कोरोना भाइरस भारत: कोभिड-१९ कसरी फैलिरहेको छ भनेर भारत किन भन्न चाहन्न

एक वृद्ध महिलाको स्वाब

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सङ्क्रमण बढिरहेपनि भारतले समुदायमा सङ्क्रमण पुगेको भन्ने अस्वीकार गर्दै आएको छ
    • Author, विकास पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

राजेश कुमार, ४५, ले जुनको शुरूमा खोक्न थाले। केही दिनमै उनमा उच्च ज्वरो देखियो।

उनले कोरोनाभाइरसको परीक्षण गराएनन्। बरु ज्वरो भगाउने औषधी पाँचदिन सम्म खाए। तर ज्वरो रहिरह्यो र छिट्टै उनमा श्वासप्रश्वास सम्बन्धी समस्या देखियो।

उनको परिवारले कोरोनाभाइरस परीक्षण गर्न भन्यो तर उनले मानेनन्। दिल्लीस्थित घरबाट बाहिर पाइलै नराखेकाले आफूलाई कोभिड-१९ होला भन्ने सम्भावना नरहेको उनको तर्क थियो। र, उनले कोभिड-१९ भएका कसैलाई पनि भेटेका थिएनन्।

लक्षण देखिएको आठौँ दिनमा उनको अवस्था बिग्रँदै गएपछि अस्पताल लगियो र उनी कोरोनाभाइरस पोजिटिभ भएको पाइयो।

People distributing masks

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, समुदायमा सङ्क्रमण पुग्नबाट रोक्न गरिबहरूलाई मास्क बाँड्दै स्वयंसेवी समूहहरू

उनले भने, "म त बाँचे, तर डाक्टरहरू भन्थे केही ढिला भएको भए मेरो ज्यान जान सक्थ्यो।"

उनले अझ पनि आफूलाई कसरी कोभिड-१९ भयो भन्ने भेउ पाउन सकेका छैनन्।

विज्ञहरू भन्छन्, "राजेश कुमारकै जस्ता सङ्क्रमितबाट प्रमाणित हुन्छ भारतमा सङ्क्रमण समुदायमा फैलिइसकेको छ।"

तर सरकार अहिले पनि समुदायमा सङ्क्रमण भयो भन्ने स्वीकार गर्न चाहन्न। समुदायमा सङ्क्रमणबारे प्रस्ट परिभाषा नभएको सरकारको भनाइ छ।

अहिलेसम्म केरला र पश्चिम बङ्गाल दुई राज्यले मात्र समुदायमा सङ्क्रमणको चरणमा प्रवेश गरेको स्वीकार गरेका छन्।

Tuk-tuk driver wearing mask

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन आग्रह गरिएको छ

विश्वव्यापी रूपमा हेर्दा: जब कुनै सङ्क्रमणको स्रोत पत्ता लगाउन सकिन्न त्यस्तो अवस्थालाई समुदायमा सङ्क्रमण भनिन्छ।

विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले पनि त्यही भन्छ: "कुनै सङ्क्रमितलाई कहाँबाट रोग सर्‍यो भन्ने पत्ता लाग्न सकेन भने समुदायमा सङ्क्रमण भयो भन्ने बुझ्नुपर्छ।"

"त्यो भारतमा भइरहेको छ," दिल्लीस्थित सर गङ्गाराम अस्पतालको छाती रोग विभागका प्रमुख डा. अरविन्द कुमार भन्छन्।

कोही व्यक्तिमा कसरी सङ्क्रमण भयो भन्ने पत्ता लगाउन नसकिने किसिमका केसहरू अहिले अस्पतालमा आइरहेको उनले बताए।

A man using thermal scanner to check temperature of a woman

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कैयौँ स्थानमा शरीरको तापक्रम नाप्नु अनिवार्य बनाइएको छ

भारतमा अहिले १२ लाखमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ र २९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

"यी तथ्याङ्क झुटा होइनन्," डा. कुमार भन्छन्, "एकपछि अर्को राज्यमा सङ्क्रमण दर छिटोछिटो बढिरहेको छ। आँखा अगाडि भएको तथ्यलाई अस्वीकार गर्नुको कुनै अर्थ छैन।"

तर सरकार त्यसमा असहमत छ। इन्डियन मेडिकल एसोसिएसनका एक चिकित्सकले हालै भारतमा सङ्क्रमण समुदायमा पुगेको बताएका थिए।

तर दुईदिन पछि उक्त संस्थाले त्यसमा असहमति जनाउँदै त्यो भनाइ ती डाक्टरको 'व्यक्तिगत धारणा' रहेको बताए।

त्यसले धेरैलाई आश्चर्यचकित बनायो।

भाइरोलोजिस्ट डा. शाहिद जमील भन्छन्, सरकारले विज्ञहरूको कुरा सुन्नुपर्‍यो र प्रमाण स्वीकार गर्नुपर्‍यो।

भिड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भिडभाडले सङ्क्रमण बढाउने चिन्ता विज्ञहरूले प्रकट गर्दै आएका छन्

डा. जमील भन्छन्- भाइरस ठूला शहर र केही 'हटस्पट'हरूमा सीमित पार्न सकिन्छ र देशको अरू भागमा पुग्नबाट रोक्न सकिन्छ भन्ने सोच थियो।

उनी भन्छन्, "त्यस्तो त भएन र अहिले भाइरस नियन्त्रणबिना फैलिरहेको छ।"

भाइरस छिटोछिटो फैलिरहेको र धेरैजसो कोबाट कसलाई सर्‍यो भन्न सकिने स्थिति नरहेको पाइएको छ।

डा. जमीलका अनुसार सरकारकै सर्वेक्षणमा पनि ४० प्रतिशत सहभागीले आफू कसरी बिरामी परेँ भन्न नसकेको बताएका थिए।

उनी भन्छन्, "समुदायमा सङ्क्रमण फैलिइसक्यो भन्ने हामीसँग पर्याप्त प्रमाण छन्।"

त्यो रातारात नभएको विज्ञहरू बताउँछन्। सरकारले निरन्तर अस्वीकार गरिरहेकै बेला केही हप्ता लगाएर समुदायमा सङ्क्रमण पुगेको बताइन्छ।

सरकार स्वीकार गर्न किन हिचकिचाइरहेको छ?

विज्ञहरू भन्छन्, "अनुमान मात्र लगाउन सकिन्छ।" किनभने सरकारले यसबारेमा धेरै बोलेको छैन र सरकारी अडानलाई समर्थन गर्ने किसिमको परिभाषा पनि बाहिर ल्याएको छैन।

एउटा कारण हुन सक्छ, "समुदायमा सङ्क्रमण पुग्यो भन्यो भने सरकारी नीतिको असफलता भन्ने अर्थ लाग्छ।"

समुदायमा सङ्क्रमणका लागि सरकारलाई दोष लाउन सकिन्न भन्ने तर्क गर्दै डा. जमील भन्छन् तर सरकारले विज्ञानले प्रमाणित गरेको तथ्यलाई स्वीकार गर्न सक्नुपर्छ।

भारतजस्तो सघन जनसङ्ख्या भएको देशमा समुदायमा सङ्क्रमणको सम्भावना जहिले पनि रहने डा. जमील बताउँछन्।

अस्वीकार गर्दा व्यर्थमा दबाव बढ्ने र यो विषयमा अनावश्यक विवाद बढ्ने विज्ञहरू बताउँछन्।

सरकारसँग काम गरिसकेका अग्रणी सरुवारोग विशेषज्ञ डा. ललित कान्त भन्छन्, "समुदायमा सङ्क्रमण होस् या नहोस् हाम्रा रणनीतिमा सुधार गरिरहनुपर्छ।"

A health worker in PPE talking to a woman during a swab Covid-19 rapid antigen tests at a government school.

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको कोरोनाभाइरस नीतिमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मुख्य रहँदै आएको छ

उनी भन्छन्, "एउटा राज्यमा नियन्त्रण भएको देखिँदा अर्कोमा बढेको छ। सङ्क्रमण झन् झन् नराम्रो अवस्थातर्फ गइरहेको छ। यो कटु सत्य हो।"

तर समुदायमा सङ्क्रमण भएको भन्ने स्वीकार गर्नु अघि केही रणनीतिमा महत्त्वपूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ।

डब्ल्यूएचओ भन्छ: "ठूलो सङ्ख्यामा सङ्क्रमण भएको अवस्थामा व्यक्तिगत सङ्क्रमण या 'कन्ट्याक्ट ट्रेसिङ' र क्वारन्टीनको आवश्यकता हुँदैन।"

त्यसबेला सङ्क्रमण कति क्षेत्रमा पुग्यो भन्ने तथ्याङ्क केलाएर त्यसै बमोजिम स्वास्थ्यसेवाकर्मीहरू तैनाथ गर्नुपर्छ।

सरकारले तत्काल रणनीति परिवर्तन गर्न नचाहेको हुन सक्ने डा. कान्त बताउँछन्।

किनभने परीक्षण र ट्रेसिङ निर्देशिकामा अभ्यस्त हुन सरकारलाई महिनौँ लागिसकेको छ।

महामारी विभिन्न ठाउँमा विभिन्न चरणमा रहेकाले पनि रणनीति सम्पूर्ण रूपमा परिवर्तन गर्न पनि कठिन छ।

उनी भन्छन्, "तर त्यसले पनि सरकारको निरन्तरको अस्वीकारको जबाफ आउँदैन। उनीहरूले दीर्घकालीन धारणा र सरकारको समुदायमा सङ्क्रमणको परिभाषा सार्वजनिक गर्नुपर्छ।"

"आम सर्वसाधारणले त्यसबारे जानकारी पाउनु उनीहरूको अधिकार हो र सरकार पारदर्शी हुनुपर्छ।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर