नेकपा: के प्रधानमन्त्री केपी शर्मा ओली फेरि पार्टीको अन्तर्कलहबाट उम्कन सक्लान्

प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, RSS

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्को रूपमा उठेको छ।

गत आइतवार प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन भारत र आफ्नै पार्टीभित्रका नेता लागेको अभिव्यक्ति दिएपछि बालुवाटारमा चलिरहेको नेकपाको स्थायी कमिटीको बैठकमा उनको चर्को आलोचना भएको हो।

राजीनामा माग गर्नेमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अन्य शीर्ष नेताहरू र स्थायी कमिटी सदस्य छन्।

पार्टीभित्र प्रधानमन्त्री ओलीको विपक्षमा आवाज उठेको र राजीनामाको माग भएको यो पहिलो पटक होइन।

के अघिल्लो पटकहरूमा झैँ यस पटकको कठिन परिस्थितिलाई पनि ओलीले साम्य बनाउन सक्लान्?

विगतका असन्तुष्टि

प्रधानमन्त्रीको रूपमा करिब साढे दुई वर्ष बिताइसकेका ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूले लिने गरेको भनेर पटकपटक आलोचना भएको छ।

कुनैकुनै बेला उनले एउटा पद छोड्नु पर्ने माग चर्को बने पनि ती कुनै न कुनै हिसाबले साम्य बनाउन ओली सफल देखिएका छन्।

अन्तिम पटक त्यस्तो विरोध दुई महिनाअघि स्थायी कमिटीका सदस्यहरूले हस्ताक्षर नै गरेर बैठकको माग गरेपछि देखिएको थियो।

सचिवालय बैठक र स्थायी कमिटी बैठक दुवैमा ओली अल्पमतमा थिए।

तर गत बैशाखमा स्थायी कमिटीले बैठकको माग गरिरहेकै बेला बसेको सचिवालयको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय सचिवालय बैठकको अजेन्डामा नरहेको बताएपछि साम्य भएको थियो।

स्थायी कमिटीमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड

तस्बिर स्रोत, RSS

यसपटक कठिन?

यसपटक भने प्रधानमन्त्रीलाई पार्टीभित्र विगतभन्दा बढी दबाव परेको विश्लेषकहरू बताउँछन्।

राजनीतिक विश्लेषक टीका ढकालले भने, “विगतमा सचिवालय बैठकमा मात्रै बहसमा रहेको विषय अब स्थायी कमिटी बैठकमै देखिएको छ। त्यसैले यो गम्भीर बनेको छ।"

"प्रधानमन्त्रीको राजीनामा मात्रै नभई पार्टी विभाजनको सम्भावनासमेत निम्तिएको देखिन्छ।”

“प्रधानमन्त्रीको पदमात्रै नभई पार्टीभित्र शक्ति बाँडफाँटको कुरा उठेका छन् र यसपटक त्यति सजिलैसँग प्रधानमन्त्री उम्किन सक्नुहुन्छ जस्तो मलाई लाग्दैन,” विश्लेषक ढकालले थपे।

'ठोस निष्कर्ष निस्किन्छ'

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि कुन रूपमा अघि बढ्छ भन्ने अहिले नै भन्न नसकिने बताए।

तर प्रचण्ड निकट मानिने श्रेष्ठले यसपटकको बैठकबाट एउटा निचोड निस्कने लागेको बताए।

त्यसको अर्थ प्रधानमन्त्रीले राजीनामा दिन्छन् भन्ने हो?

श्रेष्ठले भने “प्रधानमन्त्रीको पद यही हुन्छ भन्ने कुरा त स्थायी कमिटीका साथीहरूको छलफल गरिरहेका बेला भन्न सकिने अवस्था भएन।"

"तर यो पटकको छलफलले ठोस निष्कर्ष निस्कन्छ। पार्टी र सरकारको भविष्यका लागि एउटा सकारात्मक बाटो निस्किन्छ भन्नेमा म विश्वस्त छु।”

बुधवार पाँचजना सदस्यले बोलेपछि स्थगित भएको ४५ सदस्यीय स्थायी कमिटीको बैठक बिहीवार बस्दै छ।

अध्यक्ष दुई जना रहे पनि प्रधानमन्त्री ओलीले हाबी हुने गरेको भन्दै पार्टी एकीकरणकै बेलादेखि प्रचण्डले असन्तुष्टि पोख्दै आएका छन्।

प्रचण्ड र नेपाल

तस्बिर स्रोत, RSS

अब के हुन्छ?

विश्लेषक श्याम श्रेष्ठ पनि विगतभन्दा प्रधानमन्त्रीका लागि यसपटक परिस्थिति निकै असहज भएको बताउँछन्।

उनले भने, “विगतमा जस्तो प्रधानमन्त्रीका लागि उधारोमा सम्झौता गर्ने छुट नेताहरूले यसपटक दिने छैनन्। प्रचण्ड, झलनाथ [खनाल], माधवकुमार नेपाल र बामदेव [गौतम] सबै उनका विपक्षमा छन् र विगतका आश्वासनहरूबाट दिक्क भएका छन्।”

श्रेष्ठले थपे, “प्रधानमन्त्रीको राजीनामा माग गरे पनि खासमा समस्या भएको शक्ति बाँडफाँटको विषयले हो। त्यसलाई मिलाएर जाने विकल्प प्रधानमन्त्रीका लागि कठिन छ तर असम्भव छैन।”

उनका अनुसार विगतमा भागबण्डाको कुरामा मात्रै असन्तुष्टि जनाएका नेताहरू र स्थायी कमिटीका सदस्यहरू यसपटक भारतसँग जोडर प्रधानमन्त्रीले लगाएको आरोप र ‘अरू कसैलाई नगन्ने प्रधानमन्त्रीको दम्भ'बाट आजित छन्।

'राजीनामा कठिन'

विश्लेषक ढकाल भन्छन्, “तर वहाँले स्वेच्छाले राजीनामा दिने बाहेक संसदीय बाटोबाट राजीनामा हुने सम्भावना म कम देख्छु।”

“पार्टी फुट्छ भन्ने समस्या बनेको छ तर त्यहाँसम्म कुरा नपुग्ला। आखिर यस्तो बेला नेताहरूबीच व्यक्तिगत स्वार्थ र शक्ति बाँडफाँटको विषय हाबी हुने विगतमा देखिएको छ।”

विश्लेषक श्रेष्ठ पनि सहमत छन्।

उनी भन्छन्, “मलाई कुनै हालतमा प्रधानमन्त्रीले राजीनामा गर्लान् जस्तो लाग्दैन।"

"उनको विरुद्ध आवाज उठाएका नेताहरूमा पनि ‘इगो टसल’ देखिन्छ। तर उनीहरू उधारो सम्झौतामा आश्वस्त होलान् जस्तो पनि लाग्दैन,” श्रेष्ठले थपे।