आकस्मिक रूपमा संसदको अधिवेशन अन्त्य गरिएपछि नेकपामा थप संकट (घटनाक्रम सहित)

तस्बिर स्रोत, Twitter/SuryaThapa
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भित्रको एकतामा खतरा देखिएको भन्दै शीर्ष नेताहरूबीच राजनीतिक सहमति जुटाउने प्रयासमा उक्त दलको स्थायी कमिटीको बैठकलाई शनिबार बिहानसम्म स्थगित गरिएको छ।
बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएर संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेर समझदारी उल्लंघन गरेको दलका अर्का अध्यक्ष प्रचण्डले बताएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
स्थायी कमिटीका अधिकांश नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरिरहेका बेला ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार संसदको अधिवेशन अन्त्य भएको घोषणा गरिएको छ।
असन्तुष्ट पक्षका नेताहरूले उक्त कदमलाई अध्यादेश ल्याएर दल विभाजन गरी सत्ता लम्ब्याउने प्रधानमन्त्रीको रणनीतिका रूपमा बुझेजस्तो प्रतिक्रिया दिइरहेका छन्।
दिनभरका बैठक
स्थायी कमिटीभित्रको समिकरणमा प्रधानमन्त्री ओली अल्पमतमा देखिँदा बिहानैबाट विभिन्न समूहका नेताहरूले सहमति कायम गर्न अलग अलग भेटवार्ताहरू गरेका थिए।
ओली निकट नेताहरूले अर्का अध्यक्ष प्रचण्डलाई उनको निवासमा गएर भेटेका थिए।
त्यसपछि स्थायी कमिटीका नेताहरू बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा हुँदा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेट्न पुगेका थिए।
त्यहाँबाट फर्किएर उनले मन्त्रिपरिषद्को बैठक बोलाए जसले संसदको जारी अधिवेशन बिहीबार साँझबाट नै अन्त्य गर्ने निर्णय लियो। कतिपय मन्त्रीहरूसमेत बैठकस्थलमा पुग्न नभ्याउँदै उक्त निर्णय गरिएका विवरण आएका छन्।
त्यसपछि प्रधानमन्त्रीको अनुपस्थितिमाझ चलाइएको स्थायी कमिटीको बैठक रोकेर प्रचण्ड सहितका नेताहरू ओलीलाई भेट्न गएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस लगत्तै संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन्।
अधिवेशन अन्त्यपछि थप आशंका
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्को बैठक बोलाउने र संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय पार्टीका दुइ अध्यक्षबीच भएको भनिएको समझदारीको विरूद्धमा रहेको छ।
उनले भने, “बिहान भएको समझदारी सरकारको निर्णयले उल्लंघन गरेको कुरा अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताले प्रधानमन्त्रीसँग भेटेर गर्नुभयो। तर प्रधानमन्त्रीले निर्णय भइसकेको र त्यसले केही गर्दैन भन्ने जानकारी गराउनुभयो।”
उनले थपे, “यहि परिस्थितिको बीचमा पार्टी एकता गम्भीर संकटमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासो सहित आजको बैठकले पार्टी एकतालाई हरहालतमा रक्षा गर्न र सुदृद्ध गर्न अनि पार्टी, सरकार र राष्ट्रको आवश्यकतालाई पूरा गर्ने गरि अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेका कारण स्थायी कमिटीको बैठक स्थगित गरिएको छ।”
उनका अनुसार शनिबार स्थायी कमिटी बैठक बस्नुअघि शीर्ष नेताहरूले विभिन्न चरणमा सम्वादहरू गर्नेछन्।
प्रवक्ता श्रेष्ठले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न लागेको हो कि भन्ने आशङ्का निम्त्याएको पनि बताए।
राष्ट्रपति भण्डारीसँगको भेटमा नेकपा अध्यक्ष प्रचण्डले अध्यादेश ल्याइन सक्ने भन्दै त्यसप्रति समर्थन नहुने धारणा राखेका थिए।
स्थगित भएको स्थायी कमिटी पुन: सुरू भएपछि प्रचण्डले राष्ट्रपतिले अध्यादेश नआएको र प्रधानमन्त्रीले ल्याउने कुरा नभएको धारणा राखेको जानकारी गराएको प्रवक्ता श्रेष्ठको भनाइ छ।
तर ओली पक्षका नेताहरू अध्यादेश ल्याइन लागेको भन्ने आशङ्का गलत रहेको बताउँछन्।

तस्बिर स्रोत, Twitter/SuryaThapa
नेता रघुबीर महासेठले संसद्को अधिवेशन अन्त्य गर्ने कुरालाई लिएर पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको भनेर आशङ्का गरिन नहुने बताए।
कमिटी सदस्य महासेठले भने,“अधिवेशन अन्त्य गर्ने निर्णय गर्दैमा अध्यादेश ल्याउन त्यसो गरिएको भन्न मिल्दैन। अहिलेसम्म त स्थायी कमिटीको बैठकमा हामी मूल एजेण्डामा केन्द्रित छौँ।”
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रचण्ड र दलका महासचिव विष्णु पौडेलले बिहीबार अपरान्ह प्रधानमन्त्रीसँग भेटेका थिए।
उक्त भेटमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक र त्यसका निर्णयबारे राखिएका जिज्ञासालाई 'स्पष्ट' पारेका थिए।
ओलीमाथि बढ्दो दबाब
स्थायी कमिटीको केही दिन यता जारी बैठकमा ‘स्वेच्छाचारी रूपमा सरकार सञ्चालन गरेको र पार्टी एकताको भावना अनुसार काम गर्न नसकेको सहितका आरोप लगाउँदै’ प्रचण्ड सहितका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन्।
पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अनि उपाध्यक्ष बामदेव गौतम सहित बहुमत नेताहरू विपक्षमा उभिएपछि ओलीमाथि पद छाड्न दबाब बढिरहेको छ।
दलभित्रको समीकरणमा प्रधानमन्त्री असहज अवस्थामा पुगिरहेको देखिएपनि ओली निकटका एकजना नेताले प्रधानमन्त्री ती दुवै छाड्न तयार नरहेको सङ्केत गरेका छन्।
नेता महासेठका अनुसार जारी स्थायी कमिटीको एजेण्डामा प्रधानमन्त्रीको राजिनामाको विषय पर्दैन।
गत आइतवार प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन भारत र आफ्नै पार्टीका नेताहरू पनि लागि परेको भन्ने धारणा राखेपछि त्यसले नेकपा भित्रको विवादलाई थप बढावा दिएको देखिन्छ।
अन्य शीर्ष नेताहरू एकठाउँमा उभिएपछि प्रधानमन्त्री ओली नेकपाको नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी दुवैमा अल्पमतमा परिरहेको बताइन्छ।
नेकपाभित्रका बिहीबारका घटनाक्रम:
- बिहान प्रधानमन्त्री केपी ओलीद्वारा आफू निकट नेताहरूसँग भेटघाट
- ओलीनिकट नेताहरूद्वारा त्यसपछि अर्का अध्यक्ष प्रचण्डसँग छलफल
- प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट
- माइतीघर मण्डलामा प्रधानमन्त्रीको समर्थनमा र्याली
- बालुवाटारमा प्रधानमन्त्री ओलीको अनुपस्थितिमा स्थायी कमिटी बैठक सञ्चालन
- राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद्को बैठक, संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय
- उक्त खबरपछि स्थायी कमिटी बैठक स्थगित, नेकपाका सचिवालयमा रहेका शीर्ष नेता र प्रधानमन्त्रीबीच छलफल
- राष्ट्रपतिद्वारा संसदका दुवै अधिवेशन अन्त्य गरिएको विषयमा संसदलाई पत्राचार
- राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच शितलनिवासमा भेट
- ओलीको अनुपस्थितिमा नेकपाको स्थायी कमिटी बैठक पुन: सुरू
- 'पार्टी एकतालाई रक्षा गर्ने' प्रयासमा शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित








