नेकपा विवादः नेपाली सेनाका प्रधानसेनापतिसँग प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सघन' भेटघाट 'प्रत्युत्तर' को तयारी कि नियमित प्रक्रिया?

तस्बिर स्रोत, NEPAL ARMY
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गरेको समाचारले एक खालको तरङ्ग उत्पन्न गरिदिएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला उक्त दल विभाजित हुने अड्कलबाजी समेत भइरहेका बेला प्रधानमन्त्री र सेनापतिको भेटलाई त्यस प्रकरणसँग पनि जोडेर हेरेको पाइन्छ।
नेपाली तथा भारतीय सञ्चारमाध्यममा समेत सेनापति थापासँग प्रधानमन्त्री ओलीको भेटघाट बाक्लो भएको उल्लेख गरेका छन्।
तर नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले ओली र थापाको आइतवार 'नियमित भेटघाट' भएको जानकारी दिए।
उक्त भेटको विषयवस्तु र समाचारमा भनिए जस्तो अरू दिन भेट भएकोबारे जानकारी नभएको उनको भनाइ छ।
'उत्तेजक बनाउने प्रयास'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई दिनमा दुई पटक भेट भएको भनी आएका समाचारको पुष्टि पनि गरेनन्। तर उनले त्यसको खण्डन पनि गरेनन्।
उनले भने, "प्रधानमन्त्रीको सेनापतिसँग आवधिक-नियमित भेटघाट भइरहन्छ। त्यो भेट्ने कुरा अनौठो पनि होइन। आवश्यकताअनुसार जति बेला पनि हुनसक्छ। तर अहिले जति भेटघाटका चर्चाहरू बाहिर भएको छ र भेट भयो भन्छन्, त्यो स्थितिलाई उत्तेजक बनाउने सक्रिय तत्त्वहरूले भ्रम फैलाइरहेका छन्।"

तस्बिर स्रोत, RSS
यही बेला प्रधानसेनापतिले रक्षामन्त्रीसँग पनि भेट गरेको समाचार आएकाो छ।
तर रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेल निकटस्थहरूले पनि त्यसलाई नियमित भेट भएको बताएका छन्।
'नियमित मात्र हुँदैन'
पार्टी फुटको सम्भावनाबारे अड्कल चल्दै गर्दा प्रधानमन्त्रीले मन्त्रीहरूसँग आफूविरुद्ध आक्रमण भइरहेको र त्यसको प्रत्युत्तर "बाई वर्ड (वचन) र बाई स्टेप (कदम)बाट दिने" बताएको समाचारहरू पनि आए।
प्रधानमन्त्रीले सेनाको परमाधिपति रहने राष्ट्रपतिलाई पनि हटाउने प्रयास भइरहेको दाबी गरेको खबरहरू प्रकाशमा आएका छन्।
कतिपयले त्यही 'कदम'को विभिन्न तयारीको एउटा पक्षको रूपमा पनि सेनापतिसँगको भेटलाई हेर्ने गरेका छन्।
सुरक्षा मामिलाका जानकार गेजा शर्मा वाग्ले पनि उक्त भेटलाई नियमित मात्र मान्न तयार छैनन्।
उनले भने, "सत्तारूढ दलभित्र विवाद चर्किँदै गयो र प्रधानमन्त्रीले भनेको भनेर बहिर आए जस्तै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आक्रमण भएमा प्रधानमन्त्रीकै अभिव्यक्तिका आधारमा विश्लेषण गर्दा सेनापतिसँग भेट नियमित मात्र नभई विद्यमान राजनीतिक तरलता र जटिलताको परिप्रेक्ष्यमा घनीभूत संवाद गरेको बुझ्न सकिन्छ।"

तस्बिर स्रोत, RSS
उनका बुझाइमा प्रधानमन्त्रीले भने जस्तै 'बाई स्टेप' स्थितिलाई नियन्त्रणमा लिँदा अरू पनि संयन्त्र आवश्यक पर्ने सन्दर्भमा भेट भएको हुनसक्छ।
वास्तविक तयारी कि मनोवैज्ञानिक सन्देश?
सरकारले सङ्कटकाल लगाउने र सेना परिचालन गर्ने सीमित अवस्था छ।
नेत्रविक्रम चन्दको क्रियाकलाप लगायतका कारण अघोषित अराजकता र स्वास्थ्य सङ्कटको अवस्था रहेको बताउने नेकपाका एक नेताका बुझाइमा लकडाउनका कारण आर्थिक सङ्कट आउन सक्छ र सङ्कटकालका निम्ति तीनथरी आधार हुनसक्छन्।
त्यो पनि संसद्बाट अनुमोदन गर्नुपर्ने अवस्था छ र बेलाबखत शङ्का गरिए जस्तो संसद् विघटनको अधिकार पनि सरकारसँग नरहेको संविधानविद्हरू बताउँछन्।
तर 'संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने' संविधानको व्यवस्थाले पनि अराजकता नियन्त्रणको ठाउँ दिएको नेकपाका ती नेताले सुनाए। तर अवस्था त्यहाँसम्म नपुग्ने उनको भनाइ थियो।
नेकपाकै कतिपय वरिष्ठ नेताले नै प्रधानमन्त्रीले धम्की दिइरहेको बताउने गरेका छन्।

तस्बिर स्रोत, RSS
सुरक्षा मामिलाका जानकार वाग्लेले त्यसमा पनि केही सत्यता देख्छन्।
उनले भने, "सेनापतिसँग भेटघाट गरेर पार्टीभित्रको असहमत पक्षलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने उद्देश्यले दिन चाहेको राजनीतिक सन्देश पनि केही हदसम्म हो। त्योभन्दा पनि आफ्नो राजनीतिक अभीष्टको निम्ति सेनालाई विश्वासमा लिन खोजेको देखिन्छ।
"तर राजनीतिक अभीष्टको निम्ति सेना प्रयोग हुनुहुँदैन।"








