तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान द्वन्द्वः आफ्ना आमाबुवाको हत्या गर्ने दुई तालिबान लडाकु मारेर चर्चित बनेकी अफगान किशोरी
गत साता आफ्ना दुवै अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी सामाजिक सञ्जालमा चर्चित बनेकी छन्।
अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके-४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन्। उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए।
किशोरीका बुवा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको अधिकारीहरूको भनाइ छ।
कलिलो उमेर
पछिल्ला दिनहरूमा राइफल समातेको युवतीको फोटो भाइरल भएको छ।
उक्त घटनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आक्रमण गर्न थप लडाकु पुगेका थिए।
तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आक्रमणमा परेका थिए।
अधिकारीहरूले किशोरी १४ देखि १६ वर्ष उमेरको हुनसक्ने ठानिएको र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको बताएका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले किशोरीको प्रशंसा गरेका छन्।
साहसलाई सलाम
समाचारसंस्था एएफपीका अनुसार नजिबा रह्मीले फेसबुकमा लेखेकी छन्, "उनको हिम्मतलाई सलाम छ।"
फेसबुकमै मोहमद सलेहले टिप्पणी गरेका छन्, "हामीलाई थाहा छ, अभिभावक गुमाउनुको वियोग अपूरणीय हुन्छ, तर तिमीले लिएको बदलाले तुलनात्मक रूपमा शान्ति दिनेछ।"
स्थानीय सञ्चारमाध्यमका अनुसार घोर पश्चिमी अफगानिस्तानको निकै अविकसित प्रान्त हो। त्यहाँ महिलाविरुद्धको हिंसा निकै उच्च छ।
तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो।
तर उसका कैयौँ सदस्यहरूले अझै पनि अफगानिस्तानको वर्तमान सरकार र संविधानको अन्त्य गर्न आग्रह जारी राखेका छन्।
यो पनि हेर्नुहोस्कसरी युद्ध नाच जातीय सद्भावका लागि ब्युँताइँदैछ?