नेकपा विवाद: केपी शर्मा ओलीको दुवै पद नछोड्ने अडानले के ‘अस्थायी युद्धविराम’ भङ्ग होला?

तस्बिर स्रोत, RSS
सत्तारूढ दल नेकपामा सहमतिको प्रयास गर्ने भन्दै अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच लगातार छलफल भयो। तर बुधवारको छलफलबाट छुट्टिँदा भोलिपल्ट फेरि वार्ता गर्ने निधो नगरेरै उनीहरू उठे।
प्रचण्ड प्रधानमन्त्री निवासबाट केही सङ्केत आएपछि छलफल गर्न जाने मनस्थितिमा थिए। तर अपराह्णसम्म संवाद भएको छैन।
प्रचण्ड र ओलीनिकट नेताहरूका अनुसार प्रधानमन्त्री ओली दुईमध्ये कुनै पनि पद नछाड्ने अडानमै छन्।
प्रचण्डनजिक मानिने एक नेताका भनाइमा बुधवारको बैठकमा सहमति हुने सङ्केत नदेखिएपछि वार्ता रोकिएको हो।
अब बैठक कि फेरि वार्ता?
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भनाइमा छलफल दुई अध्यक्षको तहमै छ।
"बिहीवारको निम्ति छलफलको निधो नभएको मात्र हो, जुनसुकै बेला पनि हुनसक्छ," उनले भने, "दुबैले आपसमा भएका कुराकानी सार्वजनिक गर्नुभएको छैन।"
दुई अध्यक्षबीचको द्वन्द्वपछि शुक्रवारको बैठक स्थगित गर्न नहुने पक्षमा ओलीइतर खेमाका नेताहरूको पाइन्छ।
नेता नारायण दाहाल भन्छन्, "दुई अध्यक्षबीचको वार्ता केही दिन पो हुने हो, सधैँ पार्टीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन।"
स्थायी समिति सदस्य रघुजी पन्तले पनि स्थायी कमिटीको बैठकबाट आउने निष्कर्षको आधारमा निर्णय गर्नुपर्ने बताए।

तस्बिर स्रोत, RSS
तर शुक्रवारको निम्ति सरेको बैठक अब हुन्छ वा फेरि स्थगित हुन्छ भन्नेबारे आफूलाई थाहा नभएको उनले जानकारी दिए।
'गोरु ब्याउने आशा'
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका नेताहरू ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पद त्याग गर्न बाध्य बनाउने पक्षमा छन्।
तर आपसी सहमतिबाट जारी विवादको हल हुनेमा नेताहरू नै आशावादी देखिन छाडेका छन्।
प्रचण्डले आफूहरूलाई दिएको जानकारीका आधारमा प्रचण्ड निकट एक नेताले भने, "प्रधानमन्त्रीले त तपाईँहरूले मलाई कारबाही गर्नूस्, त्यसपछि म तपाईँहरूलाई कारबाही गर्छु अनि आ-आफ्नो बाटो लागौँ पो भन्नुहुन्छ।"
ती नेताका अनुसार 'हठ नगर्नूस्, मिलाएर अघि बढौँ' भन्दै प्रचण्डले सहमतिको प्रयास गरिरहेका छन्।
तर सहमतिको सम्भावनाप्रति अविश्वास दर्शाउनेगरी रघुजी पन्तले भने, "अहिलेसम्म केही भएको छैन। गोरु ब्याउला भनेर पर्खेर बसेका छौँ।"
त्यस्तो आशा गरेपछि अपेक्षित परिणाम निस्किएका त भन्ने जिज्ञासामा पन्तले भने, "अब के गर्नू त! दुई अध्यक्षलाई वार्ताको जिम्मा दिइएको छ, वार्ता मिलिरहेको छैन।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
'अस्थायी युद्धविराम' के हुन्छ?
विवादको छिनोफानो आजै हुन्छ वा भोलि नै हुन्छ र त्यसले पार्टीलाई विभाजनको बाटोमा डोर्याउँछ भन्ने परिस्थिति आउन नदिन दुई अध्यक्षबीच संवादको शृङ्खला चलेको थियो।
विभाजनको जोखिमलाई पछाडि धकेलिदिएको त्यो चरणलाई नेकपाकै केही नेताले 'अस्थायी युद्धविराम'को सङ्ज्ञा दिएका थिए।
नेकपाका दुवैथरी नेताको कुरा सुन्दा त्यो 'अस्थायी युद्धविराम' अन्त्य हुने चरणमा प्रवेश गरेको देखिन्छ।

तस्बिर स्रोत, PM's Secretariat
तर प्रचण्ड र उनलाई साथ दिएका नेताहरूका निम्ति टसमस नगर्ने प्रधानमन्त्री ओलीको अडानको प्रतिवाद प्रक्रियागत रूपमा गरेर पार्टी विभाजनको जोखिमतर्फ कसरी अघि बढ्ने भन्ने प्रश्न जटिल बनेर उभिएको छ।
प्रचण्ड निकटस्थ एक नेताका भनाइमा 'प्रधानमन्त्रीले ढोका बन्द गरि बसेका छन्, उनलाई त्यसै बस्न दिएर पछि फर्किने वा केही उपाय खोज्ने अब यताको पक्षले गर्नुपर्ने' परिस्थिति सिर्जना भएको छ।








