नेपालमै बन्छ कुखुरामा रोग लगाउने एक प्रजातिको 'कोरोनाभाइरस' विरुद्ध खोप

खोप

तस्बिर स्रोत, COURTESY: Sulochana Shrestha

अहिले विश्वका शक्तिराष्ट्रहरू मानिसलाई सङ्क्रमण गर्ने कोरोनाभाइरसविरुद्ध खोप बनाउने होडबाजीमा लागेका छन्।

तर के तपाईँलाई थाहा छ? कुखुरामा पनि एकखाले कोरोनाभाइरस सङ्क्रमण हुन्छ।

र, त्यसले निम्त्याउने रोगको नाम हो - एभियन् इन्फेक्शस् ब्रोङ्काइटिस् अर्थात् आईबी।

यद्यपि त्यसबाट मानिसले डराउनुपर्ने कुनै कारण छैन किनकि पशु चिकित्सकका अनुसार उक्त रोग कुखुराबाट मान्छेमा सर्दैन र कुखुराका लागि पनि खोप बनिसकेको छ।

त्यति मात्र होइन, नेपालमै निजी क्षेत्रबाट कुखुरामा लाग्ने उक्त रोगविरुद्ध खोप उत्पादन भइरहेको छ।

सरकारीस्तरबाट पनि यसै आर्थिक वर्षमा परीक्षण उत्पादन गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

कुखुरामा लाग्ने रोग के हो?

अधिकारीहरू र कुखुरा व्यवसायीहरूका अनुसार आईबी रोग "एक प्रजातिको कोरोनाभाइरसका कारण" लाग्ने गर्छ।

यो कुखुरामा लाग्ने श्वासप्रश्वाससम्बन्धी रोग नै हो। तर यो रोगका कारण उमेर पुगेका कुखुरा मर्दैनन्।

खोप

तस्बिर स्रोत, National Vaccine Production Laboratory Nepal

तस्बिरको क्याप्शन, त्रिपुरेश्वरस्थित सरकारी प्रयोगशालामा पशुपक्षीको खोप परीक्षण तथा उत्पादन हुन्छ

चल्लालाई लागेमा भने केही मात्रामा मर्ने सम्भावना हुने उनीहरूको भनाइ छ।

आईबी लागेपछि कुखुराको उत्पादन क्षमतामा कमी आउँछ।

त्यसैले व्यवसायीहरूले अण्डा पार्नका लागि पालेका कुखुराका लागि भने यो रोगविरुद्ध खोप लगाउने गर्छन्।

पोल्ट्री व्यवसायी पशु चिकित्सक डा. तिलचन्द्र भट्टराई भन्छन्, "यो कुखुरामा लाग्ने 'माइल्ड' खालको रोग हो। यसले कुखुरालाई मार्ने होइन, उत्पादन घटाउने हो।"

"विशेषगरी अण्डाको गुणस्तर पनि खस्कन सक्छ। त्यसैले यो खोप लेयर्समा लगाइन्छ। यो कुखुराबाट मान्छेमा सर्दैन। कसैले डराउनुपर्ने अवस्था छैन।"

"मानवमा लाग्ने कोरोनाभाइरसँग यसको कुनै सम्बन्ध नै छैन।"

पशुपक्षीका लागि खोप उत्पादन गर्ने सरकारी निकाय राष्ट्रिय खोप उत्पादन प्रगोगशालाका प्रमुख डा. उमेश दाहालका अनुसार पनि यो "कोरोनाभाइरसको मानवमा लाग्ने कोरोनाभाइरससँग कुनै सम्बन्ध" रहेको छैन।

उनी भन्छन्, "यो एक प्रकारको कोरोनाभाइरसका कारण कुखुरामा लाग्ने रोग हो। तर यसको धेरै अघि खोप बनिसकेको छ र अहिले विश्वभरि प्रयोग भइहरेको छ।"

"यो रोग कुखुरामै लाग्ने अन्य कतिपय कडा रोगजस्तो पनि होइन। यसले उत्पादन क्षमता मात्र कम गर्ने हो।"

उनीहरूका भनाइमा विश्वमा धेरैखाले कोरोनाभाइरस पाइएका छन्।

कुखुरामा आईबी रोग निम्त्याउने कोरोनाभाइरस पनि त्यस्तैमध्ये एउटा प्रकारको मात्र हो।

खोप उत्पादनको सरकारी तयारी

अन्य देशमा धेरै पहिलेदेखि उत्पादन भइरहेको आईबी रोगविरुद्ध खोप नेपालमा पनि एउटा निजी कम्पनीले उत्पादन गरिरहेको जनाएको छ।

सरकारी तहबाट भने हालसम्म उक्त खोप उत्पादन हुन सकेको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस रोक्ने खोप कहिले आउला

तर यसैवर्ष परीक्षण उत्पादन गर्न लागिएको दाहालले जानकारी दिए।

उनले भने, "त्यसका लागि आवश्यक पर्ने एसपीएस भनिने एकखाले अण्डा ल्याउन केही दिनभित्रै टेन्डर आह्वान गर्न लागेका छौँ।"

"यो आर्थिक वर्षभित्र परीक्षण उत्पादन गरेर अर्को वर्ष व्यवसायीक उत्पादन थाल्ने तयारी छ।"

निजी उत्पादन

नेपालमा चार वर्षदेखि पशुपक्षीका खोप उत्पादन गर्न थालेको निजी क्षेत्रको हेस्टर बायोसाइन्सेज नेपालले भने आईबी रोगविरुद्ध खोप पनि बनाइरहेको जनाएको छ।

उक्त कम्पनीकी प्रमुख कार्यकारी अधिकृत डा. सुलोचना श्रेष्ठका अनुसार उक्त कम्पनीले हाल आईबीविरुद्ध एउटा सुषुप्त खालको खोप बनाएको छ।

त्यस्तै अर्को चाहिँ अन्य रोगसहित आईबीविरुद्ध पनि काम गर्ने गरी मिश्रित खोप उत्पादन गरिरहेको छ।

खोप

तस्बिर स्रोत, COURTESY: Sulochana Shrestha

तस्बिरको क्याप्शन, नेपालमा अहिले पशुपक्षीका लागि प्रयोग गरिने खोप मात्र उत्पादन गरिन्छ

"हामीले आईबीविरुद्ध जीवित भाइरसयुक्त एउटा खोपको पनि परीक्षण गरिसकेका छौँ। सबै प्रक्रिया पुगेपछि त्यो पनि चाँडै बजारमा आउँछ।"

कुखुरामा खोप कसरी दिइन्छ?

पशु चिकित्सकसमेत रहेका राष्ट्रिय खोप उत्पादन प्रगोगशालाका प्रमुख दाहालका अनुसार कुखुरालाई पानीमा मिसाएर, आँखामार्फत् वा सुईकै माध्यमबाट पनि खोप दिने गरिन्छ।

उनी भन्छन्, "लाइभ अर्थात् जीवित खोप छ भने त्यसलाई सुईकै माध्यमबाट पनि दिने चलन छ।"

"मिश्रित (कम्बाइन्ड) खोपलाई पानीमा मिसाएर खुवाउने चलन पनि छ। कतिपय खोप कुखुराको आँखामा राखिदिने पनि गरिन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?