नेकपा विवाद: कोरोनाभाइरसको जोखिमबीच चितवनमा प्रचण्डको धपेडी, केपी शर्मा ओलीको 'राजीनामा अध्याय खुलै'

तस्बिर स्रोत, cmprachanda.com
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद देशका विभिन्न ठाउँमा देखिएको बाढी, डुबान र पहिरोजस्ता प्राकृतिक विपद्सँगै केही सेलाएको देखिएको छ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लगातारको बैठक रोकेर अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गृहजिल्ला चितवन पुगेपछि उक्त विवाद मत्थर हुने अनुमान कतिपयले गर्न थालेका छन्।
प्रधानमन्त्री ओलीसँगै सल्लाह गरेर चितवन पुगेको प्रचण्डले बताएका छन्।
वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसहित प्रचण्ड तथा अन्य नेताहरूले पार्टी स्थायी समितिको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेपछि विवाद चर्किएको थियो।
'मुद्दा जीवित'
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार कतिपयले आशङ्का गरे जस्तो ती मुद्दाहरू "अन्त्य भएका छैनन्, जीवित छन्"।
उनी भन्छन्, "कुनै पनि कुरा सकिएको छैन। एजेन्डाहरू यथावत छन्।"
त्यहाँबाट प्रचण्ड सोमवार फर्किने कार्यक्रम छ।
सापकोटाका भनाइमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर राहत तथा उद्धारमा कार्यकर्तालाई परिचालन गरेर फर्किएपछि फेरि छलफल गरौँला भनेर प्रधानमन्त्री ओलीको परामर्शमा प्रचण्ड चितवन गएका हुन्।
उनी त्यहाँ भेटघाट, निरीक्षण लगायतका विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएका छन्।
त्यस क्रममा उनले मास्क लगाएको भए पनि विज्ञहरूले सुझाव दिएको दुई मिटरको भौतिक दूरी राखेको देखिएको छैन।
सङ्क्रमणको जोखिमपूर्ण भेटघाट
चितवनस्थित बीबीसीका संवाददाता ईश्वर जोशीका अनुसार प्रचण्ड उपस्थित कार्यक्रममा भिडभाड हुने गरेको छ।
कोरोनाभाइरसबाट सङ्क्रमितहरू देखिएको चितवनमा उनको सक्रियताबाट सङ्क्रमणको जोखिमलाई लिएर उनी पूर्ण सतर्क रहेको देखिँदैन।
उच्च नेताहरू गृहजिल्ला जाँदा कार्यकर्ताहरूको भिडभाड हुने भएकाले त्यो पूर्ण सम्भव नहुने गरेको बताइन्छ।

तस्बिर स्रोत, cmprachanda.com
काठमाण्डूमा हुने पार्टी बैठकका क्रममा समेत नेताहरूले निश्चित दूरी राख्नुपर्ने नियमको पालना नगरेको देखिन्छ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नेताहरूले खेलाँची गरेको भन्दै उनीहरूका गतिविधिले सर्वसाधारण नागरिकलाई समेत त्यसको बेवास्ता गर्न प्रेरित गर्ने बताए।
विश्वका विभिन्न देशहरूमा उच्च पदस्थ नेतृत्वकर्ता पनि सङ्क्रमित भएको उदाहरण प्रस्तुत गर्दै उनले भने, "देश हाँक्ने अगुवा विश्वव्यापी महामारीको विषयमा संवेदनशील नभएको सन्देश गएको छ।"
चितवनबाट आएपछि प्रचण्डको राजनीतिक परामर्श काठमाण्डूमा पनि बाक्लो हुनेछ।
प्रचण्डको स्वास्थ्य परीक्षण
बाहिरबाट राजधानी उपत्यका आउनेहरूलाई नागढुङ्गास्थित स्वास्थ्य डेस्कले उनीहरूको भेटघाट र दैनिक सोधेर सेल्फ आइशोलेसन/क्वारन्टीनमा बस्नुपर्ने वा नपर्नेबारे निर्णय दिने गरेको स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए।
अस्पतालमा भेट गरेकी एक महिलामा सङ्क्रमण पुष्टि भएपछि स्वाथ्यमन्त्री भानुभक्त ढकाल पनि घरभित्रै क्वारन्टीनमा बसे र पीसीआर परीक्षणमा नेगेटिभ देखिएपछि काममा फर्किएका थिए।
स्वास्थ्य अधिकारीहरू पनि प्रचण्ड वा अन्य कुनै पनि नेताहरूले पनि भेटघाटमा निश्चित नियमको पालना गर्नुपर्ने र जोखिमपूर्ण यात्रा वा भेटघाटपछि परीक्षण गराउनुपर्ने बताउँछन्।
उनीहरू प्रचण्ड पत्नीकै स्वास्थ्य कमजोर रहेको र देशको कार्यकारी प्रमुखसँग पनि उनको सीधै भेटघाट हुने सन्दर्भ उल्लेख गर्दै प्रचण्ड त्यसबारे थप सजग हुनुपर्ने धारणा राख्छन्।
प्रचण्डले केही दिनअघि पीसीआर परीक्षण गराएको र चितवनमा भेटघाट गर्दा 'सक्दो सजगता अपनाएको' उनको सचिवालयले जनाएको छ।
उनका प्रेस संयोजनक सापकोटामा अनुसार चितवनबाट फर्किँदा पनि प्रचण्डले स्वास्थ्य 'प्रोटोकल' अनुसारका आवश्यक परेमा परीक्षण गराउने जानकारी दिए।
यसअघि नेकपाकै नेता भीम रावलका एक सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको भन्दै पार्टी स्थायी समितिको बैठक समेत स्थगित गरिएको थियो।








