नेकपा विवाद: वामदेव गौतमको अस्त्र क-कसलाई लाग्यो

नेता गौतम

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेता गौतम

नेकपा विखण्डनको बाटोतर्फ मोडिएको देखिएका बेला उपाध्यक्ष वामदेव गौतमले मङ्गलवार सहमतिको विकल्पको रूपमा प्रस्ताव राखेको भोलिपल्ट उक्त पार्टीभित्र सन्नाटा देखिन्छ।

आफ्ना पक्षका स्थायी समितिका सदस्यहरूको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर बैठक डाक्ने जिम्मेवारी पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुधवार मध्यान्हसम्म कुनै विशेष भेटघाट तालिका नभएको उनको सचिवालयले जनाएको छ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको साथ पाएका प्रचण्ड पार्टी अध्यक्ष तथा प्रम ओलीलाई एउटा पद त्याग्न लगाउने पक्षमा छ। तर प्रधानमन्त्री दुवै पद नछाड्न दृढ देखिन्छन्।

मध्यमार्गी देखिने उपाध्यक्ष गौतमको प्रस्तावमा ओलीको दुवै पद कायम राख्दै प्रचण्ड 'सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने' उल्लेख छ।

वामदेवको प्रस्तावको कमाल

उपाध्यक्ष गौतमले खुलेरै तत्काल दुवै पदबाट ओलीलाई हटाउन नहुने बताएपछि त्यसको असर पनि देखिन थालेको छ।

मङ्गलवारको बैठकमा गौतमको प्रस्ताव सुनेपछि प्रचण्ड निकट नेता जनार्दन शर्माले त्योभन्दा पनि अघि बढेर विवाद बिर्सिएर महाधिवेशनमा जाने बाटो रोज्नुपर्ने पक्षमा आफ्नो मत राखेका थिए।

उनी 'फुटे पनि जुटे पनि महाधिवेशनबाटै छिनोफानो गर्नुपर्ने' पक्षमा रहेको बताइन्छ।

अर्का नेता भीम रावलले गौतमको प्रस्तावलाई समर्थन गरेको समाचार आएको छ।

ओली

तस्बिर स्रोत, RSS

त्यसबारे बीबीसीको जिज्ञासमा रावलले भने, "पार्टीमा समस्या आउँदा विभिन्न प्रयासहरू गर्नु ठीकै हो, वामदेवजीले प्रयास गर्नुभएको रहेछ मात्रै भनेको हुँ।"

"समाधानको लागि त कस्तो प्रस्ताव अगाडि सार्नुपर्ने वा के गर्नुपर्ने हो, अहिले नै भन्न सकिने कुरा भएन।"

स्थायी समिति सदस्य गणेश साह प्रधानमन्त्री ओलीको दुवै पद कायम राखेर सहमति खोज्न सकिने पक्षमा देखिए।

उनी भन्छन्, "प्रधानमन्त्रीजी पार्टीको अध्यक्ष पनि रहने तर 'सेरेमोनियल' अनि प्रचण्डले पार्टी चलाउने गरी सहमति निकाल्न सकिन्छ कि।"

Presentational grey line

नेकपा विवादबारे थप सामग्रीहरू:

Presentational grey line

खुमलटारको 'हेला'

पूर्वमाओवादीका अन्य कतिपय स्थायी समिति सदस्यहरूमा पनि ओलीलाई एउटा कुनै पदबाट हटाएर पार्टी एकढिक्का राखिरहन सक्ने विश्वास देखिन्न।

नेता हरिबोल गजुरेलका विचारमा ओली इतरको राजनीतिक चाल गलत भएको ठान्छन्।

उनी भन्छन्, "प्रधानमन्त्रीले दुवै पद छाड्नु पर्छ भन्दा राष्ट्रियताको मुद्दा उठाइरहेको सन्दर्भमा जनताले राम्रो मानेनन्। पहिल्यै एउटा पद रोज्न भनेको भए प्रधानमन्त्रीलाई पनि नैतिक दबाव पर्थ्‍यो। त्यसैले समस्या पैदा गर्‍यो।"

प्रचण्ड निवास खुमलटारमा हुने बैठकमा नेपाल पक्षका नेताहरू सबै डाकिँदा पूर्वमाओवादीकै कतिपय स्थायी समिति सदस्यलाई नबोलाइएकाले कतिपयले हेला गरेको ठानेका छन्।

पूर्वनिर्धारित स्थायी समिति बैठकबारे रणनीति तयार गर्न खुमलटारमा सोमवार र मङ्गलवार छलफल भएको थियो।

नेता

तस्बिर स्रोत, RSS

रामबहादुर थापा र लेखराज भट्टबाहेक टोपबहादुर रायमाझी, लिलामणी पोख्रेल, चक्रपाणी खनाल, गणेश साह, मणि थापा, देवेन्द्र पौडेल र हरिबोल गजुरेललाई समेत त्यहाँ नबोलाइको बताइएको छ।

गजुरेलले भने, "खुमलटार र बालुवाटारमा भेटघाट भइरहन्छन्। खै क-कसलाई बोलाइएको थियो, म त गइन।"

अर्का एक सदस्यले 'जो गयो उसैलाई सहभागी गराउनुभन्दा अलि संस्थागत गर्नुपर्‍यो भनेर केहीले कुरा उठाएको' जानकारी दिए।

रायमाझी र थापा प्रधानमन्त्रीलाई जबरजस्ती पद छाड्न लगाउँदा पार्टी फुट्ने भन्दै त्यसो गर्न नहुने पक्षमा खुलेका छन्।

महाधिवेशनमा ओलीको ढोका बन्द?

कतिपयका बुझाइमा प्रचण्डले सकेसम्म महाधिवेशन पहिल्यै पार्टीको कार्यकारी भूमिका लिने नभए महाधिवेशनबाट अध्यक्ष बन्ने सुनिश्चितता खोजेको ठानेका छन्।

तर जनताको बहुदलीय जनवाद अङ्गिकार गर्नुपर्ने सर्तले उनलाई झस्काएको छ।

ओलीलाई अप्ठेरोमा नपार्दासम्म उनले आफूलाई अध्यक्ष दिनेछैनन् भन्ने आशङ्का प्रचण्डमा रहेकाले पनि विवाद लम्बिएको ठान्नेहरू पनि छन्।

'ओली बिरामी छँदासम्म प्रचण्डले धैर्य गरेको र अहिले तङ्ग्रिएकाले अर्को कार्यकाल पनि अध्यक्ष ताक्न सक्ने भयले प्रचण्ड हडबडाएको' बुझाइ ओली पक्षमा पाइन्छ।

'अहिले त यस्तो ताल छ, महाधिवेशनमा कसरी अध्यक्ष देलान्?' भन्ने पूर्वमाओवादीका एक नेताको प्रश्नबाट पनि प्रचण्डपक्षले त्यो सुनिश्चितता खोजेको बुझ्न सकिन्छ।

प्रचण्ड र नेपाल

तस्बिर स्रोत, RSS

त्यसैले 'पार्टी एकता महाधिवेशन सहमतिमा गर्ने' भन्ने गौतमको प्रस्तावमा छलफल गर्दै महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने वा आफ्ना मानिसलाई बनाउने ओलीको सम्भावित आकांक्षामा रोक लगाउने प्रयास हुने ती नेताको भनाइ छ।

ओली निकट नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलका भनाइमा पनि गौतमको प्रस्ताव 'एकताको पक्षमा मूलत: सकारात्मक' छ।

तर गौतमले 'आफूलाई लागेको कतिपय विषय लेखेको र त्यसमा छलफल गर्न सकिने' पोखरेलको भनाइले त्यही विषय पर्न सक्ने ठानिएको छ।

तर आफ्नो पक्षमा स्थायी समितिमा बहुमत हुँदाहुँदै यत्रो हङ्गामा पछि पनि एकताको मूल्यमा के दुवै पद ओलीको निम्ति छाडेर अघि बढ्न प्रचण्ड तयार होलान् त?

पूर्वएमालेका उच्च नेताहरूको साथ पाएर पनि प्रचण्ड अझैँ द्विविधामा रहेको उनी निकटस्थको भनाइ छ।

उनी निकट एक नेताले भने, "सम्भवत: दुई-चार दिनमा केही निर्णयमा पुग्नुहुन्छ कि।"