कोरोना भाइरस नेपाल: देशभरि सङ्क्रमितको कुल सङ्ख्या ३२ हजार नाघ्यो, अहिलेसम्म १५७ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY

नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

थपिएका सङ्क्रमितमध्ये २२४ जना काठमाण्डू उपत्यकाका रहेको जानकारी दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

यससँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १५७ र सङ्क्रमितको कुल सङ्ख्या ३२,६७८ पुगेको छ।

अहिले देशभरि १३,७१५ जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताए।

कोरोनाभाइरस

सङ्क्रमितहरूमध्ये ४,५६१ जना घरमै र बाँकी ९,१५४ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

को हुन् मृतक?

मन्त्रालयका अनुसार कोभिड-१९ पुष्टि भएका मृतकहरू सुनसरी, मोरङ, पर्सा र काठमाण्डू र रूपन्देही जिल्लाका हुन्। रूपन्देहीमा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको पुष्टि भएको हो।

काठमाण्डू र पर्सामा पनि एक-एक महिला र सुनसरी र मोरङमा एक-एक पुरुष गरी थप चार जनाको मृत्यु भएको मन्त्रालयले तथ्याङ्कले देखाउँछ।

मृतकमध्ये एक जना ३८ वर्ष र बाँकी सबै ४८ देखि ७० वर्षसम्मका थिए।

कोरोनाभाइरस

को हुन् सङ्क्रमित?

अहिले थपिएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये २४६ जना महिला र ४९७ जना पुरुष छन्।

काठमाण्डू जिल्लामा १७७ सहित उपत्यकामा २२४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले बताएको छ।

त्यसैगरी बारामा ९४, कैलालीमा ७९, पर्सामा ३४, ललितपुरमा ३३, चितवनमा ३२ र मोरङमा ३१ सङ्क्रमित थपिएका छन्।

मोरङ, पर्सा, महोत्तरी, रौहट, सर्लाही, बारा र काठमाण्डूमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। तर मुस्ताङ र हुम्लामा उक्त सङ्ख्या शून्य छ।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार अहिलेसम्म कुल १८,८०६ सङ्क्रमित निको भएका छन्।

सक्रिय सङ्क्रमितमध्ये १३८ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचाररत छन्। भेन्टिलेटरमा भएका सबै बिरामी वाग्मती प्रदेशका हुन्।

अहिले देशभरि क्वारन्टीनमा ११,२७५ जना छन्।

गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो।

यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८ र साउन ३२ गते ६४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर