कोरोना भाइरसः कोभिड-१९ फैलिने जोखिम थाहा पाउन जर्मनीमा साङ्गीतिक कार्यक्रम

साङ्गीतिक कार्यक्रम

तस्बिर स्रोत, Getty Images

जर्मनीमा सङ्गीतका पारखी र साङ्गीतिक कार्यक्रममा जान रुचाउनेहरू यो सप्ताहान्तमा एउटा रमाइलोका लागि तम्तयार थिए।

यो युरोपेली देशका वैज्ञानिकहरूले कोरोनाभाइरस महामारीको समयमा बृहत् कार्यक्रममा भाइरस सङ्क्रमणको जोखिमबारे अध्ययन गर्न एकै दिन तीनवटा कन्सर्टको आयोजना गराएका छन्।

करिब १,५०० स्वस्थ स्वयंसेवीहरूले त्यसमा सहभागिता जनाए। यो सङ्ख्या अपेक्षा गरिएकोभन्दा एक तिहाइ मात्रै हो।

तर हाल विश्वविद्यालयले लेइपजेमा गरेको अध्ययनका प्रमुखले "कार्यक्रम जसरी भयो त्यसबाट आफू एकदमै सन्तुष्ट भएको" बताएका छन्।

लोकप्रिय गायक तथा गीतकार टिम बेन्ड्ज्को तीनवटै कार्यक्रममा प्रस्तुति दिए।

एप्रिल महिनाको अन्त्ययता जर्मनीमा सबैभन्दा बढी सङ्क्रमित देखिएकै बेला यो अध्ययनबारे सार्वजनिक भएको हो।

विगत २४ घण्टामा जर्मनीमा २,००० जनाभन्दा बढी सङ्क्रमित देखिएका छन्।

रोबर्ट कोच इन्स्टिट्युटका अनुसार योसँगै जर्मनीमा सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या २,३२,०८२ पुगेको छ।

साङ्गीतिक कार्यक्रम

तस्बिर स्रोत, Getty Images

भिडमाथि प्रयोग

रिस्टार्ट-१९ नाम दिइएको अध्ययनका अनुसन्धानकर्ताहरूले भनेका छन्, “महामारीको बेलामा पनि कस्तो अवस्थामा यस्ता कार्यक्रम गर्न सकिन्छ भन्नेबारे बुझ्न कार्यक्रम गरिएको हो।”

र फरक-फरक अवस्था बनाएका शनिवारका तीनवटै साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियो।

महामारी शुरू हुनुभन्दा अघिको परिकल्पना गरी सुरक्षाका कुनै उपायविनै पहिलो कार्यक्रम गरिएको थियो।

दोस्रो कार्यक्रम सरसफाइ र सामाजिक दूरीसम्बन्धी नियमको पालना गरी गरियो भने तेस्रो कार्यक्रममा आधा मानिसहरू सहभागी भए जो एकअर्कासँग डेढ मिटरको दूरी कायम गर्दै उपस्थित भए।

साङ्गीतिक कार्यक्रम

तस्बिर स्रोत, Getty Images

सबै सहभागीहरूको कोभिड-१९ परीक्षण गरिएको थियो भने उनीहरूलाई मास्क दिइएको थियो र दूरी कायम गरेको हेर्न ट्रेसिङ्ग यन्त्र दिइएको थियो।

”हामीसँग राम्रो तथ्याङ्क छ, मनस्थिति राम्रो छ र मास्क लगाउने कुरामा पालना गरिएको अनुशासन र निस्सङ्क्रमण गरिएको कुराबाट हामी एकदमै सन्तुष्ट छौँ,” अध्ययनकर्ता डा. स्टिफन मोरित्जले भने।

फेरि मञ्चमा

कार्यक्रमहरू आफूले अपेक्षा गरेभन्दा राम्रो भएको गायक बेन्ड्ज्को बताउँछन्।

“हामीले साँच्चिकै रमाइलो गर्‍यौँ। आश्चर्यलाग्दो तरिकाले राम्रो महसुस गर्‍यौँ,” उनले थपे।

“मलाई आशा छ यी अध्ययनका नतिजाले दर्शकहरूको अगाडि साँच्चिकै साङ्गीतिक कार्यक्रम गर्नका लागि सघाउने छन्।”

अध्ययनको प्रारम्भिक नतिजा छिटै आउने अपेक्षा गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेपाल: रगत सङ्कलन नहुँदा बिरामी मर्कामा