प्रचण्ड: सानातिना कार्यक्रममा किन चितवन

नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष प्रचण्ड तरकारी बजार उद्घाटन गर्न चितवन पुगे।
प्रचण्ड चितवनका सांसद हुन् भने उनकी छोरी भरतपुर महानगरपालिकाकी मेयर छिन्।
सरकार सञ्चालन प्रभावकारी बनाउन सघाउने जिम्मेवारीमा रहेका प्रचण्ड सानातिना कार्यक्रममा पनि चितवन पुगिरहेको देखिन्छ।
पहिलो संविधानसभामा रोल्पाबाट अनि दोस्रो संविधानसभामा काठमाण्डू र सिरहाबाट चुनाव लडेका प्रचण्डको चितवन मोहलाई कतिपयले आफ्नो पकड क्षेत्रको रुपमा स्थापित गर्ने चाल रहेको बताउँछन्।
कारण
प्राध्यापक सरिता तिवारीले भनिन्, "भरतपुर महानगरपालिकामा उहाँको विशेष खालको लगाव देखिन्छ। कुन टोलमा गएर के भन्ने, कुन गाउँमा गएर के भन्ने, सम्पूर्ण चितवनप्रति बढी जिम्मेवार छु भन्ने उहाँ पटक पटक देखाउन चाहनुहुन्छ। कालान्तरसम्मको प्रभाव क्षेत्र बनाइरहने आशय उहाँमा देखिन्छ।"
नेता प्रचण्ड चितवनमा विद्यालयको विर्षिक उत्सवदेखि तरकारी बजारको उद्घाटन जस्ता साना साना कार्यक्रममा पनि आउने गरेका छन् ।
तर नेता प्रचण्ड पटक पटक चितवन आउनुको कारणबारे भने फरक धारण राख्छिन् भरतपुर महानगर पालिकाकी मेयर तथा उनकी छोरी रेणु दाहाल।
आकलन
उनले भनिन्, "चितवनमा मात्रै आएको अन्य क्षेत्रमा कतै पनि उपस्थित नरहेको भन्ने होइन। उहाँ सबैतिर गइरहनुभएको छ र साथसाथै चितवनलाई अलि बढी जोड दिनुभएको छ।"
तर चितवनमा हुने कार्यक्रमहरूमा नेता प्रचण्ड राजनीतिक भाषण भन्दा विकासे भाषणमा केन्द्रित हुने गरेका छन्।
आइतवारको भाषणका क्रममा उनले भने, "यो भरतपुर महानगरपालिका विकासको निम्ति देशभरीको एउटा सकारात्मक शिक्षा, सकारात्मक सन्देशको ठाउँ हुनसक्छ।"
चितवनबाट नै प्रतिनिधि सभा सांसद बनेका नेता प्रचण्ड चितवन केन्द्रित हुनुलाई कतिपय राजनीतिक दलहरूले चितवनलाई नै आफ्नो राजनीतिको केन्द्र बनाउने दाउमा रहेको आकलन गर्न थालेका छन् ।








