तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वन मासेर बसेको नयाँ बस्तीमा 'रोग सार्ने पशुपक्षी फैलिन्छन्'
- Author, हेलन ब्रिग्स
- Role, बीबीसी पर्यावरण संवाददाता
वनजङ्गल भएको क्षेत्रलाई खेतबारी र सहर बनाउँदा पशुबाट विभिन्न रोग मानिसमा सर्ने सम्भावना बढेको वैज्ञानिकहरूले बताएका छन्।
एउटा अध्ययनका अनुसार प्राकृतिक प्रदेशमा मानिसले गरेको परिवर्तनका कारण गर्दा धेरै वन्यजीवहरू विस्थापित हुने भए पनि रोग बोक्न सक्ने प्रजातिहरूलाई त्यो फाप्न सक्छ।
यो अध्ययनले प्रकृतिको दोहनका कारण महामारी बढ्ने मान्यतालाई पुष्टि गर्ने प्रमाण थपेको छ।
चारवटा नयाँ रोगमध्ये तीनवटा पशुपक्षीबाट आएको वैज्ञानिकहरूको अनुमान छ।
मानिसहरूले स्थानको स्वरूप परिवर्तन गरिँदिँदा सङ्क्रामक रोग फैलाउन सक्ने प्रजातिलाई आफू फैलिन सहज भएको यो अध्ययनले देखाएको छ।
वन्यजीवको प्राकृतिक वासस्थानलाई खेतबारी, चरन र बस्ती बनाउँदा मानिसहरूले थाहा नपाईकनै रोग लगाउने कीटाणुहरू आफूमा सर्ने सम्भावना बढाएका हुन्छन्।
“हाम्रो अध्ययनले मानवको बढी प्रभाव भएको वातावरणमा बस्ने जीवले सङ्क्रामक रोग बोक्न सक्ने र मानिसलाई बिरामी पार्न सक्ने देखाएको छ,” यूनिर्सिटी कलेज लन्डन (यूसीएल) का रोरी गिबले भने।
ठाउँको स्वरूप फेर्दा कसरी रोग फैलिन्छ?
वनजङ्गल, घाँसेमैदान र मरुभूमिलाई सहर वा खेत बनाउँदा धेरै वन्यजीवहरू लोप भएका छन्।
मानिसले पृथ्वीको आधाभन्दा बढी बस्नयोग्य भूमिमा परिवर्तन गरेका छन्।
लामो आयु भएका र विशेष वासस्थान चाहिने गैँडाजस्ता जीवको तुलनामा छोटो आयु भएका र जहाँ पनि पाइने मुसा र परेवाजस्ता पशुपक्षी मौलाएका छन्।
अन्य वन्यजीव मासिए पनि धेरै किसिमका विषाणु बोक्न सक्ने मुसा र लोखर्के जातका जीवहरू सहरमा मौलाउँछन्।
यो नयाँ प्रमाण झन्डै ७,००० वटा प्रजातिबारे गरिएका १८४ वटा अध्ययनबाट सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर निकालिएको हो। ती प्रजातिमध्ये ३७६ वटाले मानिसमा रोग लगाउने जीवाणु सार्ने गरेका छन्।
रोग सर्ने क्रमलाई कसरी रोक्न सकिन्छ?
रोग लगाउने जीवाणु अन्य जीवबाट मानिसमा सर्ने प्रक्रियालाई वैज्ञानिकहरुले ‘स्पिलओभर’ भन्ने गरेका छन्। त्यसका लागि विभिन्न कारकहरूको भूमिका हुन्छ।
केही जीवाणुहरूले महामारी गराउँछन्। तीमध्ये केही महामारी विश्वव्यापी बन्छन्।
वन्यजीवको सिकार, तस्करी वा वासस्थानको विनाशले हुने संसर्गका कारण नयाँ रोगको जोखिम बढ्ने कुरा हामीलाई थाहा छ।
कोरोनाभाइरस चमेरोबाट अन्य जीवले मानिसमा सारेको विश्वास गरिन्छ। यो भाइरसको वन्यजीवसँग सम्बन्ध भएको बलियो सङ्केत फेला परेको छ।
प्रकृतिको दोहनले ‘नयाँ रोगको महामारी’ कसरी?
नयाँ अध्ययनको निष्कर्ष नेचर जर्नलमा प्रकाशित भएको छ।
प्राकृतिक वासस्थानमा भन्दा मानवसिर्जित वातावरणमा बस्ने जीवहरूले बढी हानिकारक जीवाणु बोक्ने यो अध्ययनले देखाएको छ।
अनि यसले निर्विघ्न घुम्ने वन्यजीवले रोग सार्ने गलत धारणा मानिसहरूमा भएको देखाएको छ।
तर वास्तवमा प्राकृतिक स्थानलाई खेत, चरन, सहर वा गाउँ बनाउँदा बढी जोखिम हुन्छ।
यूसीएलमा प्राध्यापन गर्ने केट जोन्स यो अध्ययनले देखाएको कुराले भविष्यमा जनस्वास्थ्यसम्बन्धी जोखिम कम गर्न रणनीतिको आवश्यकता औँल्याएको बताउँछिन्।
“खेती गर्ने र सहरको क्षेत्र आगामी दशकहरूमा बढिरहने अनुमान गरिएकाले हामीले ती स्थानमा निगरानी र स्वास्थ्यसेवालाई सबल बनाउनुपर्छ," उनले भनिन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
मुसा र परेवा किन मौलाउँदैछन्?
यो अध्ययन खेती र सहर निर्माणका लागि जग्गाजमिन परिवर्तन गर्दा उस्तै प्रजातिका जीवहरू मौलाएको विषयमा पहिला गरिएको एउटा अनुसन्धानमा आधारित छ।
त्यति सजिलै नपाइने जीवको तुलनामा मुसा र परेवाहरू अहिले फैलिएको देखिन्छ।
आफ्नो वासस्थानमा मानिसले परिवर्तन गरिँदिँदा धेरै जीवहरू मासिएका छन्।
तिनको साटो सबैतिर पाइने जीवहरू फैलिएका छन्। सहरमा परेवा र खेतीपाती हुने ठाउँमा मुसा जताततै देखिन्छन्।
तर तिनमा धेरै रोगहरू पनि पाइएको छ।