कोरोना भाइरस नेपाल: कुल सङ्क्रमितको सङ्ख्या बीस हजार नाघ्यो

देशभरिमा गत चौबीस घण्टामा थप ३१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार दिएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २०,०८६ पुगेको छ।

अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

यही अवधिमा ९३ जना सङ्क्रमणबाट निको भएको बताइएको छ।

अहिलेसम्म ७२% प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,५३८ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,९९३ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,८२,४०९ रहेको छ।

कुल निको हुनेको सङ्ख्या १४,४९२ रहेको छ।

अहिले देशभरिका क्वारन्टीनमा ११,५३३ जना छन्।

लकडाउन खुकुलो भएपछि कसरी बढ्दैछ सङ्क्रमण?

स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो पारिएको ११ दिन अघि र ११ दिन पछिको तुलना गरेर आँकडा प्रस्तुत गर्दा यो अवधिमा सङ्क्रमण पाइने दर ०.८ प्रतिशतले बढेको देखिएको जनाएको छ।

"साउन ७ देखि १७ गतेको अवधिमा ५८,१७४ पीसीआर परीक्षण गरिएको र त्यसमा २,०९२ जना सङ्क्रमित पाइएको छ। त्यो भनेको ३.८% सङ्क्रमण दर हो," मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

साउन ७ भन्दा ११ दिन अगाडिको अवधिमा भने ४७,८७७ पीसीआर परीक्षण गरिएको र त्यसमा १,३४५ जना सङ्क्रमित पाइएको बताइएको छ, जुन २.८% हुन आउँछ।

डा गौतमले सीमानाकामा स्थलमार्गबाट नेपाल आउनेहरूको स्वाब परीक्षणको नतिजा नआउन्जेल क्वारन्टीनमै राख्न स्थानीय निकायहरूलाई अनुरोध गरेका छन्।

साथै, उनले सरकारी कर्मचारीहरूलाई पनि उचित किसिमले मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गरेका छन्। पच्चीसजनाभन्दा धेरै सहभागी भएका गोष्ठी, बैठक वा अन्य कार्यक्रम नगर्न भन्दै अन्यथा गरिए घातक अवस्था आउने उनले चेतावनी दिएका छन्।

नेपाल ६५ औँ स्थानमा

विश्वका विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमितहरूको आँकडा राख्दै आएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तालिका अनुसार शनिवार अपरान्हसम्म धेरै सङ्क्रमित भएका मुलुकको सूचीमा नेपाल ६५ औँ स्थानमा रहेको छ।

दक्षिण एसियामा सबभन्दा धेरै सङ्क्रमित भारत अनि त्यसपछि पाकिस्तान, बाङ्ग्लादेश तथा अफगानिस्तानमा पाइएका छन्।

भारतमा करिब १७ लाख सङ्क्रमित पुगेका छन् र भारत विश्वमै तेस्रो स्थानमा छ।पाकिस्तान पौने तीन लाख सङ्क्रमित सहित १३ औँ अनि बाङ्ग्लादेश दुई लाख ३७ हजार सहित १६ औँ स्थानमा छन्।

माल्दिभ्स, श्रीलङ्का तथा भुटानमा चाहिँ नेपालमाभन्दा कम सङ्क्रमित पाइएका छन्।