को हुन् रेणु दाहाल?

विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेणु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् ।
विक्रम सम्वत् २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन्।
प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डूकी जिल्ला सचिव हुँदै हाल पोलिटब्युरो सदस्य रहेकी छन्।
प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन्।
दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भएकी थिइन्।
प्रश्न
उनको जितलाई कतिपयले सहज रुपमा लिएको देखिदैंन।
खासगरी दाहालसँग पराजित उम्मेदवार देवी ज्ञवालीको पार्टी एमालेले पुन:मतदान गराउने विषयको चर्को आलोचना गरेको थियो।
पुन: मतदान गराउन नै माओवादी केन्द्रका प्रतिनिधिहरुले 'षड्यन्त्रपूर्वक' मतपत्र च्यातेको आरोप एमालेले लगाउँदै आएको छ।
तर मतपत्र च्यातिएको र मतदानस्थल कब्जामा लिएको देखिएको भन्दै निर्वाचन आयोगले पुन:मतदान गराउने निर्णय गर्यो।
त्यसलाई चुनौती दिदैं परेको मुद्दामा सर्वोच्च अदालतले आयोगकै पक्षमा फैसला गरेपछि शुक्रबार पुन:मतदान भएको थियो।
यद्यपि एउटा कित्ताबाट रेणु दाहालको जितलाई संशयपूर्वक हेरिएको छु जुन विषय सामाजिक सञ्जालमा पनि प्रष्ट झल्कन्छन्।
र, यी संशयले दाहाललाई पछ्याइरहने प्रष्टै देखिन्छ।
साथै पिताकै कारण भरतपुरमा प्रमुख पदमा उनले उम्मेदवारी पाएको भन्ने ठान्नेहरुको कमी पनि छैन र तिनलाई आफ्नो कामद्वारा जवाफ दिनुपर्ने अर्को चुनौती दाहालसामू रहेको कतिपय तर्क गर्छन्।








