नेकपा सचिवालय बैठक: शीर्ष नेताद्वारा आत्मालोचना, स्थायी कमिटीको बैठक वैशाख २५ गते

नेकपा अध्यक्षद्वय

तस्बिर स्रोत, Surya Thapa/Facebook

प्रधानमन्त्री तथा पार्टीका अन्य शीर्ष नेताहरूको आत्मालोचना, आगामी वैशाख २५ मा स्थायी कमिटी बैठक बोलाउने लगायतका निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय पार्टी सचिवालय बैठकमा अब नरहेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

शनिवार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठकपछि पार्टी प्रवक्ता तथा सचिवालय सदस्य श्रेष्ठले बैठकमा पछिल्लो समय देखिएको आन्तरिक विवादबारे समीक्षा भएको र वैशाख २५ गतेका लागि स्थायी कमिटीको बैठक बोलाइएको बताएका छन्।

श्रेष्ठले बीबीसी न्यूज नेपालीलाई भने, "नयाँ प्रधानमन्त्री को बन्ला वा प्रधानमन्त्रीले कहिले राजीनामा दिने भन्ने एजेन्डा सचिवालय बैठकमा अब रहेन।"

"पार्टीको आन्तरिक विषयमा केहि समययता समस्या देखिएको थियो। अब पार्टीको एकतालाई सुदृढ गर्दै लैजाने र भएका कमीकमजोरी सुधार्ने भनेर प्रधानमन्त्रीले आत्मालोचना गर्नुभएको छ।"

यसअघिका सचिवालय बैठकमा उठेका विषय अब सचिवालयको एजेन्डाभित्र नरहेको श्रेष्ठले बताएका हुन्।

उनले भने, "वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने वा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने भन्ने विषय नै अब रहेन। अब त पार्टीलाई कसरी बलियो बनाउने र सरकारलाई सघाउने भन्ने विषयमा छलफल गर्न बैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाइएको छ।"

शनिवारकै सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा उपयुक्त समयमा लैजाने विषयमा पनि निर्णय गरेको उनले बताए।