कोरोनाभाइरस: भारतको झुपडीबस्तीमा सङ्क्रमण रोक्न सङ्घर्ष

धाराबी

तस्बिर स्रोत, Getty Images

    • Author, सौतिक विश्वास
    • Role, बीबीसी न्यूज

मार्च २३ मा पश्चिम भारतको महानगर मुम्बईस्थित विशाल र बाक्लो बस्ती भएको झुपडीबस्तीमा एकजना ५६ वर्षीय पुरुष ज्वरो र खोकीको गुनासो लिएर चिकित्सककहाँ पुगे।

कपडाका ती व्यापारी अढाइ वर्ग किलोमिटरभित्र पाँच लाख मानिसको बसोबास रहेको धाराबी झुपडीबस्तीमा बस्थे।

स्थानीय चिकित्सकले ती व्यक्तिको जाँच गरे र उनलाई खोकीको औषधी र प्यारासिटामोल दिएर पठाइदिए।

तीन दिनपछि ती पुरुष नजिकैको सायन नामक निजी अस्पताल पुगे।

उनको ज्वरो बढेको थियो भने खोकी पनि झन् खराब भएको थियो।

आफूले कतै बाहिर यात्रा नगरेको बताएपछि उनलाई चिकित्सकले फेरि थप औषधी दिएर पठाइदिए।

मार्च २९ मा श्वासप्रश्वासमा अप्ठेरो भएको भन्दै ती व्यक्ति फेरि अस्पताल पुगे।

यसपटक उनको घाँटीको स्वाब लिएर कोभिड-१९ को जाँचको निम्ति पठाइयो।

तीनदिन पछि जाँचको नतीजामा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइयो।

अवस्था झन् झन् खराब भएपछि कोभिड-१९ का बिरामी उपचार गर्ने अस्पतालमा उनलाई पुर्‍याउने कोसिस भयो।

धाराबीको चेतावनी घण्टी

तर ढिलो भइसकेको थियो। त्यसै साँझ उनको मृत्यु भयो।

धाराबी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, धाराबी २४ मार्चदेखि लकडाउनमा छ

ती कपडा व्यापारी धाराबी झुपडीबस्तीका पहिलो कोरोनाभाइरस सङ्क्रमित व्यक्ति हुन्।

अत्यन्तै कोचाकोच शैलीमा मानव बसोबास रहेको धाराबी झुपडीबस्ती आफैँमा एउटा सानो शहर मानिन्छ। त्यहाँका मानिसमा पखालादेखि औलोसम्म हरेक रोग पाइन्छ।

तर सामाजिक दूरी कायम गर्नु पर्ने अहिलेको परिस्थितिमा यस्तो झुपडीबस्तीमा कोरोनाभाइरसको महामारी भयो भने त्यो सजिलै जनस्वास्थ्य आपत्‌कालको अवस्थामा परिणत हुनसक्छ र त्यसलाई शहरको जनस्वास्थ्य प्रणालीले धान्नै नसक्ने हुनसक्छ।

अधिकारीहरूमा त्रास

यस्तो खतराबारे शहरका जनस्वास्थ्य अधिकारीहरू पूर्ण जानकार छन्।

ती अधिकारीहरू अहिले त्यहाँ सङ्क्रमणको अवस्था पत्ता लगाएर नियन्त्रण गर्न प्रयासरत छन्।

ती व्यक्ति धाराबीमा आठ सदस्यीय परिवारसँगै बस्थे। उनकी पत्नी, चार छोरी र दुई छोरा करिब ४२० वर्ग मिटरको सानो एककोठे अपार्टमेन्टमा बस्थे।

"हामीले उनको परिवारसँग सोधपूछ गर्दा उनी कतै बाहिर नगएको केवल स्थानीय मस्जिद मात्र गएको बताइयो," सहायक नगर आयुक्त किरण दिगावकरले बताए।

तर कहानीमा अर्को मोड तब आयो जब ती मानिसको त्यहाँ अर्को पनि कोठा भएको र त्यहाँ उनले दिल्लीमा तबलीगी जमातले आयोजना गरेको भेलामा भाग लिएर फर्किएका पाँचजनालाई भेटेको पाइयो।

तबलीगी जमात नामक धार्मिक आन्दोलनका अनुयायीहरू इन्डोनेसिया, मलेसिया तथा अमेरिका गरि आठ देशमा फैलिएका छन्।

मुम्बई र धाराबी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मुम्बई (धाराबी दृश्यमा) विश्वकै धेरै जनसङ्ख्या भएको शहरमध्ये एक हो

तबलीगी जमातको भेलामा भाग लिएका सयौँ मानिसहरूले देशका विभिन्न भागमा पुगेर कोभिड-१९ फैलाएको पाइएको छ।

तिनले देशका १४ राज्यमा ६५० सङ्क्रमण फैलाएको पाइएको छ।

प्रहरीका अनुसार ती पाँच व्यक्तिले धाराबीमा दुई दिन विताएर केरल राज्य गएका थिए। तिनलाई पत्ता लगाउने प्रयास भइरहेको दिगावकरले बताए।

"हामीले सङ्क्रमणको स्रोत पत्ता लगाउनुपर्छ। कसरी यी व्यक्तिमा सङ्क्रमण देखियो र कसबाट सर्‍यो? अनि आक्रामक ढङ्गबाट कदमहरू चालेर सङ्क्रमण रोक्नु पर्छ," उनले भने।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

झुपडीबस्तीमा क्वारन्टीन

तत्कालका निम्ति अधिकारीहरू सङ्क्रमण रोक्न दत्तचित्त देखिन्छन्।

त्यसैले वरपरका ३०८ अपार्टमेन्ट तथा ८० पसललाई घेरेर 'सील' गरिएको बताइएको छ।

करिब २,५०० मानिसहरूलाई आफ्नै घरमा क्वारन्टीनमा बस्न भनिएको छ।

खानेकुरा दिइएको छ भने स्वास्थ्यकर्मीहरूले वरपर 'डिसइन्फेक्टेन्ट' छर्किदिएका छन्।

जोखिममा रहेकाहरूको जाँच गरिँदैछ।

महामारी होला भनेर अधिकारीहरूले नजिकैको ५० शैय्याको सायन अस्पताल आफ्नो नियन्त्रणमा लिएका छन् भने छेवैको खेलकुदस्थलमा ३०० शैय्याको क्वारन्टीन स्थल बनाइएको छ।

डाक्टर तथा नर्सलाई व्यक्तिगत सुरक्षाका सामग्री दिइएका छन्।

धाराबी

तस्बिर स्रोत, Getty Images

तर यतिले मात्र सङ्क्रमण रोकिएला जस्तो देखिँदैन।

बिहीवार सो झुपडीबस्तीमा बस्ने एक डाक्टरमा सङ्क्रमण पाइयो। वरपरका ३०० मानिसलाई अलग्ग्याइयो।

सप्ताहान्तमा सो बस्तीका एकजना ३० वर्षीया महिला, एकजना ६० वर्षीय पुरुष र अर्को २१ वर्षीय पुरुषमा पनि सङ्क्रमण पाइयो।

परीक्षणको गति बढाइनुपर्ने

सङ्क्रमण फैलिएको पाइएपछि अब चाँडै नै परीक्षणको गति र दायरा बढाउनुपर्ने ठानिएको छ।

परीक्षणको नतीजा आउन ४८ घण्टाभन्दा धेरै लागिरहेको छ।

"नतीजा आउनमा भएको ढिलाइले गर्दा हामीले समय गुमाइरहेका छौँ। यसले सङ्क्रमित मानिसलाई अलग्ग्याउने काम पनि प्रभावित भएको छ," झुपडीबस्तीमा खटिएको स्वास्थ्य टोलीका मेडिकल अधिकृत विरेन्द्र मोहितेले भने।

घनाबस्ती भएका झुपडीबस्तीमा महामारी फैलिएमा उत्पन्न हुनसक्ने चुनौती डरलाग्दा देखिएका छन्।