कोरोना भाइरस भारत: अमेरिकाको कीर्तिमान भङ्ग गर्दै भारतमा एकैदिन अहिलेसम्मकै उच्च सङ्क्रमण

भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च सङ्क्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन्।

यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक सङ्क्रमण पाइएको थियो।

दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमश: हटाइरहँदा त्यस्तो वृद्धि देखिएको हो।

आइतवार विश्वमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड-१९ भएर ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४३ हजार पुगेको छ।

जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख सङ्क्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ।

अबको चिन्ता: ग्रामिण क्षेत्र

धेरै ग्रामिण क्षेत्रमा कोभिड-१९ वृद्धिको क्रम देखिनु यतिखेर मुख्य सरोकार बनेको छ।

मुटुरोग विशेषज्ञ मनोज कुमारले समाचार संस्था रोयटर्सलाई भने, "यस्तो उच्च वृद्धि देखिनुको कारण सङ्क्रमण ग्रामिण भेगमा फैलिनु हो।"

कोभिड-१९ को महामारी सुरु हुँदा भारतको अवस्था ठिकठिकै थियो। त्यसबेला कडा लकडाउन गरिएको थियो।

तर भाइरस साना सहर वा गाउँमा फैलनुअघि मुम्बई र दिल्लीजस्ता ठूला सहरमा देखिन थाले।

प्रतिबन्ध खुकुलो पार्न जोड

तैपनि सरकारले प्रतिबन्ध खुकुलो पार्न चाहिरहेको देखिन्छ।

अर्को महिनाबाट मास्क र सामाजिक दूरी कायम राख्दै एक सयजनासम्म भेला हुन पाइने सांस्कृतिक, मनोरञ्जन र खेलकुदका गतिविधि सञ्चालन हुने छन्।

ठूला सहरहरूमा भूमिगत रेल सञ्जाल समेत सुरु हुनेछन्।

मेदान्त डिभिजन अफ पेरिफेरल भास्कुलर एण्ड इन्डोभास्कुलर साइन्सेजका अध्यक्ष डा. राजिव परेखले रोयटर्सलाई भने, "सङ्क्रमितको सङ्ख्या घट्दा, जुन घटेको पनि थियो, मानिसहरूले युद्ध जितेझैँ ठाने… सबैजना मास्क नलगाएर अनि सामाजिक दूरी कायम नराखी बाहिर आउन थालेका थिए। "त्यसो गर्न दिइनु हुँदैनथ्यो।"

चिकित्सकहरूले सीमित परीक्षण र थाहा नभएका सङ्क्रमण अझै मुख्य चुनौती रहेको बताउने गरेका छन्।

भारतको खास अवस्था

भारतमा भएको झन्डै ६३ हजारजनाको मृत्यु करिब मेक्सिकोको बराबर हो।

तर भारतको ३५ लाख सङ्क्रमणको तुलनामा उक्त मध्य अमेरिकी राष्ट्रको सङ्क्रमण पाँच लाख ९१ हजार मात्र छ।

भारत सरकारले मृत्युको विवरण सङ्क्रमितहरूको सङ्ख्यासँग जोडेर मात्र हेर्ने गर्छ। उसले शङ्कास्पद सङ्क्रमणका हकमा त्यो केलाउँदैन।

परीक्षणका बिषयमा भाइरोलोजिस्ट शाहिद जमिलले समाचार संस्था एएफपीलाई भने, "भारतमा प्रति १० लाख मानिसमा ३० हजारजतिको मात्र परीक्षण हुनेगरेको छ जुन भाइरस प्रभावित शीर्षस्थ १० मुलुकहरूमध्ये दोस्रो सबैभन्दा कम हो।"

तर आफ्नो मासिक रेडियो सम्बोधनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले वृद्धिको पछिल्लो तहलाई उल्लेख नगरीकनै नागरिकहरूलाई नियम पालना गर्दै एकताबद्ध हुन आह्वान गरेका थिए।