नेकपा विवाद: प्रचण्डद्वारा ‘कमजोरी स्वीकार’, 'दुबिधा बोकेर' कसरी पुगे राष्ट्रपति कार्यालय

तस्बिर स्रोत, RSS
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'गोप्य सहमति गरेको' प्रचार भएपछि अर्का अध्यक्ष प्रचण्डले आफ्नो निवासमा नेताहरूलाई बोलाए स्पष्टीकरण दिएका छन्।
आइतवारको छलफलमा सचिवालय सदस्यहरूका साथै स्थायी समिति सदस्यहरू पनि थिए।
प्रचण्डले मूल रूपमा दुईवटा कुरामा आफ्नो प्रस्टीकरण दिएको नेताहरूले जनाएका छन्।
उनले पूर्वनिर्धारित समयभन्दा अघि महाधिवेशन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा आफूले सहमति जनाएको भन्नेबारे र राष्ट्रपतिलाई साक्षी राखेर सहमति गरेको भन्ने विषयमा प्रस्टीकरण दिएको बताइएको छ।
प्रचण्डले दिएको सहमति के थियो?
प्रचण्डले सचिवालयको बैठकमा 'सहमतिको विन्दु पहिल्याएर अघि बढौँ भन्ने आशयमा सरल ढङ्गले कुरा राख्दा' केही भ्रम उत्पन्न भएको स्वीकार गरेको उनी निकट एक नेताले बताए।
छलफलमा सहभागी स्थायी समितिका अर्का सदस्यका अनुसार 'अलिकति मैले आफ्नो कुरा सचिवालयको बैठकमा राख्दा कमी-कमजोरी भयो, त्यसले गर्दा मेरो कुरा राम्ररी बुझिएन' भन्ने प्रचण्डको स्पष्टीकरण थियो।
प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, "प्रधानमन्त्रीले हामी दुईको कुराकानीमा महाधिवेशनको कुरा ल्याउँछु भन्नुभयो, मैले सचिवालयको बैठकमा राख्नुस् भनेँ। तर जसरी जुन भाषामा मैले 'नो' भन्नु पर्थ्यो, त्यसरी भनिन तर त्यसमा मेरो सहमति थिएन।"
स्थायी समिति सदस्य भीम रावलका अनुसार प्रचण्डले 'प्रधानमन्त्रीको भनाइ हो त्यो, तर त्यसमा अरू साथीहरूको भनाइ के छ त्यसमा छलफल गरौँ भनेको हुँ' भनेका थिए।
पार्टी सदस्यता नवीकरण र तल्लो तहका अधिवेशनका जटिलताबारे कुरा राख्दै धेरै जसो नेताहरूले महाधिवेशन मंसिर महिनामा गर्न कसरी सम्भव हुन्छ भन्ने प्रश्न राखेका थिए।
नेता रावल भन्छन्, "उहाँले पनि महाधिवेशन गर्ने सहमति भएकै होइन भन्नुभयो।"

तस्बिर स्रोत, pm secretariat
प्रचण्डको भनाइ सत्य: ओली पक्ष
दुई अध्यक्षबीच कुरा भएपछि शनिवार भएको सचिवालय बैठकम प्रधानमन्त्रीले चैतभन्दा अघि नै महाधिवेशन गर्न प्रस्ताव गरेका थिए।
उनले त्यसमार्फत् नै आफूले पार्टी नेतृत्व हस्तान्तरण गर्ने र सरकार पाँच वर्ष आफूले चलाउने भनाइ राखेको समाचारहरू जनाइएको छ।
प्रचण्डले त्यसको प्रतिवाद नगरेपछि खासगरी वरिष्ठ नेताहरू सशङ्कित भएको र उनीहरूले प्रस्तावको विपक्षमा मत राखेको बताइएको छ।
त्यस राती करिब साढे १० बजे प्रचण्डको सचिवालयले भन्यो, "बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरू (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरू छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौँ।"
नाम खुलाउन नचाहने प्रधानमन्त्री निकट एक नेताले बीबीसीलाई बताए अनुसार 'समझदारी नभएको सही हो, किनभने ठोस रूपमा यसो गर्ने भन्ने टुङ्गोमा शनिवार पुगेको होइन'।
उनले भने, "टुङ्गोमा पुग्न गृहकार्य गर्ने भनिएको छ, शीघ्र महाधिवेशनतिर छलफल अगाडि बढेको र त्यसकै निम्ति आइतवारको स्थायी समिति बैठक पनि सरेको हो।"
के प्रचण्डलाई 'छल' गरियो?
सहमति नभएको सचिवालयको स्पष्टीकरण आउनु अघि प्रचण्ड प्रधानमन्त्री ओली लगायतका नेताहरूका साथ राष्ट्रपति कार्यालय पुगेका थिए।
बैठकमा ओलीको प्रस्तावप्रति असहमति नजनाउनु र लगत्तै राष्ट्रपति कार्यालय पुग्नुले नेकपाभित्र उनलाई साथ दिइरहेका नेताहरूलाई नै झस्कायो।

तस्बिर स्रोत, pm secretariat
आइतवारको छलफलमा सहभागी एक नेताका भनाइमा 'सचिवालयको बैठक सकेर हिँड्ने बेला महासचिव विष्णु पौडेलले एसएमएस गरेर प्रधानमन्त्रीले भेट्न खोजेको सन्देश पठाएपछि आफू प्रधानमन्त्री निवासमा पुगेको तर पछि फोनमा राष्ट्रपति कार्यालय बोलाइएको' प्रचण्डले सुनाए।
त्यसबारे नेता रावलले जनाए अनुसार प्रचण्डले सात बजेको समय निर्धारण भएको भन्ने खबर आएपछि प्रधानमन्त्रीसँग छलफल होला भनेर आफू त्यहाँ गएको बताए तर १५-२० मिनेटपछि महासचिव पौडेलले पर्खिरहेको खबर गरेका थिए।
रावलले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, "म त यहाँ (बालुवाटारमा) कुरिरहेको छु, भनेपछि उहाँ (विष्णु पौडेल) ले हामी राष्ट्रपतिज्यूकोमा छौँ, राष्ट्रपति पनि आइसक्नुभयो भनेपछि एकछिन त जाने कि नजाने भन्ने दुबिधा भयो।"
तर राष्ट्रपति र प्रधानमन्त्रीको मर्यादाको ख्याल गरेर आफू गएको प्रचण्डले सुनाए।
विवादमा राष्ट्रपति
राष्ट्रपति कार्यालयको सचिवालयका अनुसार समय लिइएपछि उक्त भेटघाटको प्रबन्ध मिलाइएको थियो।
प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने, "उहाँहरूबाट समय माग भएपछि हामीले व्यवस्थापन गरेका हौँ।"
तर कुराकानी के विषयमा केन्द्रित थियो भन्ने बताइएको छैन।
वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक स्थायी समिति सदस्यका अनुसार आइतवारको छलफलमा प्रचण्डले 'त्यहाँ कुरा नमिलेपछि सहमति नभएको सन्देश सचिवालयबाट जारी गर्न लगाएको' जानकारी गराएका थिए।
उनले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, "त्यसैले मेरो कुनै कुरा मिलेको छैन, म जहाँ जे छु त्यस्तै छु।"
नेता रावलले भने राष्ट्रपति कार्यालयमा भएको भनिएको राजनीतिक कुराकानीबारे प्रचण्डले दिएको जानकारीबारे खुलाएनन्।
उनले भने, "प्रचण्डजीले त्यहाँ बैठकको कुराबारे मैले खास भनिन भन्नुभयो।"
नेकपाको आन्तरिक राजनीतिमा परेको भन्दै विगतमा राष्ट्रपतिको आलोचना हुने गरेकोमा पछिल्लो प्रकरण फेरि प्रकाशमा आएको छ।








