तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
घरेलु हिंसाः पतिले नाक काटिदिएकी अफगान महिला भन्छिन्, 'मलाई ज्यान जाला भन्ने डर थियो'
- Author, स्वामीनाथन नटराजन र नूर शफाक
- Role, बीबीसी विश्व सेवा
चेतावनीः यो सामग्रीमा समाविष्ट केही तस्बिर र उल्लिखित विवरणले कसैकसैलाई विचलित पनि पार्न सक्छ
दश हप्ताभन्दा लामो समयको पीडापछि जार्काले आशाको एउटा किरण देखिन्।
"म खुसी छु। मेरो नाक फेरि बन्यो..." उनको अनुहार फेरि राम्रो देखिने बनाउने शल्यक्रिया गरिएपछि उनले चिकित्सकहरूलाई भनिन्।
हातमा बोकेको ऐनामा उनले टाँका र रगतका टाटाले ढाकेको नाक देखिन्।
अफगानिस्तानमा महिलाविरुद्ध व्यापक रूपमा घरेलु हिंसा हुन्छ। संयुक्त राष्ट्रसङ्घले उद्धरण गरेको एउटा राष्ट्रिय सर्वेक्षणमा ८७% महिलाले कुनै न कुनै रूपमा शारीरिक, यौनिक वा मानसिक घरेलु हिंसा भोगेका हुन्छन्।
पति वा परिवारका पुरुष सदस्यले कहिलेकाहीँ महिलामाथि तेजाब वा हतियार प्रहार पनि गर्छन्।
यो घटनामा पतिले जार्कालाई आक्रमण गरी चक्कुले नाक काटिदिएका थिए।
"मेरा पति जसलाई पनि शङ्का गर्थे," उनी भन्छिन्। आरोप र कुटपिट त उनका लागि नित्यकर्मजस्तै भएको थियो।
"उनले मलाई चरित्रहीन भएको आरोप लगाए। मैले त्यो असत्य हो भनेँ," उनले भनिन्।
उनीहरूको बिहे भएको १० वर्ष भयो। छ वर्षको एउटा छोरा पनि छ।
अट्ठाइस वर्षीया जार्कालाई कुटपिट नौलो लाग्दैनथ्यो, तर यस्तो स्थिति पनि आउला भन्ने उनले कहिल्यै कल्पना गरेकी थिइनन्।
उपचार
"आज ऐनामा हेर्दा नाक निकै निको भएको रहेछ," जार्काले बीबीसीसँग भनिन्।
"शल्यक्रियाअघि म नराम्री देखिन्थेँ," उनले भनिन्।
उनको उपचारमा संलग्न चिकित्सकहरू पनि उनको अवस्थामा देखिएको सुधारप्रति खुसी छन्।
"उनको शल्यक्रिया राम्रोसँग भयो। सङ्क्रमण पनि छैन...," डा. जाल्माइ खान अहमदजाईले भने।
काबुलबाट झन्डै २५० किलोमिटर दक्षिणमा पाकिस्तानसँगको सीमानजिकै एउटा दुर्गम स्थानमा जार्काको परिवार बस्छ। उनको परिवार धेरै गरिब छ। उनी निरक्षर छिन्।
उनको प्रान्तमा तालिबानको नियन्त्रण छ। स्थानीय नेता र लडाकुहरूले समन्वय भएपछि बल्ल उनी उपचार गर्न काबुल जान पाइन्।
त्यो बेला डा. जाल्माइलाई कोरोनाभाइरस सङ्क्रमण भएको थियो। पत्नीको मृत्यु भएकाले ती ४९ वर्षीय चिकित्सक उनको अन्तिम संस्कार गरेर भर्खर काबुल फर्किएका थिए।
"आउँदा उनको स्थिति नराम्रो थियो। उनको नाक नराम्ररी सङ्क्रमित थियो," उनी भन्छन्।
जुन १५ मा परीक्षण गरेर उनले केही औषधि दिए।
पाँच हप्तापछि जार्का फेरि काबुल आइन्। उनको जुलाई २१ मा शल्यक्रिया भयो।
शङ्कालु र हिंसक
जार्काले बीबीसीलाई फिल्माङ्कन गर्ने अनुमति दिइन् तथा आफूले भोगेको घरेलु हिंसाबारे कुराकानी गरिन्।
उनका अनुसार पति पनि उनकै उमेरका छन् र अरूको बस्तुभाउ हेरेर जीविकोपार्जन गर्छन्।
"बाल्यकालमै मेरा काकाले उनीसँग बिहेको कुरा पक्का गरिदिएका थिए। म निकै सानी थिएँ, मलाई जीवन र बिहेबारे केही थाहा थिएन।"
"मलाई त्यति बेला म कति वर्षकी थिएँ भन्ने पनि थाहा छैन," उनी भन्छिन्।
उनलाई कसैले बिहे गर्ने कि नगर्ने भनेर सोधेको सम्झना पनि छैन।
साटोमा बिहे
वर्षौँपछि आफ्नो बिहे साटोमा भएको उनले थाहा पाइन्। आफ्ना पतिकी एक बहिनी उनका काकाले बिहे गरेका रहेछन्।
"मेरा काकाले बेहुलीका लागि पैसा तिर्न नसकेकाले मलाई दिएका रहेछन्," उनी भन्छिन्।
अफगानिस्तानमा बेहुली पक्षलाई पैसा दिने चलन छ। अवैध भए पनि यो परम्परा अझै व्यापक छ।
बिहेपछि आफ्ना पतिले उनका दिदीबहिनीलाई पनि पिट्ने गरेको उनले थाहा पाइन्। तर उनलाई कारण थाहा छैन।
"उनी लागुपदार्थको दुर्व्यसनी हैनन्, उनलाई मानसिक समस्या पनि छैन।"
'ज्यानको खतरा'
बिहे भएको एक वर्षमै उनका पति फेरि अर्को बिहे गर्न चाहन्थे। अफगानिस्तानमा बहुविवाह सामान्य मानिन्छ।
तर बेहुली पक्षलाई दिन उनीसँग पर्याप्त पैसा थिएन। त्यो निराशा र आक्रोशको तारो जार्का बनिन्।
"उनी मलाई पिट्थे र म ज्यान जाने डरमा हुन्थेँ," उनले भनिन्।
गत मे महिनामा उनी भागेर माइत गइन् अनि पितालाई छुट्याइदिन आग्रह गरिन्। उनलाई खोज्दै पति आइपुगे।
"एक रातपछि उनी ठूलो चक्कु बोकेर बिहानै मेरो माइती आइपुगे। मलाई फिर्ता गरिदिन उनले मेरा बुवालाई आग्रह गरे। बुवा र मेरा काकाका छोराले उनले जमानी नल्याएसम्म मलाई फिर्ता नपठाउने बताए।"
उनका पतिले मेरो सुरक्षाको प्रत्याभूति दिने जमानीहरू ल्याए। तर घर फर्किएपछि अवस्था बिग्रियो।
"माइतबाट फर्किएपछि उनले मलाई फेरि कुटे अनि चक्कु लिएर हिर्काए," उनले भनिन्, "उनले मेरो नाक काटिदिने धम्की दिएपछी म छिमेकीको घरतिर भागेँ।"
छिमेकीहरूले हस्तक्षेप गरे, तर त्यो क्षणिक मुक्ति थियो।
"उनले मलाई माइत लगिदिन्छु भन्दै घरबाट निकाले," उनी भन्छिन्।
रगतको आहाल
तर त्यो त उनको जाल रहेछ। उनलाई अर्को घरमा लगेर बगैँचामा लघारे।
जार्काका अनुसार त्यति बेला उनका पतिले बन्दुक पनि बोकेका थिए।
"कहाँ भाग्छेस् भनेर उनले मलाई समाते," जार्काले भनिन्, "त्यहाँ एउटा सानो बगैँचा थियो, अनि उनले खल्तीबाट चक्कु निकालेर मेरो नाक काटिदिए।"
बिनाअनुमति माइत गएर आफ्नो बेइज्जती गरदिएकाले दण्ड दिएको उनको भनाइ थियो।
जार्कलाई रगतको आहालमा छोडेर उनी गए।
"एकदमै दुखेको थियो र धेरै रगत बगिरहेको थियो। मलाई सास फेर्न पनि गाह्रो भएको थियो," जार्काले भनिन्।
उनी चिच्याएको सुनेर छिमेकीहरू आए। एक जनाले काटिएको नाकको टुक्रा भेटे।
उनलाई स्थानीय चिकित्सककहाँ लगियो। तर काटिएको नाक जोड्न नमिल्ने बताइयो।
प्रतिशोधको तयारी
जार्काका पिता र माइती पक्षले प्रतिशोध लिन खोजे। तर उनका पति फेला परेनन्।
"उनीहरू रिसाएका थिए। उनीहरूले उनलाई भेटे ज्यान लिने धम्की दिइरहेका थिए," जार्का सम्झिन्छिन्। "मेर बुवा र काकाहरूले उनका जमानीहरूको घरमा आगो लगाइदिए र उनीहरूलाई झपारे।"
प्रहरीले जार्काका पतिलाई समात्यो र जेल पठायो।
रक्ताम्मे अनुहार
जार्काको उपचार स्थानीय स्तरमा पर्याप्त थिएन। उनलाई अनुहार पुनर्निर्माण गर्ने शल्यक्रियाको आवश्यक थियो।
रक्ताम्मे अनुहार देखिने उनको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। डा. जाल्माइले पनि त्यो देखे।
उनले निःशुल्क उपचार गरिदिने घोषणा गरे। स्थानीय अधिकारीहरूसँग सम्पर्क गरेर उनले जार्कालाई काबुल आउने प्रबन्ध मिलाइदिए।
डा. जाल्माइ अहिले जार्काको स्वास्थ्यमा भएको प्रगतिको निगरानी गरिहेका छन्।
आवश्यक पर्यो भने लेजर विधिबाट थप उपचार गर्न वा सिलिकन इम्प्लान्ट गरिदिने विचारमा उनी छन्।
सामान्यतया अहिले गरिएको उपचारको उनी २००० अमेरिकी डलर शुल्क लिन्थे। जार्काले त्यो रकम तिर्नुपरेन।
उनलाई ती चिकित्सकले ५०० डलर बराबरको औषधि पनि निःशुल्क दिए।
छोराको पीर
जार्का अहिले आफ्नो छोराबारे चिन्तित छन्। ती छ वर्षीय बालक अहिले पनि उनका पतिको परिवारसँग छन्।
"मैले तीन महिनादेखि मेरो छोरो मशूकलाई देखेकी छैन। म उसलाई धेरै माया गर्छु। छोरो मसँगै होस् भन्ने चाहन्छु," उनी भन्छिन्।
आफूसँग भएको हिंसा छोराले नदेखेकोमा उनी खुसी छिन्।
तर जार्काको कमाइ नभएकाले स्थानीय कानुनले उनको पतिलाई छोराको अभिभावकत्व लिन दिन्छ।
छोरासँग छुट्टिनुपर्दा उनी दुःखी छिन्।
"मलाई निकै न्यास्रो लाग्छ। खाने बेलामा म उनलाई नै सम्झिन्छु," उनी भन्छिन्।