा २ जना महिला र ७ जना पुरुष गरि ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको डा गौतमले बताए।

तीमध्ये मोरङ्गका ४५ वर्षीय एकजना पुरुष र ६४ वर्षीया एकजना महिला छन्।

त्यस्तै झापाकी ४५ वर्षीया एकजना महिला अनि धनुषाका ३५ वर्षीय एक पुरुष छन्। पर्साका ७७ वर्षीय पुरुष तथा चितवनका ७० वर्षीय पुरुषको पनि ज्यान गएको छ।

काठमाण्डूका ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय गरि तीन पुरुषको पनि निधन भएको छ।

थप जानकारी के छन्?

हाल देशभरिमा संस्थागत आइसोलेशनमा ९२०१ जना तथा घरमै 'होम' आइसोलेशनमा ७८२६ जना रहेका छन्।

क्वारन्टीनमा ४७०३ जना रहेको बताइएको छ।

पाँचसय भन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ्ग, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाण्डू, ललितपुर, भक्तपुर, चितवन तथा रुपन्देही रहेका छन्।

सक्रिय सङ्क्रमित शुन्य रहेका जिल्लाहरूमा सोलुखुम्बु, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला रहेका छन्।