कोरोना भाइरस भारत: कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा कति धेरै छ?

भारतमा मृत्यु

तस्बिर स्रोत, AFP

    • Author, सौतिक विश्वास
    • Role, भारत संवाददाता

भारतमा कोरोनाभाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। सङ्क्रमितहरूको कुल सङ्ख्या २८ लाख नाघिसक्यो।

भारत ब्रिटेनलाई पछि पार्दै विश्वमा सबैभन्दा धेरैले ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ भने सबैभन्दा धेरै सङ्क्रमितहरूमध्ये तेस्रोमा छ।

तर युरोप र उत्तर अमेरिकाभन्दा निकै कम अर्थात् १० लाख भारतीयमा ३४ जनाको मृत्यु भएको छ।

कोरोनाभाइरसबाट ज्यान गुमाउने दर (सीएफआर) अहिले झन्डै दुई प्रतिशत छ। सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्रमा मृतकको सङ्ख्या प्रत्येक ४० दिनमा दोबर भइरहेको छ।

पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाका अध्यक्ष श्रीनाथ रेड्डी भन्छन्, "सङ्ख्या बढे पनि मृत्युदर कम नै छ।"

मृत्यु दर कम हुनुको कारण?

कैयौँ महामारी विज्ञहरू देशमा युवा जनसङ्ख्या धेरै हुनाले मृत्युदर कम भएको ठान्छन्। बढी उमेरका मानिस सामान्यतया सङ्क्रमणको दृष्टिले बढी जोखिममा हुन्छन्।

तर यसअघि अन्य कोरोनाभाइरसका कारण उत्पन्न रोग प्रतिरोधात्मक क्षमता लगायतका कारण पनि त्यसमा जिम्मेवार छन् कि छैनन भन्ने स्पष्ट छैन।

भारतमा जस्तै जनसङ्ख्याको अनुपात भएका अन्य दक्षिण एशियाली देशहरूले पनि कम मृत्युदरको त्यस्तै अवस्था चित्रण गर्छन्।

दश लाख जनामा बाङ्ग्लादेशमा २२ र पाकिस्तानमा २८ जनाको मृत्यु भएको छ।

भारत स्पष्ट रूपमा युरोप र अमेरिकाको भन्दा राम्रो स्थितिमा छ।

तर विश्व बैङ्कका भूतपूर्व मुख्य अर्थशास्त्री कौशिक बसु भन्छन्, "यसै भरमा आत्मसन्तुष्टि लिनु गैरजिम्मेवारी हुन्छ।"

के राज्यहरू तथ्याङ्क लुकाउँदैछन्?

उनको विचारमा जनसाङ्ख्यिक तुलनाको महत्त्वको पनि सीमा हुन्छ।

"जति छिटो तपाईँ त्यसो गर्नुहुन्छ, भारतले निकै नराम्रो गरिरहेको अनुभूति हुन्छ। चीनमा कोभिड-१९ बाट प्रति १० लाख तीन जनाको मृत्यु भएको छ। दक्षिण एशियामा भारतभन्दा खराब अवस्था अफगानिस्तानको छ। अहिलेको अवस्था रह्यो भने भारतले अफगानिस्तानलाई पनि उछिन्नेछ," उनले भने।

बसुको अध्ययनमा भारत ती थोरै देशहरूमा पर्छ जहाँ सङ्क्रमण कम भइरहेको छैन। भारतमा मार्चको अन्त्यदेखि अहिलेसम्म सङ्क्रमित र मृत्यकको सङ्ख्या बढेको मात्र नभई त्यसको दर पनि बढ्दो छ।

विज्ञहरूका भनाइमा पनि भारतमा कम रहेको मृत्युदरले पूरै वास्तविकता दर्शाउँदैन। कैयौँ राज्यहरूमा धेरै सङ्ख्यामा मृतकको तथ्याङ्कको अभिलेख नराखिएको कतिपय बताउँछन्।

केही राज्यहरूले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाविपरीत सन्देहास्पद मृत्युलाई गणना गरिरहेका छैनन्।

एक वृद्ध महिलाको स्वाब

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सङ्क्रमण बढिरहेपनि भारतले समुदायमा सङ्क्रमण पुगेको भन्ने अस्वीकार गर्दै आएको छ

कतिपय राज्यले कोभिड-१९ भएर ज्यान गुमाएकाहरूमा पहिले रहेको रोगका कारण मृत्यु भएको बताउने गरेका छन्।

स्वास्थ्य मामिलाकी पत्रकार प्रियङ्का पुल्लाले गरेको अनुसन्धानमा गुजरात र तेलङ्गाना राज्यमा ठूलो सङ्ख्यामा मृतकको गणना नगरिएको देखाएको छ।

त्यसमा गुजरातको वडोदरामा पछिल्लो दुई महिनामा मृत्युदर ४९ प्रतिशतले बढेको देखाइएको छ। तर त्यहाँ उक्त अवधिमा सङ्क्रमण ३२९ प्रतिशतले बढेको थियो।

त्यस्तै केही सहरमा मृतकको सरकारी तथ्याङ्क र अन्त्यष्टि स्थलबाट लिइएको तथ्याङ्कमा फरक देखिन्छ।

अनुमान गर्ने उपाय के हुन्?

त्यसो भए दुई प्रतिशतको मात्र परीक्षण भइरहेको सन्दर्भमा भारतमा धेरै सङ्ख्यामा मृतकको तथ्याङ्क लिइएको छैन त?

भारतमा चार मृतकमध्ये एक जनाको मात्र कारण प्रमाणित हुने गर्छ।

"पक्कै पनि कम मृतकको गणना भइरहेको छ," दिल्लीस्थित थिङ्क ट्याङ्क अब्जर्भर रिसर्च फाउण्डेशनका उमेन सी कुरियन भन्छन्, "प्रश्न के हो भने कुन स्तरमा कम गणना भइरहेको छ।"

मिशिगन विश्वविद्यालयका जीवतथ्याङ्क र महामारीका प्राध्यापक भ्रमर मुखर्जीका भनाइमा कुन तहमा कम गणना भइरहेको छ भन्ने पत्ता लगाउन गाह्रो छ।

उनी भन्छन्, "किन कि यसको कुनै ऐतिहासिक तथ्याङ्क र यस अवधिमा भएको अतिरिक्त मृत्युको कुनै अनुमान छैन।"

बढी मृत्युको आकलन गर्न सकियोस् भनेर चिकित्सक, अनुसन्धानकर्ता र विद्यार्थीहरू सहित २३० जनाभन्दा धेरै भारतीयले कम्तिमा तीन वर्षमा भएका मृत्युको जानकारी सार्वजनिक गर्न निवेदन दिएका छन्।

उनीहरूले सडक दुर्घटनामा प्रत्येक वर्ष ज्यान गुमाउने डेढ लाख जनाको सङ्ख्याबाहेक सार्वजनिक गर्न आग्रह गरेका छन्। त्योस गर्दा रोगबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क अनुमान गर्न सजिलो हुन्छ।

कैयौँ स्थानमा शरीरको तापक्रम नाप्नु अनिवार्य बनाइएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कैयौँ स्थानमा शरीरको तापक्रम नाप्नु अनिवार्य बनाइएको छ

भारत सहभागी नभएको गत जुलाई महिनामा २८ देशको मृत्युको मूल्याङ्कन गर्दा महामारीको अवधिमा कोरोनाभाइरसबाट ज्यान गुमाउने आधिकारिक तथ्याङ्कभन्दा एक लाख ६१ हजारभन्दा बढीको मृत्यु भएको देखिएको छ।

स्थानीय तहको भूमिका कस्तो हुन्छ?

भारतमा एउटा महत्वाकाङ्क्षी अध्ययनको नेतृत्व गरेका टोरन्टो विश्वविद्यालयका प्रभाष झाका भनाइमा धेरै आम्दानी र राम्रो स्वास्थ्य प्रमाणीकरण हुने देशहरूमा पनि दैनिक मृतकको सङ्ख्या ३० देखि ६० प्रतिशतसम्म कम गणना हुने गरेको विश्लेषण गरिएको छ।

उनका विचारमा लकडाउनमा आफूले काम गर्ने सहरबाट निस्केर लाखौँ भारतीय कहाँ गए भन्ने थाहा पाउन टेलिफोन कम्पनीहरूले मार्च महिनादेखिको अभिलेख जारी गर्नुपर्छ।

त्यो तथ्याङ्कका आधारमा सरकारले थाहा नभएको वयस्क मृत्युबारे पत्ता लगाउन प्रकोप धेरै भएका क्षेत्रमा टीम पठाउन सक्छ।

त्यस्तै नगरपालिकाहरूले सबै कारणले भएको मृत्युको सङ्ख्या जारी गर्नुका साथै अघिल्लो वर्षको मृत्युसँग त्यसको तुलना गर्नुपर्ने उनको भनाइ छ।

उनी प्रश्न गर्छन्, "यदि भारतमा कोभिड-१९बाट ज्यान गुमाउनेहरूको गणना सही ढङ्गले गरिएन भने यो प्रकोपलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ?"

यो महामारी अन्त्य भइसकेपछि कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या नै कुन देश उक्त प्रकोपसँग कसरी सङ्घर्ष गर्ने भन्ने ठम्याउने एउटा मात्र सूचक हुनेछ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर