नेकपा विवाद: विग्रहको जोखिमबीच ‘अस्थायी युद्धविराम’, ‘फेरियो छलफलको ढाँचा’

ओली-प्रचण्ड

तस्बिर स्रोत, RSS

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिएको टक्करका दुई सारथि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमवारको छलफलमा अरू कुनै नेतालाई राखेनन्।

उनीहरूले यसअघिका आपसी छलफलमा अन्य नेताहरू सहभागी गराउँदै आएका थिए।

तर आन्तरिक विवाद र वाद-प्रतिवादका कुराहरू बाहिर आएपछि पार्टीका दुई अध्यक्षले अरू कसैलाई नराखेर कुराकानी गरेका हुन्।

प्रधानमन्त्री निवासमा सोमवार भएको छलफलका कारण पार्टी स्थायी समितिको बैठक फेरि बुधवार सम्मका लागि सारिएको छ।

'लम्बियो युद्धविराम'

प्रधानमन्त्रीले 'अजेण्डाभन्दा बाहिर गएर आफ्नो आलोचनाबाहेक केही नहुने गरेको' भन्दै बैठक रोकेर सहमति खोज्न आग्रह गरेको भन्ने समाचारहरू आइरहेका थिए।

जबकि अन्य कतिपय वरिष्ठ नेताहरूले प्रधानमन्त्रीले कुनै पनि पद छाड्न नमानेको भन्दै शनिवार नै एउटा निर्णयमा पुग्ने बताएका थिए।

प्रधानमन्त्रीको राजीनामा मागिएको उक्त बैठक पछि सर्दै जानुलाई प्रधानमन्त्रीनिकट नेताहरूले नेकपाभित्र अस्थायी युद्धविरामको रूपमा लिएका छन्।

एक नेताले भने, "यो अस्थायी हो, यो फेरि लम्बिएको छ, युद्धविरामलाई राम्रो ढङ्ले व्यवस्थापन गर्दा शान्ति-एकता‍तिर पनि जानसक्छ।"

ती नेताका बुझाइमा अध्यक्षहरूबीच छलफलको निम्ति स्थायी समितिको बैठक स्थगित हुनु औचित्यपूर्ण हो भन्ने देखिएको छ।

छलफलको 'नयाँ ढाँचा' कस्तो?

अन्य नेताहरू पनि सहभागी गराइएका ओली-प्रचण्डबीच आइतवार भएको बैठकहरूपछि सहमतिको निम्ति दुई नेतानिकट अनौपचारिक कार्यदल बनाइएको र सहमतिको प्रारम्भिक खाका तयार भएको खबरहरू आएका थिए।

त्यसको प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

प्रचण्ड-ओली

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, फर्किएला यो मुस्कान: पार्टी विभाजनको डिलमा पुगेको ठान्नेहरूमा चासो छ, एकीकरणका बेला दुई अध्यक्षको मुहारमा देखिएको यो खुशी फर्किएला?

स्थायी समितिको बैठक अन्त्य नभएका बेला उक्त समाचारले खासगरी ओलीविरुद्ध एक ठाउँमा उभिएका नेताहरूबीच आशङ्का र असमझदारी उत्पन्न गर्ने जोखिम प्रचण्डले देखेको हुनसक्ने ठानिएको छ।

त्यसैले सोमवार दुई अध्यक्षबीच कुराकानी भएको हुनसक्ने बताइएको छ।

दुई अध्यक्षबीचको बैठकपछि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, "आज दुई अध्यक्ष मात्र बसेर विषयवस्तुलाई अति गम्भीर रूपमा लिएर छलफल गरेर अगाडि बढ्ने र अब दुई अध्यक्ष मात्रै बस्ने, आवश्यक परे अरू वरिष्ठ सदस्यहरूलाई पनि सहमति गराउने कुरा भएको छ।"

"हिजो जसरी भ्रम सिर्जना गर्ने अफवाह बाहिर आयो, त्यो कुरामा अध्यक्ष प्रचण्ड संवेदनशील हुनुहुन्छ।"

'खास छलफल सुरु'

उनका भनाइमा बैठकमा के भयो र छलफल कसरी अगाडि बढ्यो भन्ने विवरण आएको छैन।

"तर अलि गम्भीर रूपमा खास छलफलको क्रम आजबाट सुरु भयो भन्ने छ", सापकोटाले बताए।

प्रधानमन्त्री निकटस्थहरूका अनुसार प्रधानमन्त्री ओली दुवै पद नछाड्न दृढ छन्।

यस्तो टकरावबीच स्थायी समितिको बैठक स्थगित भएको तेस्रो पटक हो।

गत बिहीवारदेखि बैठक हुन सकेको छैन। कतिपयले केन्द्रीय समितिको बैठकको माग गरिरहेका छन्।