कोरोना भाइरस नेपाल: लगातार पाँचौँ दिन हजारभन्दा बढी सङ्क्रमित, थप ९ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Creative

विगत २४ घण्टामा नेपालमा थप १,०४१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी भएको यो लगातार पाँचौँ दिन हो भने विगत १० दिनमा सातौँ पटक हो।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४५,२७७ पुगेको छ।

अहिलेसम्म २७,१२७ सङ्क्रमित निको भइसकेका छन् भने २८० जनाको मृत्यु भएको छ।

बिहीवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १७,८७० सक्रिय सङ्क्रमित भएको बताए।

तीमध्ये ८,००४ जना घरमै र ९,८६६ जना संस्थागत आइसोलेशनमा छन्।

गएको पाँच दिनमा ५,८१७ सङ्क्रमित थपिएको, ५,७१७ जना निको भएको र ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोरोनाभाइरस

को हुन् सङ्क्रमितहरू?

अहिले थपिएका सङ्क्रमित विभिन्न जिल्लाका हुन्।

नयाँ सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकाका ४०८ जना छन्।

तीमध्ये काठमाण्डूका ३२६ जना, ललितपुरका ३७ जना र भक्तपुरका ४५ जना छन्।

त्यसैगरी रूपन्देहीमा ७१ जना सङ्क्रमण देखिएको छ।

थपिएका सङ्क्रमितमध्ये ६९२ जना पुरुष छन्।

मृतक को हुन्?

मृतकहरूमध्ये तीनजना काठमाण्डू जिल्लाका रहेका छन्। ती सबै पुरुष र ४१ देखि ६५ वर्षका रहेका छन्।

अन्य मृतकहरूमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासी पूर्वकी ३५ वर्षीया महिला हुन्।

त्यस्तै पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रूपन्देहीका ४० वर्षीय पुरुषको पनि सोही अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क?

सो अवधिमा १,५६६ सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

अहिलेसम्म पुष्टि भएकामध्ये झन्डै ६० प्रतिशत अर्थात २७,१२७ सङ्क्रमितहरू निको भइसकेका छन्।

देशभरि क्वारन्टीनमा ६,७४९ जना छन्।

अघि भदौ १७ गते १,१२० जनामा, भदौ १४ गते १,२२१ जनामा र भदौ ११ गते १,१११ जनामा देखिएको पुष्टि गरेको थियो।

त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर