केपी शर्मा ओलीः प्रधानमन्त्री 'पद नछोड्ने' मनस्थितिमा, झलनाथ खनाल भन्छन्, 'राजीनामाको विकल्प छैन, तर पार्टी फुट्दैन'

ओली

तस्बिर स्रोत, RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष रूपमा भारतको नाम नलिई तर उसैलाई सङ्केत गर्दै "आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको" बताएको पर्सिपल्ट सत्ताधारी दलका नेताहरूले पार्टी बैठकमै उनको राजीनामा माग गरेपछि नेपालमा नयाँ राजनीतिक तरङ्ग उत्पन्न भएको छ।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा मङ्गलवार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरूले ओलीको राजीनामा माग गरेका हुन्।

तर बैठकमा त्यस्तो माग उठेको भए पनि ओलीले अहिले नै राजीनामा नदिने उनका एक सल्लाहकारले बीबीसीलाई बताएका छन्।

पार्टीका एक वरिष्ठ नेताले अब ओलीसँग राजीनामाबाहेक अन्य विकल्प बाँकी नभएको र प्रधानमन्त्री पदमा बस्ने अधिकार उनी "आफैँले खोसेको" टिप्पणी गरे।

बैठकमा के भयो?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बसेको स्थायी कमिटी बैठकमा बोल्ने सबैजसो नेताहरूले ओलीले आइतवार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेको उक्त बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन्।

नेकपा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेकपाको मङ्गलवार बालुवाटारमा बसेको स्थायी कमिटी बैठक

त्यस्तै प्रधानमन्त्रीले महामारीका बेला पनि काम गर्न नसकेको तथा पार्टी र सरकारलाई एकलौटी ढङ्गले चलाएको आरोप उनीहरूले लगाए।

पहिलेको नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई फुटाउने उद्देश्यले सोमवार निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गराइएको भन्ने विषयले पनि उक्त बैठकमा प्रवेश पाएको नेता देवेन्द्र पौडेलले मङ्गलवार साँझ बीबीसीलाई बताएका थिए।

ती विषयहरूमा विवाद उठेपछि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग भएको पौडेलले जानकारी दिए।

उनका अनुसार आइतवार ओलीले दिएको अभिव्यक्तिले पार्टीकै नेताहरूलाई "विदेशी दलाल"का रूपमा प्रस्तुत गरेको भन्दै अर्का अध्यक्ष दाहालसहितका नेताहरूले ओलीको कडा आलोचना गरेका थिए।

ओलीले भने सरकारको कामको प्रतिरक्षा गर्दै अरू नेताका अभिव्यक्तिलाई 'कुण्ठा'का रूपमा अर्थ्याएको पौडेलले बताए।

ओलीले के भनेका थिए?

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा राजधानीमा आइतवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई विगतमा जस्तै पदबाट हटाउन खोजिएको दाबी गरेका थिए।

ओली

तस्बिर स्रोत, RSS

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखिएको प्रसङ्गलाई इङ्गित गर्दै ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोजिएको बताउँदै त्यो कुनै गल्ती नभएको उनले बताएका थिए।

प्रधामन्त्री ओलीले भनेका थिए, "तर त्यसो गरेपछि नेपालकै नेताहरू लागिपरेका छन्, बहस चलेको छ। अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन।"

विगतमा चीनसँग व्यापार तथा पारवहन सन्धी गरेर फर्केपछि आफू नेतृत्वको सरकार ढालिएको उनले दाबी गरे।

"…दिल्लीका सञ्चारमाध्यमहरूलाई सुन्नूस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलमा भइरहेका गतिविधिहरू त्यसले पनि देखाउँछ। एम्बेसी [ दूतावास] को सक्रियता त्यसले पनि बताइरहेको छ।"

'राजीनामाको विकल्प छैन'

केपी ओलीको राजीनामा मागिएको विषयलाई लिएर पार्टीभित्र विवाद बढिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीसँग राजीनामाको विकल्प नभएको बताएका छन्।

बुधवार बीबीसीसँग कुरा गर्दै खनालले भने, "उहाँले राजीनामा दिनुपर्छ अर्को विकल्प हामी देख्दैनौँ। उहाँले दुई वर्षदेखि पार्टी र सरकार सञ्चालन गर्न सक्नुभएन। मुलुकको विदेश नीतिलाई सन्तुलित ढङ्गले चलाउन सक्नुभएन।"

"मित्रराष्ट्रहरूप्रति विभिन्न खालका गालीहरू गर्न थाल्नुभयो, असन्तुलित हुनुभयो। त्यसकारण उहाँले त्यो पदमा बस्ने अधिकार नै आफैँले खोसिसक्नु भयो।"

उनले स्थायी समिति बैठकले ओलीको राजीनामाबारे निर्णय गर्ने र त्यसैअनुसार प्रक्रिया अघि बढ्ने बताए।

खनालले ओलीले "अशोभनीय ढङ्गले पार्टी र सरकार चलाएको" आरोप पनि लगाए।

Jhalanath Khanal
RSS
हामीले आवश्यकता पर्दा चट्ट विकल्प निकाल्न सकिने अवस्था छ। विकल्पमा एक मात्र होइन अनेक छन्...
झलनाथ खनाल
वरिष्ठ नेता, नेकपा

ओलीले राजीनामा दिए को प्रधानमन्त्री हुने भन्ने विकल्प रहेको र त्यसबारे आफूहरूबीच कुनै विवाद नभएको बताए।

"हामीले आवश्यकता पर्दा चट्ट विकल्प निकाल्न सकिने अवस्था छ। विकल्पमा एक मात्र होइन अनेक छन्। ती विकल्पहरू अहिले विवादमा छैनन्। उनीहरूबीच राम्रो समझदारी छ," खनालले भने।

प्रधानमन्त्रीले राजीनामा नदिए उनलाई दुवै पद (अध्यक्ष र प्रधानमन्त्री) बाट हटाउन पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन पनि सकिने खनालले सङ्केत गरे।

नेताहरूका अनुसार खनालसहित अर्का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र अध्यक्ष दाहाल ओलीलाई हटाउने मागमा अहिले एकै ठाउँ देखिएका छन् र उनीहरूले केन्द्रीय कमिटीको बैठक बोलाउने दबाब सिर्जना गरिरहेका छन्।

'पार्टी फुट्दैन'

खनालले अहिलेको विवादले नेकपा नफुट्ने दाबी गरे।

उनले भने, "पार्टी कुनै हालतमा फुट्न सक्दैन। पार्टी फुटाउने कसैको त्यस्तो मनसाय पनि छैन। केपी कमरेडले नै पार्टी चोइट्याउनु भयो भने बेग्लै कुरा भयो।"

"पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत हुनुपर्छ। अहिले कमरेड केपी ओलीको पक्षमा ४० त होइन २० प्रतिशत पनि छैन होला।"

"चोइट्याउने कुरा त के भयो र? जो पनि पार्टीबाट निस्किन सक्छ, चोइट्याउन सक्छ। त्यस्तो खालको कुराहरूको खासै अर्थ रहँदैन।"

नेता पौडेलले भने विवाद बढ्दै जाँदा "पार्टी फुट्ने वा विघटन हुने अवस्थामा पनि पुग्न सक्ने" बताएका थिए।

'प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न'

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले अहिले नै प्रधानमन्त्रीले राजीनामा नदिने बताए।

बीबीसीसँग उनले भने, "बैठकमा यस्ता विषयहरू छलफल त हुन्छ नि! हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो।"

"तर अहिले नै प्रधानमन्त्रीले राजीनामा दिने स्थिति नबन्ला। किनकि यो पाँच वर्षको स्थिर सरकार हो। यसबीच प्रधानमन्त्री यताउता गर्दा जनमतको पनि अनादर हुन्छ।"

ओली

तस्बिर स्रोत, RSS

भट्टराईले कोरोनाभाइरस महामारीका बेला नेतृत्व परिवर्तनको विषय सोच्नु नहुने तर्क गरे।

भट्टराईले भने, "महामारीको बेला नेतृत्वको किचलो झिक्नु हुँदैन।"

त्यस्तै अहिले सीमा विवाद समाधान गर्नुपर्ने बेला भएकाले पनि प्रधानमन्त्रीले राजीनामा नदिने उनको भनाइ छ।

"सीमा र राष्ट्रियताको विषय उठिरहेका बेलामा र समस्या समाधान गर्ने हिसाबले हामी विपक्षी पार्टीलाई त एक बनाएर हिडेका बेला आफैँभित्र अर्को भनेर जाँदा राम्रो सन्देश दिँदैन।"

त्यसले जनतामा राम्रो सन्देश पनि नजाने उनले बताए।

राजीनामा नदिए के हुन्छ?

ओलीले सहजै राजीनामा नदिए अन्य नेताहरूले केन्द्रीय समितिको बैठक बोलाएर अध्यक्ष छाड्न बाध्य बनाउने र संसदीय समितिको बहुमत प्रयोग गरेर प्रधानमन्त्रीबाट हटाउने तयारी गरेको नेकपाका नेताहरू बताउँछन्।

पार्टीभित्रबाट पद छोड्न दबाव बढेपछि ओलीले राष्ट्रपतिसँग पटकपटक भेटघाट गरिसकेका छन् भने बुधवार मन्त्रीहरूसँग पनि छलफल गरेको विवरणहरू आएका छन्।

ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउन भने केन्द्रीय कमिटीको बैठक नबसी स्थायी कमिटीले पनि सक्ने नेताहरू बताउँछन्।

यदि ओलीले पार्टीको निर्णय नमाने उनलाई अनुशासनको कारबाही गर्ने विकल्प पनि पार्टीसँग रहन्छ।