नेकपा विवाद: प्रचण्ड भन्छन्, 'पार्टीमा सङ्कट टरेको छैन'

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतामा सङ्कट निम्त्याउने गरी "अर्का अध्यक्ष (केपी शर्मा ओली) समेतको सक्रियता"मा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्।

शुक्रवार काठमाण्डूमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, "पार्टी सङ्कटमा छ किनकि हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्ष (केपी ओली) समेतको सक्रियता र पहलमा भएको छ, त्यसकारण यसले सङ्कटलाई व्यक्त गरेकै छ। त्यो तपाईँहरूले देखिराख्नुभएको छ, सबैले देखेकै कुरा हो।"

नेकपाभित्र चर्कँदो विवादबीच निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्नमा प्रधानमन्त्रीको सक्रियता रहेको भन्ने आरोपको चर्चा पार्टीभित्र यसअघि नै सुनिएको हो।

पार्टीका दुई अध्यक्षबीच सहमतिको खोजीमा विभिन्न चरणमा वार्ता भइरहेको भनिएका बेला त्यस्तो आरोप सावर्जनिक रूपमा नै अभिलेख हुने गरी बाहिर आएको छ।

प्रचण्डको आधिकारिक फेसबुक पेजमा समेत राखिएको उक्त कार्यक्रममको भिडिओमा उनले सरकार र प्रधानमन्त्री ओलीको खुलेर आलोचना गरेका छन्।

नेकपाका कतिपय नेताहरू समेत सहभागी उक्त कार्यक्रममा प्रचण्डले गरेका अर्का अध्यक्षको आलोचनाले नेकपाभित्र जारी विवाद र दुई अध्यक्षबीचको मतभेदको स्वरूप उजागर गरेको भन्ने अर्थमा बुझिएको छ।

के भने प्रचण्डले?

उनले भने, "मैले सार्वजनिक रूपमा पहिला पनि भनेको छु यहाँ पार्टी सङ्कटमा छ। साँचो कुरा के हो भने अहिले ठिकठाक छ भनेर मैले भनेँ भने त्यो सत्य होइन।"

प्रचण्ड

तस्बिर स्रोत, cmprachanda.com

उनले पार्टीको केन्द्रीय कमिटीकै बैठक दुई वर्षसम्म पनि बस्न नसकेको र विचार मन्थन हुन नसकेको भन्दै त्यसमा पनि असन्तुष्टि व्यक्त गरे।

उक्त कार्यक्रममा प्रचण्डले पार्टीलाई "सामूहिक निर्णय गर्ने थलो" र "विवेक"का रूपमा व्याख्या गर्दै "विवेकले सरकार अर्थात् सत्ता चलाउनुपर्ने"मा जोड दिएका थिए।

तर अहिलेको सरकारले पार्टी निर्णयलाई नपछ्याएर "विवेक"लाई वास्ता नगरेको उनको दाबी थियो।

उनले पार्टीले गत माघमै भारतले आफ्नो भू-भागमा राखेका नेपाली क्षेत्रहरू समेटेर नक्सा जारी गर्न निर्देशन दिएको तर सरकारले उक्त निर्णय कार्यान्वयन नगरेको बताए।

नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन पार्टी सचिवालय बैठकले निर्णय गरेर अन्तिम अवस्थामा मात्र उक्त कुरा नीति तथा कार्यक्रममा समेटिएको सुनाउँदै उनले त्यसको श्रेय प्रधानमन्त्रीलाई मात्र दिइएकोमा पनि प्रश्न उठाए।

ओली पक्षका नेता के भन्छन्?

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डले दिएको उक्त अभिव्यक्तिबारे आफूलाई जानकारी नभएको बीबीसीलाई प्रतिक्रिया दिए।

प्रचण्ड र ओली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रचण्ड र ओली

उनले भने, "त्यसबारे मलाई जानकारी भएन, मलाई विश्वास छ सहमति कामय गर्नुपर्छ भनेर लागेका पार्टीका नेताहरूले सार्वजनिक रूपमा त्यस्तो खालको नकारात्मक (जुन तपाईँले मलाइ सोध्नुभयो) त्यस्तो अभिव्यक्ति दिन्छन् भन्ने मलाइ विश्वासै छैन।"

उनले पार्टी र दुई अध्यक्षबीचको विवाद मिलाउन आफूहरू लागिपरेको दोहोर्‍याए।

उनले भने, "पार्टीमा सहमति भएन भने यस्ले यो जुन प्रणाली छ यो प्रणाली नै समाप्त होस् भनेर चाहना राख्नेहरूलाई मात्र खुसी बनाउँछ।"