भरतपुरको प्रमुखमा रेणु दाहाल विजयी

विजयी

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्।

सहायक प्रमुख निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार उनी आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले भन्दा २०३ बढी मत ल्याएर विजयी भएकी हुन्।

दाहालले ४३, १२७ मत र ज्ञवालीले ४२, ९२४ मत ल्याएका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छन्।

तालमेल

भरतपुरमा सत्तारुढ घटकहरु काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार उठाएका थिए।

गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय चुनावको मतगणना गर्ने क्रममा भरतपुर वडा नम्बर १९ का मतपत्र च्यातिएका थिए।

त्यसपछि मतगणना स्थगित गरिएको थियो।

मतगणना

त्यसले चरम राजनीतिक विवाद निम्त्याएको थियो।

उक्त विषयमा निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको थियो।

अदालतले हालसालै पुन:मतदान नै हुनुपर्ने फैसला गरेपछि शुक्रबार वडा नम्बर १९ मा मतदान भएको हो।

वडा नम्बर १९ को मतपत्र च्यातिएपछि बाँकी रहेको वडा नम्बर २० को समेत मतगणना हुन सकेको थिएन।