राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा परेका ६ घटनाहरू कुन कुन हुन्

राष्ट्रपति

तस्बिर स्रोत, Office of the President of Nepal

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी नेपाली सेवा

राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अङ्गहरूलाई विवादित बनाउन खोजिएको भन्दै गुनासो गरेकी छिन्।

बुधबार राजधानीमा न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले पछिल्ला दिनहरूमा राज्यका विभिन्न अङ्गलाई विवादमा तान्न खोजिएको बताएकी हुन्।

उनले न्याय क्षेत्र समेत त्यसबाट अछुतो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन्।

राष्ट्रपतिको उक्त भनाइलाई कतिपयले उनी आफैँ विवादमा तानिएका केही विषयहरूसँग जोडेर हेरेका छन्।

पछिल्ला दिनहरूमा राष्ट्रपति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका कतिपय कुराहरू विवादमा तानिने गरेका छन्।

राष्ट्रपतिलाई विवादमा तान्ने ६ वटा त्यस्ता कार्यक्रम, गतिविधि र विषयहरू के-के हुन्?

१. सवारीमा जनतालाई सास्ती

विद्यादेवी भण्डारी राष्ट्रपति बन्नु अघि देखि नै अति विशिष्ट व्यक्तिहरूको औपचारिक सवारीमा नागरिकहरूले सास्ती पाएको गुनासो हुने गर्थ्यो।

उनी राष्ट्रपति बनेपछि पनि त्यसमा सुधार हुन नसकेपछि भण्डारी आलोचनाको पात्र बन्न पुगिन्।

राष्ट्रपति

तस्बिर स्रोत, Office of the President of Nepal

विदेश भ्रमणका बेला होस् वा औपचारिक सभा-समारोहमा जाँदा, लामो समयसम्म निजी र सार्वजनिक सवारी साधनहरू रोकिने चलनको धेरैले विरोध समेत गरे।

सामाजिक सञ्जालमा त राष्ट्रपतिको हरेकजसो औपचारिक भ्रमणमा सवारीकै विषयलाई लिएर व्यापक आलोचना हुने गरेको छ।

करिब एक महिना अघि सेना दिवसका अवसरमा काठमाण्डूको भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित रात्रिभोजमा राष्ट्रपतिको 'सवारी' गराउन भन्दै ट्राफिकले सवारी साधनहरू रोकिराखेको थियो।

त्यसको विरोध गर्दै केही व्यक्तिहरूले निजी सवारी साधन अघि बढाएर त्यसलाई अवज्ञा गरे।

नागरिकहरूले ट्राफिक प्रहरीलाई नटेरी अवज्ञा गरेको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा 'भाइरल' बन्यो।

उक्त भिडियो 'भाइरल' भएको केही दिनपछि राष्ट्रसंघीय महिला नियोगको एउटा कार्यक्रममा सहभागी हुन उनी अमेरिका जाँदा भने पहिले जस्तो लामो समयसम्म सडकमा जाम गराइएन।

त्यसलाई कतिपयले नागरिकहरूले गरेको अवज्ञाको असरका रूपमा समेत अर्थ्याएका थिए।

२. हेलिप्याड काण्ड

राष्ट्रपति भण्डारी राष्ट्रपति कार्यालय हातामै हेलिप्याड बनाउन लागिएको विषयमा पनि विवादमा तानिइन्।

गत भदौमा मन्त्रिपरिषद् बैठकले राष्ट्रपति कार्यालयसँग रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो।

उक्त निर्णय राष्ट्रपतिको चाहनामा भएको र प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको स्थानमा उनका लागि हेलिप्याड बनाइने समाचारहरू सार्वजनिक भएपछि उनको व्यापक आलोचना भयो।

कतिपयले राष्ट्रपतिको सुरक्षामा खटिने नेपाली सेनाले उक्त जग्गा लिनका लागि यस्तो निर्णय गराएको रूपमा समेत त्यसलाई अर्थ्याए।

राष्ट्रपति

तस्बिर स्रोत, Office of the President of Nepal

सरकारले उक्त स्थानमा स्थायी हेलिप्याड बनाउने योजना बनाएको सार्वजनिक भएको थियो।

उक्त विषयले हप्तौँसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा चर्चा पायो।

गणतन्त्रात्मक नेपालको राष्ट्रपतिले समेत 'राजा महाराजाको जस्तो सुविधा खोजेको' भनेर धेरैले कडा आलोचहरू गरे।

शुरूमा उक्त विवादबारे मौन रहेको सरकारले पछि भने प्रतिक्रिया दिएको थियो।

करिब पाँच महिनाअघि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बीबीसी नेपाली सेवासँग कुरा गर्दै 'त्यस्तो काम राष्ट्रपतिको आग्रहमा नभइ सरकारले आवश्यक ठानेर' गरेको बताएका थिए।

उनले नागरिकहरूलाई राष्ट्रपतिको सवारीका बेला सास्ती नहोस् भनेर सिधै राष्ट्रपति निवासमा नै अवतरण गर्न मिल्ने गरि हेलिप्याड बनाउन लागिएको बताएका थिए।

उनले सरकारको निर्णयको बचाउ गर्दै यो निर्णय पहिलेकै सरकारहरूका पालादेखिका निर्णयको निरन्तरता रहेको उल्लेख गरेका थिए।

३. महँगा गाडी

हेलिप्याड प्रकरणसँगै राष्ट्रपतिका लागि महँगा गाडीहरू किन्न लागिएको विषयले पनि उनलाई विवादमा तानेको थियो।

सरकारले सेनामार्फत् त्यस्ता 'विलासी' गाडीहरू किन्न लागेको भन्दै धेरैले त्यसको आलोचना गरेका थिए।

ती गाडीहरूलाई औपचारिक कार्यक्रममा जाँदा चढ्ने प्रयोजनका लागि प्रयोग गरिने बताइएको थियो।

राष्ट्रपति सहित सुरक्षाकर्मीले चढ्ने ८ वटा गाडीहरू किन्न लागिएको र त्यसका लागि बजेट छुट्ट्याइएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भयो।

राष्ट्रपति

तस्बिर स्रोत, Office of the President of Nepal

ती गाडीहरू खरिदका लागि १८ करोड रूपैयाँ विनियोजन भएको समाचार सार्वजनिक भएको थियो।

त्यसको साङ्केतिक विरोध गर्दै केही युवाहरूले त पशुपति क्षेत्रमा गएर भीख समेत मागेका थिए।

सबैतिर आलोचना हुन थालेपछि सरकारले उक्त निर्णयको बचाउ गरेको थियो।

गत मंसिरमा आफ्नो नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले 'राष्ट्रपति जस्तो सम्मानित संस्थालाई बद्नाम गर्न खोजेर लोकतन्त्रलाई नै कमजोर बनाउने खेल भएको' बताएका थिए।

उनले गाडी खरिदबारे पूर्वाग्रह राखेर टिप्पणीहरू भएको भनेका थिए। मुलुक संघीय संरचनामा गएसँगै गाडी किन्ने निर्णय भएको उनको दाबी थियो।

४. लिफ्ट उद्घाटन

करिब एक महिनाअघि राष्ट्रपति भण्डारी फेरि अर्को विवादमा परेकी थिइन्।

त्यो विवाद थियो- पोखरास्थित विन्ध्यावासिनी मन्दिरमा निर्मित लिफ्टको उद्घाटन गर्न उनी जानु।

राष्ट्रपतिको पदमा रहेको व्यक्ति एकदमै सामान्य खाले कार्यक्रमहरूमा सहभागी हुन गएको भन्दै उनको आलोचना भएको थियो।

लिफ्ट उद्घाटन कार्यक्रमको भने सामाजिक सञ्जालमा निक्कै आलोचना भएको थियो।

उनले राष्ट्रपतिको मर्यादा राख्न नसकेको भन्दै धेरैले टिप्पणी गरेका थिए।

मन्दिरको दर्शनका लागि आउने जेष्ठ नागरिक एवम् शारीरिक रूपमा फरक क्षमता भएकाहरूलाई सुविधा पुगोस् भनेर उक्त लिफ्ट बनाइएको बताइएको छ।

एउटा दक्षिण कोरियाली मोटर कम्पनी र त्यसको नेपाली बिक्रेता मिलेर बनाएको उक्त लिफ्टको उद्घाटनमा 'राष्ट्रपति जानु कत्तिको उचित हो' भन्दै कतिपयले प्रश्न उठाएका थिए।

उक्त प्रकरणमा भने सरकारले सार्वजनिक रूपमा खासै बचाउ गरेको पाइएको छैन।

राष्ट्रपति

तस्बिर स्रोत, Office of the President of Nepal

. कतार भ्रमण

दोस्रो पटक राष्ट्रपति चयन भएपछि भण्डारीको पहिलो विदेश भ्रमण कतारमा भएको थियो।

आफ्नै छिमेकी मुलुकहरू सहित केही देशले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएर विवादित बनेका बेला भएको उनको उक्त भ्रमणले पनि एकखाले विवाद निम्त्याएको थियो।

केही कूटनीतिज्ञहरूले उनको भ्रमणलाई 'अपरिपक्व' भन्दै सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिएपछि उनी विवादमा परेकी थिइन्।

यद्यपि राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने द्विपक्षिय सम्बन्ध सुधारका लागि कतारको भ्रमण गरिएको भन्दै बचाउ गरेका थिए।

राष्ट्रपति भण्डारीले गत कात्तिक १२ गतेदेखि १५ गतेसम्म चार दिने कतार भ्रमण गरेकी थिइन्।

त्यस भ्रमणमा १ करोड २० लाख रूपैयाँ खर्च भएको सार्वजनिक भएको थियो।

राष्ट्रपति

तस्बिर स्रोत, Office of the President of Nepal

६. दशैँको टीका

गत दशैँमा राष्ट्रपतिले लगाइदिएको टीकाले पनि उनलाई निक्कै आलोचित बनाएको थियो।

उनले टीका लगाइदिएका केही तस्बिरहरू दशैँको टीका लगत्तै 'भाइरल' भए।

सामाजिक सञ्जालमा त यो विषय केही सातासम्म चर्चामा रह्‍यो।

दशैँमा राजतन्त्र कालमा राजाले लगाइदिने जस्तैगरि राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका लगाइदिने चलनकै धेरैले आलोचना गरिरहेका छन्।

अझ कम्युनिस्ट राजनीतिबाट सत्तामा आएकाहरूले त्यसो गर्नुलाई धेरैले निको मानेका थिएनन्।

गत दशैँमा केही बहालवाला र पूर्व विशिष्ट अधिकारीहरूले भण्डारीको हातबाट टीका लगाउँदा उनको अगाडि घुँडा टेकेका तस्बिरहरू सार्वजनिक भए।

त्यत्ति मात्र होइन कतिपय अधिकारीहरू निक्कै अप्ठ्यारो गरेर टीका लगाउन झुकेको समेत तस्बिरहरूमा देखिन्थ्यो।

कुर्सीमा बसेकी राष्ट्रपतिसँग अरु विशिष्ट अधिकारी र पूर्व विशिष्ट पदाधिकारीले घुँडा टेकेर र झुकेर टीका लगाएको दृश्यलाई धेरैले 'अशिष्ट र अमर्यादित कार्य'का रूपमा अर्थ्याएका थिए।

त्यसो हुनुको पछाडि राष्ट्रपति कार्यालयबाटै सार्वजनिक तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओली सहित केही विशिष्ट पदाधिकारीका लागि चाँहि कुर्सीको व्यवस्था गरिनु र अन्यलाई हटाइनुलाई धेरैले कारण मानेका थिए।

गणतन्त्र नेपालमा पनि राजतन्त्र कालमा भन्दा पनि बढी विभेद र पक्षपात गरिएको रूपमा धेरैले त्यसलाई लिएका थिए।

राष्ट्रपतिका सल्लाहकारहरूले भने उक्त घटनाको बचाउ गरेका थिए।

उनीहरूले नेपाली सेनाका अधिकारीहरू आएपछि सैनिक मर्यादाका हिसाबले कुर्सीहरू हटाइएको र त्यसपछि ध्यान नपुग्दा त्यस्तो भएको बताएका थिए।