कोरोना भाइरस नेपाल: एकै दिनमा ११ जनाको मृत्यु, थप ८३८ जना सङ्क्रमित

कोरोनाभाइरस

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY

नेपालले २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ

यो हालसम्म एक दिनमा पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु हो र यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेको एवम् ती मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको मन्त्रालयले जनाएको छ।

साथै ८३८ नयाँ सङ्क्रमित फेला परेको र कुल सङ्क्रमितहरूको सङ्ख्या ३०,४८३ पुगेको छ।

अहिले देशभरि १२,१३२ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी शुक्रवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

सक्रिय सङ्क्रमितमध्ये १३३ जना सघन उपचार कक्षमा र काठमाण्डूमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

कोरोनाभाइरस ब्यानर

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरू काठमाण्डूका १४२ जना, पर्सामा ८०, जुम्लामा ५३, मोरङमा ४५ र बारामा ४० जना रहेका छन्।

ललितपुरका २५ र भक्तपुरका १५ गरी काठमाण्डू उपत्यकामा १८२ जना सङ्क्रमित थपिएका छन्।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा १३,५७९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सोही अवधिमा २५० जना भाइरसमुक्त प्रमाणित भए।

मन्त्रालयका अनुसार अहिलेसम्म १८,२१४ सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा १२,२३४ जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर