कोरोना भाइरस उपचार: कोभिड-१९ को खोप परीक्षणसँगै बनाउन सघाउने 'रुसी प्रस्ताव', के नेपालमा उत्पादन हुनसक्ला?

खोप

तस्बिर स्रोत, COURTESY: Sulochana Shrestha

तस्बिरको क्याप्शन, नेपालमा अहिले पशुपक्षीका लागि प्रयोग गरिने खोप मात्र उत्पादन गरिन्छ
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

केही दिनअघि नेपालका लागि रुसका राजदूतले नेपाललाई "आफूहरूले उत्पादन गरेको खोप उत्पादनमा सहयोग गर्नसक्ने" प्रस्ताव राखेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक अधिकारीले बताएका छन्।

कोरोनाभाइरसविरुद्ध रुसमा विकसित खोप नेपालमा तेस्रो चरणको परीक्षण गर्ने प्रस्ताव राख्ने क्रममा रुसी राजदूतले उत्पादनमा पनि सहयोग गर्न सक्ने बताएको ती अधिकारीको भनाइ छ।

तर खोपको उत्पादन प्रक्रियाबारे जानकार अधिकारीहरू र औषधि एवम् खोप उत्पादकहरूले चाहिँ "रुसले प्राविधिक सहयोग गरे पनि" तत्कालै स्वदेशमै खोप उत्पादनको सम्भावना न्यून रहेको बताएका छन्।

उनीहरूका भनाइमा "सरकारी वा निजी स्तरबाट" अहिल्यै मानवमा प्रयोग गर्ने खोप उत्पादन गर्न सक्ने क्षमतामा नेपाल छैन।

के हो रुसको प्रस्ताव?

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार गत सोमवार रुसले विकास गरेको खोपको नेपालमा परीक्षण गर्नेबारे नेपालस्थित रुसी राजदूतसँग छलफल भएको थियो।

राजदूतले उक्त खोपको नेपालमा १,००० जनामा तेस्रो चरणको परीक्षण गर्न प्रस्ताव गरेका थिए।

त्यस क्रममा उनले रुसले नेपालले चाहेमा "खोप उत्पादनमा पनि सहयोग गर्ने" प्रस्ताव गरेको ज्ञवालीले बताए।

बीबीसीसँग कुरा गर्दै उनले भने, "रुसीहरूले उत्पादनसम्म गरिदिन सकिन्छ भनेका छन्। तर हाम्रो कुराकानी प्रारम्भिक चरणमा रहेको छ। अहिलेसम्म नेपालमा त्यस्ता खोपको उत्पादन भएको छैन। कसैले उत्पादन गर्न चाहेमा अब त्यसलाई अघि बढाउन सकिन्छ।"

तर अहिलेसम्म कोभिड-१९ विरुद्ध कुनै पनि खोपको परीक्षण गर्ने औपचारिक प्रस्ताव परिषद्अन्तर्गत रहेको एथिकल रिभ्यू बोर्डमा नआएको त्यसका अध्यक्ष प्रा. डा. प्रकाश घिमिरेले बताए।

उक्त बोर्डले अनुमति दिएपछि मात्र परीक्षण गर्न पाइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस रोक्ने खोप कहिले आउला?

नेपालमा कोरोभाइरसविरुद्ध खोप बन्ने सम्भावना कति छ?

अधिकारीहरू र उत्पादकहरू नेपालमा तत्कालै मानवमा प्रयोग हुने खोप उत्पादनको सम्भावना न्यून भएको बताउँछन्।

त्रिभुवन विश्वविद्यालयसँग आबद्ध खोपबारे जानकार प्रा. घिमिरे नेपालमा खोप उत्पादन गर्न औद्योगिक पूर्वाधार नै नभएको र त्यो तत्काल बनाउन नसकिने औँल्याउँछन्।

"रुसले राखेको प्रस्ताव सैद्धान्तिक रूपमा राम्रो हो। तर कोभिड-१९ विरुद्ध खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न पाँच वर्षजति लाग्छ र त्यसका लागि १०-३० अर्ब डलर लगानी चाहिन्छ," उनले भने।

"यदि (रुसी प्रस्तावअनुसार) खोप बनाउने हो भने सरकारले आफैँ गर्ने हो कि स्थानीय उद्योगीलाई सहभागी गराउने हो त्यो निर्णय गर्नुपर्छ।"

खोप

तस्बिर स्रोत, COURTESY: Sulochana Shrestha

तर त्यो दीर्घकालीन योजना मात्र हुनसक्ने उनको धारणा छ।

प्रा. घिमिरेसँग हेस्टर बायोसाइन्सेज नेपाल प्रालिका सञ्चालक उद्योगी शेखर गोल्छा पनि सहमत छन्।

उनी तत्कालै नेपालमा मानवमा प्रयोग हुने खोप उत्पादनको सम्भावना नरहेको बताउँछन्।

उनले भने, "हामीसँग मानव खोप निर्माणका लागि न विशेषज्ञता छ न क्षमता। अहिलेकै 'प्लान्ट'लाई मानव खोप विकासमा लान सम्भावन छैन। तर हामीले यो कुरा आएपछि (नेपाल खोप विकासमा रुसले सहयोग गर्ने) हाम्रा वैज्ञानिकहरूलाई अनुसन्धान गर्न भनेका छौँ। किनकि हाम्रो भारतीय साझेदारले यसबारे काम गरिहरको छ।"

कस्तो परिस्थतिमा नेपालमा खोप बन्न सक्ला?

सरकारले सहयोग गरे मानवमा प्रयोग गरिने खोप उत्पादन गर्न सकिने एसोशिएसन अफ फार्मसूटिकल प्रोडक्टस अफ नेपाल (एप्पोन) का अध्यक्ष नारायण क्षेत्रीको छ।

उनले भने, "कम्पनीहरू छन्, यदि प्रविधि ल्याइदियो र सहयोग पाइयो भने उनीहरूले उत्पादन गर्न सक्छन् भन्ने लाग्छ मलाई।"

उनका अनुसार अहिले पनि तीनवटा उद्योगले सुईबाट दिइने औषधिहरू बनाइरहेका छन्।"

त्यस्तै औषधि उत्पादन गरिरहेको एउटा उद्योग लोमस फर्मासूटिकल्सका कार्यकारी निर्देशक प्रज्वलजङ्ग पाण्डे "तत्कालै उत्पादन गर्ने अवस्था नरहेको" बताउँछन्।

अर्को औषधि उद्योग देउराली जनता फार्मसूटीकल्सका सञ्चालक हरिभक्त शर्माका भनाइमा नेपालमा केही गरी खोप उत्पादन भइहाले पनि त्यसले बजार नपाउने भएकाले उत्पादनमा लगानी गर्न कोही पनि उत्साहित छैनन्।

उनी खोपका लागि ठूलो लगानी चाहिने भएकाले त्यसको उत्पादन सहज छैन।

नेपालमा कस्ता खोप बन्छन्?

अधिकारीहरू तथा उत्पादकहरूका अनुसार नेपालमा अहिलेसम्म मानिसमा प्रयोग हुने कुनै फनि खोप बन्ने गरेको छैन।

खोप

तस्बिर स्रोत, COURTESY: Sulochana Shrestha

तस्बिरको क्याप्शन, काभ्रेमा रहेको एउटा खोप उद्योग

तर "सुईका माध्यमबाट मानिसमा दिइने अन्य औषधि" र पशुपक्षीमा लगाइने खोपहरू भने नेपालमा बन्ने गरेका छन्।

औषधि उत्पादकहरूका अनुसार नेपालमा हाल सञ्चालनमा रहेका ६२ वटा औषधि उद्योगमध्ये तीनवटाले सुईका माध्यमबाट मानिसमा दिइने औषधि उत्पादन गरिरहेका छन्।

पशुपक्षीमा प्रयोग हुने केही खोप उल्लेख्य मात्रामा उत्पादन हुने र विदेशमा पनि निर्यात हुने गरेको छ।

सरकारी अधिकारीहरू र उत्पादकहरूका अनुसार अहिले सरकारी स्तरबाट एउटा प्रयोगशाला र एउटा निजी उद्योगबाट मात्र उत्पादन भइरहेको छ।

अर्को एउटा निजी कम्पनीले उत्पादन सुरु गर्ने तरखर गरिरहेको बुझिएको छ।

पशुपक्षीका लागि खोप उत्पादन गर्ने सरकारी निकाय राष्ट्रिय खोप उत्पादन प्रगोगशालाका प्रमुख डा. उमेश दाहालका अनुसार बर्सेनि सरकारी स्तरबाट नेपालमा साढे चार करोड मात्रा (डोज) खोप उत्पादन हुने गरेको छ।

उनले भने, "हामीले गाई, भैँसी, भेडा, बाख्रा, कुकुर, बिरालोलगायतका घरपालुवा जनावरसहित कुखुराका लागि पनि खोप उत्पादन गर्छौँ। हाल हामीले १४ प्रकारका खोप बनाइरहेका छौँ।"

सबै खोपहरू ब्याक्टेरिया र भाइरसजन्य रोगविरुद्ध हुन्।

कहाँ निर्यात हुन्छ?

चार वर्षदेखि पशुपक्षीका खोप उत्पादन गर्न थालेको निजी क्षेत्रको हेस्टर बायोसाइन्सेज नेपाल प्रालिकी प्रमुख कार्यकारी अधिकृत डा. सुलोचना श्रेष्ठका अनुसार उक्त कम्पनीले हाल १४ वटा खोपको उत्पादन र बजारीकरण गर्न पाउने अनुमति पाएको छ।

त्यस्तै अन्य ९ वटा खोपको भने उत्पादनको अनुमति पाएको छ। त्यसमध्ये एउटा औषधि ब्याक्टेरियल र अरु सबै भाइरल हुन्।

खोप

तस्बिर स्रोत, National Vaccine Production Laboratory Nepal

तस्बिरको क्याप्शन, त्रिपुरेश्वरस्थित सरकारी प्रयोगशालामा पशुपक्षीको खोप परीक्षण तथा उत्पादन हुन्छ

उनका अनुसार कम्पनीले अधिकांश खोप कुखुराका लागि र केही भेडाबाख्राका लागि बनाउँदै आएको छ।

"हामीले बनाएको खोप नेपालमा मात्र होइन विदेशमा पनि खपत भइरहेको छ," उनले भनिन्, "साउदी अरब, अफगानिस्तान, यूएई, भुटानसहित अफ्रिकी मुलुकहरूमा हाम्रो खोप निर्यात हुन्छ।"

उक्त कम्पनीले वार्षिक एक अर्ब २० करोड डोज खोप उत्पादन गर्ने गरेको उनले बताइन्।

नेपालमा किन मानिसलाई दिइने खोप बन्दैन?

डा. दाहालका अनुसार प्रयोगशालाले पहिले मानिसमा लगाउने रेबीजविरुद्धको खोप पनि बनाउने गरेको थियो।

उक्त खोप नाइटोवरिपरि लगाइने गर्थ्यो।

तर विश्वभरि प्रविधि परिवर्तन भएपछि उक्त खोप बनाउन बन्द गरिएको उनले बताए।

डा. दाहालले भने, "हामीले सन् २००६ सम्म उक्त खोप बनाएका थियौँ। त्यसपछि भने बन्द गर्‍यौँ। अहिले मानवमा प्रयोग हुने खोप बनाएका छैनौँ।"

तर जनावरमा प्रयोग हुने रेबीजविरुद्धको खोपमा भने आगामी तीन वर्षभित्र आत्मनिर्भर हुनेगरी काम गरिरहेको उनले बताए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार एउटा कम्पनीले नेपालमै सर्पदंशको खोप अर्थात् 'एन्टीस्नेक भेनम' बनाउने अनुमति पाएको छ।

तर अहिलेसम्म पनि उक्त कम्पनीले औषधि उत्पादन गर्न नसकेको जानकारी उनले दिए।

त्यसबाहेक खोप वा खोपजस्ता सामग्री उत्पादनका लागि कुनै पनि कम्पनीले आवेदन दिएका छैनन्।

मानिसलाई दिइने खोप निर्माण गर्ने प्रविधि निकै महँगो भएको र गुणस्तर कायम गर्ने काम चुनौतीपूर्ण भएकाले अहिले कुनै पनि खोप नेपालमा उत्पादन नगरिएको विज्ञहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबारे थाहा भएका पाँच कुरा