कोरोना भाइरस नेपाल: काठमाण्डू उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोनाभाइरस, एक जनाको मृत्यु

नेपालका विभिन्न स्थानमा थप २५९ जनामा कोभिड-१९ पुष्टि र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ५८ पुगेको छ।

यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,००९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,९२५ छ।

गत गत महिना एकैदिन ७४० जना सङ्क्रमित थपिएको मन्त्रालयले असार १९ पुष्टि गरेको थियो।

सोमवार ४१८ जनामा कोभिड पुष्टि भएको थियो।

को हुन् मृतक?

मन्त्रालयका अनुसार मोरङ जिल्लाका ७५ वर्षीय पुरुषको साउन १९ गते मृत्यु भएको हो।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनी सोमवार बिहान कोशी अस्पतालमा भर्ना भएका थिए।

उपचारको क्रममा उनको सोमवार नै मृत्यु भएको र उनमा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको छ।

ती व्यक्ति मधुमेह र उक्त रक्तचापबाट पनि पीडित भएको जनाइएको छ।

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

अहिले काठमाण्डू उपत्यकामा ६२ सङ्क्रमित फेला परेका हुन्। तीमध्ये काठमाण्डूमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरमा एक जना छन्।

त्यसबाहेक सर्लाहीमा २६ जना, मोरङमा २३ जना, कैलालीमा २२ जना र महोत्तरीमा १५ जना थपिएका छन्।

मन्त्रालयले काठमाण्डू उपत्यका भित्रिने नाकामा १०,८५३ व्यक्तिबाट सङ्कलित नमुनाको परीक्षण गर्दा ४० जनामा सङ्क्रमण भेटिएको जानकारी दिएको छ।

सङ्क्रमितको अवस्था के छ?

मन्त्रालयका अनुसार अधिकांश सक्रिय सङ्क्रमितहरू लक्षणविहीन छन्। केहीमा सामान्य लक्षण देखिएको छ भने गम्भीर लक्षण देखिएका केही बिरामीलाई सघन उपचारमा राखिएको छ।

मन्त्रालयले मङ्गलवार अपराह्णसम्म देशभरि ४३ जना आईसीयूमा भएको जनाएको छ।

तीमध्ये वाग्मतीमा भेन्टिलेटरमा दुई जनासहित सर्वाधिक २३ जना छन्।

प्रदेश नं २ मा १२ जना, प्रदेश नं २ मा पाँच जना, प्रदेश नं ५ मा दुई जना र सुदूरपश्चिममा एक जना पनि आईसीयूमा भएको जानकारी मन्त्रालयले दिएको छ।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा पीसीआर विधिबाट ७,६८७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा ६५ जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ।

अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा १०,४०० भन्दा केही बढी मानिसहरू क्वारन्टीनमा छन्।

तीमध्ये गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुनेको सङ्ख्या सर्वाधिक छ।